Butwal Today

राष्ट्रियसभाः ब्रिक्स देशको सदस्यता लिनुपर्नेमा सांसदको जोड

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिनेगरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताइन । सदस्य गोमादेवी तिमल्सिनाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रण आएन भनी प्रश्न गरिन ।

सदस्य जयन्तीदेवी राईले मधेस प्रदेशमा बविता पासवानले सडकमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिइन । रसुवा बाढी पीडितलाई मनोपरामर्श दिने व्यवस्था गर्न पनि उनले माग गरेकी थिइन ।

सदस्य नरबहादुर विष्टले भोटेकोशी घटनामा परी अहिलेसम्म भएको क्षतिको यथार्थ विवरण सदनमा जानकारी दिन माग गरे ।

सदस्य नारायणदत्त मिश्रले धानको मूल्य निर्धारणका लागि पालिका स्तरमा खरिद मूल्य निर्धारण गर्ने शाखाको गठन गर्न माग गरे । सदस्य मोहम्मद खालिदले सबै उपभोग्य वस्तुमा मूल्य बढ्नु चिन्ताको विषय भएकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

सदस्य युवराज शर्माले मूल्य वृद्धि भएर पनि ग्याँस पाउन नसकिने अवस्था आएको र सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भएकाले नियन्त्रण गर्न माग गरे

सदस्य राजेन्द्रलक्ष्मी गैह्रेले महिलाले सडकमै बच्चा जन्माउने अवस्था आउँदा पनि सरकार गुपचुप बसेकामा आपत्ति जनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?