© 2026
चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ ।
विसं २०७० मा ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ई राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आव्हान गर्न रु एक करोड ५० लाख विनियोजन गरिएको बताए ।
यस अघि निर्माण व्यवसायीले बनाएको संरचनाको अवस्था अध्ययन गर्ने काम भइरहेको छ । उनले भने, “अहिले पुलमा निर्माण गरिएको दुई तर्फको बेस पिल्लरको स्टकचर हेल्थको अध्ययन सुरु गरिएको छ ।”
उनका अनुसार कार्यालयले ठेकेदार कम्पनी मृत संञ्जीवनी निर्माण सेवा मकवानपुरसँग २०८३ साल वैशाख २९ गते ठेक्का तोडेको थियो । उक्त पुल निर्माणका लागि २०७० असार २८ गते मूल्य अभिवृद्धि करसहित रु ११ करोड २६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले बनाएको डिजाइन असफल भएर पुनः डिजाइन गरी काम गर्नका लागि ठेकेदार कम्पनीले रकम थप्नुपर्ने जनाएको थियो । ठेकेदार कम्पनीको माग बमोजिम काम गर्न नसक्ने भएपछि ठेक्का तोडिएको हो । उनले भने, “आफ्नै डिजाइनअनुसार काम गर्न बोलपत्र सकारेको कम्पनीले डिजाइन फेल भएपछि पुनः रकम थप्न विभागले नमानेको हो ।”
डिजाइन अनुसार पानीको सतह बढी भएपछि ठेकेदार कम्पनीले पुनः डिजाइन बदलेको हो । निर्माण कम्पनीले रु तीन करोड ३६ लाख निकासा गरेर काम गरेको थियो ।
भरतपुर महानगरपालिका–२९ घुमाउने घाटबाट तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने सो पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको उनले बताए ।
ठेकेदार कम्पनी सँग ठेक्का तोडेर सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा ठेक्का सम्झौताको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिए ।
ठेक्का सम्झौता तोड्ने, कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जाना असुल गर्ने तथा बाँकी निर्माण कार्यको मूल्याङ्कन गरी ठेक्का सम्झौताबमोजिम सरकारी बाँकीसरह असुलउपर गर्ने लगायतका कारबाही गर्न सक्ने छ ।
यो पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली पुगिन्छ । घुमाउनेबाट दमौली सम्म ३२ किलोमिटर पर्दछ । अहिले मुग्लिन–आँबुखैरहनी हुँदै दमौली पुग्नु पर्ने बाध्यता छ । यो सडक बने सँगै पोखरातर्फ जाने यात्रु लाभान्वित हुने भएका छन् ।