Butwal Today

तिलोत्तमा व्यापार सङ्घको स्थापना दिवसमा बिरामीलाई फलफूल

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल ।

तिलोत्तमा व्यापार सङ्घले आफ्नो १३ औँ स्थापना दिवसका अवसरमा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।

सङ्घका पदाधिकारी तथा सदस्यले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै स्थापना दिवस मनाएका हुन् । सङ्घले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्वसँग जोडिएका रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा पनि आफ्नो संस्थाको भूमिका बढाउँदै लगिएको बताए । उनले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा समाजसँग जोडिने अवसरका रूपमा उपयोग गर्दै आएको बताए ।

“व्यवसायीको हकहितका लागि काम गर्नु हाम्रो मुख्य जिम्मेवारी हो, तर व्यवसायी समाजकै एउटा हिस्सा भएकाले सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अघि बढाएका छौँ,” उनले भने, “स्थापना दिवसमा हरेक वर्ष सामाजिक क्षेत्रमा केही न केही रचनात्मक काम गर्दै आएका छौँ । यस वर्ष अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेका हौँ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”

सङ्घले आफ्ना सदस्य व्यवसायीको हितमा विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरोकारवाला निकायसँगको समन्वयमा कर शिक्षा, फर्म नवीकरण तथा राजस्वसम्बन्धी परामर्शलगायतका सेवा प्रदान गर्दै आएको सङ्घले जनाएको छ ।

व्यवसायीलाई कर तथा राजस्वसम्बन्धी जानकारी उपलब्ध गराउने, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा सदस्यको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने कामसमेत गर्दै आएको सङ्घका पदाधिकारीले बताएका छन् ।

सङ्घले आगामी दिनमा व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?