© 2026
बाणगंगा । कपिलवस्तुको बाणगंगामा स्कुटर र ई–स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार अपराह्न करिब ४ बजे चार नम्बर–तौलिहवा सडकखण्डअन्तर्गत गजेहडामा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको लु.३ त ७३८३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको ई–स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५, भैसाही निवासी २७ वर्षीय रुद्रनारायण थारू गम्भीर घाइते भएका थिए। उनको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा घाइते भएकी बाणगंगा नगरपालिका–८, बोडगाउँ निवासी ३५ वर्षीया रेखा घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको र अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। मृतक रुद्रनारायण थारूको शव उनकी आमा र दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कुटर, ई–स्कुटर र ट्र्याक्टर तथा ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।