© 2026
‘जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ? नागरिकको आक्रोशलाई हामीले हाम्रा बिरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नु पर्छ ।
आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती आजको साँचो राज्यसत्ता हो । अनि उनीहरूको अवस्था र मनस्थितिलाई समानुभूतिका साथ महशुस गर्नु हाम्रो दायित्व हो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई बिपतमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध–समर्थक चाहिएकै छैन ।
शोक र पीडामा परेका भुँइमान्छेको पक्षमा उभिएर आँसु पुछ्ने सदस्यहरू चाहिएको छ । पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपत्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी र साइबर बुलिङ गर्ने कार्यमा संलग्न पाइए साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिने छ ।’ – रवि लामिछाने
रास्वपा, रवि लामिछाने र बालेन शाहमा राजनीतिक परिपक्वता नदेखिएको, बचकानापन देखाएको र सत्ता सञ्चालनको अनुभव नभएकाले अल्मलिएको आरोप लागेकै छ । परीक्षणमै छन् त्यसैले । पहिलोपल्ट अत्यधिक बहुमत पाएर, बालेन नेतृत्वमा सरकार बनाएर अघि बढेकाले ।
सफल होलान् वा नहोलान् भविष्यकै विषय भयो । तथापि, परिस्थितिले परिपक्व बनाउँदो रहेछ भन्ने पारेछ कतिपयलाई । त्यही परिपक्वता प्रदर्शन गरेको बताइयो रविले सदनमा बोलेको सुनेकाहरूबाट । उनीहरूले भने – अहंकार प्रदर्शन गरेनन्, संकटमा साथ दिएका विपक्षी दल सहित उद्धारमा रात–दिन खटिएका सेना र प्रहरीको प्रशंसा गर्न बिर्सेनन् र समर्थकका नामबाट सञ्जालमा अशोभनीय टिप्पणी गर्नेलाई चेतावनी दिन पनि चुकेनन् । पीडितलाई थप पीडा पुग्नेगरी टिप्पणी गर्नेहरूलाई पार्टी र सरकार दुवैले कार्बाही गनुपर्ने बताएर परिपक्वता देखाए ।’
प्रष्टरूपमा रविले जसरी सदनको रोष्टमबाट भने, अरू महत्वपूर्ण विचार पनि सार्वजनिक गरे, उसैगरी प्रधानमन्त्रीले पनि अशोभनीय टिप्पणी गर्नेप्रति सरकार निर्मम् हुने जानकारी गराएका थिए सामाजिक सञ्जालबाटै । तर पनि रोकिएको छैन छुद्र टिप्पणी गरेर पीडितलाई थप पीडा पु¥याएर अपमानित गर्ने प्रक्रिया । प्रहरीको साइबर अपराध हेर्ने ब्यूरोले पनि निगरानी गरेकै होला । कार्बाही गरिए कम होला, नत्र नहोला ।
त्यसैले जनताको आग्रह के छ भने सामाजिक सञ्जालको दुरूपयोग गरेर पीडितमाथि थप पीडा पु¥याउनेहरूलाई कार्बाही गरेको समाचार सुन्न र पढ्न पाइयोस् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका बोली व्यवहारमा उतारिएको देख्न पाइयोस् । त्यस्तो भएमा विपक्षी दलका नेता सहित प्रायोजित मिडियाबाट सरकार र रास्वपाप्रति बिष बमन नहोला, नत्र रोकिन्न ।
किनकि सत्ता र शक्ति हातमा लिएकालाई स्वेच्छाचारी बन्न दिनहुन्न समाजका सवै संयन्त्रले । त्यसैले सत्ताधारी दल र सरकारको बिरोध गरिनुलाई नराम्रो मान्नै हुँदैन । हुनुपर्छ र बिरोधलाई पचाउन सक्नुपर्छ शासकले । तर हेक्का रहोस्, वास्तबिकतामा आधारित बिरोध होस्, छुद्र गालीचाहिँ नहोस् ।
सिण्डिकेटको गिरोहद्वारा गराइएको ग्याँस काण्डमा मन्त्रीले साँचो बोल्दा राजीनामा दिएर बाहिरिन पर्ने स्थिति आउनु हुँदैनथ्यो । तर जे गराइएको छ, राम्रो हैन यो । उपभोक्तालाई ग्याँस चाहिएको हो मन्त्रीको राजीनामा हैन । मन्त्री फेर्दैमा समस्या समाधान हुन्छ कि हुँदैन ? मुख्य विषय हो यो । विषयान्तर नगरियोस् । गिरोहद्वारा रचित धन्दाका फन्दामा नपरियोस् ।
गौरीकुमारी यादवले राजीनामा दिएपछि कसैले शैलजा आचार्यको काण्ड दोहोरियो भने र कसैले बालेन सरकारको अर्को बिकेट गुमेको देखे । काम गर्न नसक्ने असक्षम मन्त्रीले राजीनामा दिनु जायज हो भनेर लेखे । तर ४८ हजार सिलिण्डर उपभोक्तालाई दिन पाठाउँदा १९÷२० हजारमात्र बजारमा पुगेर बाँकी बीचमा गायब पार्ने को हुन् ?
भनेर कसैले पनि खोजेनन्, लेखेनन्, बोलेनन् । खोज्नुपर्ने विषय हो यो । राजनीतिको हाटबजारमा हजार कुरा गरिनुलाई अन्यथा मान्न सकिन्न । तर समस्या बीचमा गायब पार्ने गिरोहहरूले सिर्जना गरेका छन् । त्यतातिर किन हेरिन्न, कुरा गरिन्न ? यसैले देखाउँछ सरकार र मन्त्री भन्दा गिरोह बलिया छन् । बिचौलियाले सबैतिर मिलाएर पालेका वा कुकुरलाई कलो फालेका रहेछन् ।
जानकारहरूको भनाई छ – शीर्ष तहको सिण्डिकेटको टाउको मात्रै टुटेर पुरै शरीर क्रियाशील हुनाले सोही अनुसार काम भएको छ । अड्डा, अदालत, मिडिया, वकालत, विश्लेषक, बजार, प्रदेश र पालिका आदि इत्यादि । त्यसैले तिज, दशै र तिहार खर्च जुटाउन गरिएको बदमासी हो र हो सरकारलाई बदनाम गर्ने नियोजित योजनानुसार चालिएको कदम पनि ।’
यस्ता राजनीतिभित्रका राजनीति जनताले बुझ्दैनन् भन्ने नठानियोस् । अचेलका जनता सरकार, पार्टी र नेताले बारम्बार दिएका धोका खाएर आफै बुझ्नसक्ने भएका छन् । हेरेर, भोगेर, व्यहोरेर । त्यसैले जसले जे सुकै सोचे वा भने पनि महँगो पर्ने छ बदमासी गर्ने र गराउनेहरूलाई । बुझुन् – सबैको पोल खुल्ने छ । देर होला, तर अन्धेर नहोला ।
झुटो बोलेर, गिरोहको भनाई मानेर मन्त्री पदमा टिक्नु भन्दा साँचो बोलेर, पोल खोलेर बाहिरिनु जायज हो भन्नेहरूको कमी रहेनछ । गौरी गइन, भूतपूर्व भइन । तुरुन्तै अर्का मन्त्री बने । उनले पनि गौरीले गरेका कामकै आधारमा अगाडि बढ्ने भने । तर ग्याँस आपूर्ती सहज भएको छैन । विद्यार्थीहरूले खाली सिलिण्डर लिएर बिरोध प्रदर्शन गरेका छन् ।
बिरोध गर्नपर्ने बाध्यताको समाधान गरियोस् दीर्घकालीन रूपमा । ५८ वटा ग्याँस उद्योग कुन दलसंग सम्बन्धित छन् भनेर पत्ता लगाइसकेका छन् उपभोक्ताले । आक्रोशित जनताले मन्त्री र सरकार फेर्न जान्छन् कि गायब पार्ने उद्योग घेर्न ? अब बाँकी छ त्यही हेर्न । रसुवा, नुवाकोट र धादिङमा हिमाली सुनामीको बाढी नआएको भए ग्याँसकै बाढीले बगाउने सम्भावना रहेछ । पीडित उपभोक्ताको आक्रोशको आगो कतातिर कसरी सोझिन्थ्यो होला आफै बुझे हुन्छ अब ।
दुस्प्रचारको हद नाघिएको छ । विश्वविख्यात सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सलाई समेत घण्टेको हली भन्न थालिएको छ । नेपाली सेनाले ४ दिनमै सेट गरेको बेलीब्रिजलाई जहाजबाट झारेका पुलका पाट–पूर्जा ल्याएर नट–बोल्ट मात्रै कसेर ठड्याएको मात्र हो भनिदैछ । राहत खाएको आरोप लगाइएको छ प्रहरीलाई ।
उद्धार र राहतमा भएको प्रगतिलाई दुर्गतिकरण गरिएको छ र पीडितलाई निरास पारिएको छ । कुनै क्षति नभएकाहरूको भीड बढाएर पीडितले पाउनुपर्ने राहत पहुँचका आधारमा लैजान लगाइएको छ । पालिका र वडाले रोक्नपर्ने विषय थियो यो । सरकारलाई बदनाम गर्न खोज्दा समाजलाई गलत काम गर्न प्रोत्साहित गरिनुलाई कुनै हालतमा जायज मान्न सकिदैन । यसरी समाज, सत्ता र देश सुधार्न सकिदैन भनेर प्रायोजित मिडियाले बुझ्न पर्दैन ?
‘नेपाली पत्रकारिता तीन ‘पी’ आधारमा चलेको र चलाइएको देखिन्छ – पावर, पोलिटिक्स र पर्सनालिटी । भारतको पत्रकारिता तीन ‘सी’ मा चलेको र चलाइएको भेटिन्छ – सिनेमा, क्राइम र क्रिकेट । अनि अमेरिकाको पत्रकारिता तीन ‘एफ्’ चलेको भनेर मानिन्छ – फरेन पोलिसी, फाइनेन्स र फेसन ।’ लामो समयदेखि नेपालको स्वास्थ्य र पोषण सम्बन्धी विधागत पत्रकारितामा लागेका, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य पदमराज जोशीको अनुसन्धानको निष्कर्ष हो यो । उनको खोजको निष्कर्ष कति साँचो होला ? पाठकले आफै विचार गर्न सक्छन् । राजनीति, व्यक्ति र शक्तिमुखी पत्रकारिताले जनताको विश्वास आर्जन गर्न नसक्नुलाई के भन्ने हो ? अब आफै बुझ्ने हो ।