Butwal Today

रसुवा विपत्ति: प्रकृतिको निरीह मानव

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

रसुवामा आएको अकल्पनीय बाढी तथा महाविपत्तिको तेह्रौँ दिन गइसकेको छ । तेह्रौँ दिन भन्नासाथ हाम्रो सनातन परम्परामा एउटा गहिरो भाव जोडिएको हुन्छ ।

त्यो हो बिछोडको पीडा, दिवङ्गत आत्माप्रतिको श्रद्धा, शोकाकुल परिवारप्रतिको समवेदना र जीवनको नश्वरताप्रतिको गम्भीर बोध । तर, यसपटकको तेह्रौँ दिन केवल केही परिवारको शोकको दिनमात्र थिएन, सिङ्गो देशले आँसुका साथ सम्झनुपर्ने दिन बन्यो ।

रसुवागढी, टिमुरे लगायतका क्षेत्रमा प्रकृतिले देखाएको त्यो रौद्र रूपको परिणामका भिडियो र फोटोहरूले नै पनि मुटु सिरिङ्ग हुन्छ भने त्यो महाविपत्तिलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि देखेकाहरूलाई अझ कस्तो भयो होला ।

त्यो महाविपत्तिमा प्राण त्याग गर्नेहरूलाई कति कठोरता सामना गर्नु परे होला । तर त्यो महारौद्रस्वरूप विपत्तिको अवस्था देख्दा कसैलाई पनि निदाएकै शैलीमा परमात्माले लगे होला भनेर चित्त बुझाउनु परेको छ । यो कठोर विपत्तिले हामीले कमिला कुल्चे जस्तैगरी केही समयमैँ मानिसहरू जमिन र जलमा गुट्मुटिन पुगे । कतिपयले आफ्नै आँखा अगाडि आफन्त गुमाए, कतिपयले आफन्तको शवसमेत देख्न पाएनन् ।

कोही आजसम्म बेपत्ता छन्, अनि कोहीलाई परिवारले अन्तिमपटक सम्झेर सनातन परम्परा अनुसार काजक्रिया गर्नुपर्ने बाध्यतामा पुगेका छन् । यही पीडामा सन्तप्त एक व्यक्तिको नाम हो– नव पाण्डे । आफ्नी जीवनसंगिनी सुमी अधिकारी पाण्डेलाई गुमाउनुपरेको पीडा उनका लागि कति असह्य भइरहेको होला, हामीले उनीमाथिको त्यो पीडाको कल्पनामात्र पनि गर्न सक्दैनौँ । भगवान् शिवको वासस्थान कैलाशको दर्शन पश्चात् चीनतिरबाट आफ्नै मातृभूमिको टिमुरे आइपुग्दादेखि नै सुमी सम्पर्कविहिन भइन् । सम्पर्क होला कि भन्ने आशाले श्रीमान् नव पाण्डे साना बालबच्चालाई छोडेर अष्ट्रेलियाबाट नेपाल आए ।

धेरैतिर सम्पर्क गरियो । पहिला श्रीमतीको जीवित उद्धारकै आशा भयो । पछि हैन मृत शरीर भएपनि हुन्छ भन्ने आशा गरियो । आखिर केही कुराको पनि पत्तो नभएपछि वैदिक पद्धति अनुसार नै पुत्ला बनाएर, सुमीकै जन्मभूमि तथा माइतीभूमि चितवनको देवघाट धाममा अन्तिम संस्कार सम्पन्न गरियो ।

बुटवल हुँदै काठमाडौँमा अध्ययन गरेका इन्जिनियर नव पाण्डे र चितवन हुँदै काठमाडौँमा अध्ययन गरेकी इन्जिनियर सुमी अधिकारीको लगभग डेढ दशकअघिको विवाह बन्धन हालमा अष्ट्रेलियामा दुई कलिला छोराछोरीसहित खुशीसाथ वितिरहेको थियो । सुमीको जसरी पनि कैलाश जाने पहिलेदेखिको तीब्र इच्छालाई नवले रोक्न सकेनन् । सद्गुरुको टोलीसहित भगवान् शिवको दर्शनपश्चात् फर्कँदा सुमी यसरी प्राकृतिक विपत्मा परिन् ।

उनको यसरी भएको विछोडको शोकलाई शक्तिमा बदल्दै नवले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेका छन्– “उनी शिवको खोजीमा गएकी थिइन् । हृदयमा अटल श्रद्धा र विश्वास बोकेर, आफुले मनैदेखि पूरा गर्न चाहेको पवित्र यात्रा उनले पूरा गरिन् । आफ्नो त्यो गहिरो इच्छा पूरा गर्न पाइन् । भगवान् शिवको पावन धामको दर्शन गरिन् र अन्ततः उहाँकै स्मरणमा आफ्नो जीवनयात्रा टुङ्ग्याइन् भन्ने कुराले मेरो दुःखी हृदयलाई केही सान्त्वना दिएको छ ।

मेरो विश्वास छ– आज सुमी भगवान् शिवकै दिव्यकाखमा शान्तिपूर्वक विश्राम गरिरहेकी छन् ।” यसैगरी नवले अगाडि लेखेका जीवन सँगीनीप्रतिका ती श्रद्धासुमनका शब्दले हामी सबैको मन भक्काउँछ नै । सानोदेखि ठूलोसँग एउटै भावले रहन सक्ने सन्तपुरुष धेरै विद्यार्थीहरूका गुरु डा. खिमानन्द पाण्डेज्यू एवम् वात्सल्यमयी आमा शान्ती पाण्डेज्यूका पुत्रनव र पुत्रबधु सुमीकाती साना अबोध बालबालिका जसलाई यो उमेरमा आमाको काख चाहिन्छ, आमाको हात समाएर हिँड्नुपर्ने हुन्छ, आमाको ममता र वात्सल्यमा हुर्कनुपर्ने हुन्छ, त्यही उमेरमा उनीहरू सदाका लागि मातृ वात्सल्यबाट वञ्चित हुन पुगेका छन् ।

आमाले टाउकोमा हात राखेर सुम्सुम्याउने, बिरामी हुँदा रातभर छेउमा बस्ने, खुसी हुँदा सँगै रमाउने र दुःखपर्दा अँगालोमा बाँध्ने ती दिनहरू अब उनीहरूको जीवनमा स्मृतिमात्र बन्न पुगेका छन् । उनीहरू मात्र यो अवस्थाबाट पीडित छैनन् ।
यो विपत्तिले सयौँ परिवारको जीवनमा यस्तै असह्य शून्यता सिर्जना गरेको छ ।

अर्घाखाँचीका एक इन्जिनियरसमेत अझै हराइरहनुभएको अवस्था भयो । उहाँका माता–पिता आजपनि छोराको मुख हेर्ने आशामा बाटो हेरिरहनुभएको छ । आमाबुबाका लागि सन्तान कहिल्यै ठूलो हुँदैन ।

उमेर जतिसुकै बढे पनि छोराछोरीप्रतिको माया सधैँ उस्तै हुन्छ । त्यसैले उहाँका माता–पिताको मनमा अझै एउटा आशा जीवित छ – हाम्रो छोरो फर्किएर आउँछ कि । यस्तै अर्को अत्यन्तै मर्मस्पर्शी प्रसङ्ग अर्घाखाँचीकै नारायण पन्थीज्यू जो हाल अष्ट्रेलियामैँ हुनुहुन्थ्यो उहाँको छ । प्रकोप आउनुभन्दा केही घण्टाअघि मात्र उहाँले लाइभमार्फत भगवान् शिवको कैलाश दरबारको दर्शन गर्ने उत्कण्ठा व्यक्त गर्नुभएको थियो । जीवन कति क्षणभङ्गुर रहेछ ।

केही घण्टापछि नै उहाँमाथि प्रकृतिको भीषण प्रहार भयो । दुई जना साना सानाबाबुहरू छन् जसका बुबाको कोरोनाको समयमा मृत्यु भयो भने हाल आमालाई बाढीले बगाएको छ । मृत शरीर पनि नपाउने अवस्थापछि उनीहरूले पनि कुशको प्रतीकको संस्कार गरी काजक्रिया गरिसकेका छन् । अब ती १३ र ७ वर्षका बालकका अभिभावक को हुने ? हिजोसम्म भविष्यका सपना देखिरहेका मानिसहरू आज सम्झनामा मात्र सीमित भएका छन् । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् ।

यस विपत्तिले कसैको श्रीमान् खोसेको छ, कसैकी श्रीमती; कसैको छोरा, कसैकी छोरी त कतै बाबु गुमेका छन्, कतै आमा । कतै वृद्ध आमाबुबाले आफ्ना सन्तान गुमाएका छन् भने कतै साना बालबालिकाले एकैपटक आमा बुबा दुवै गुमाएका छन् । अझ कतिपय परिवारमा त हजुरबा–हजुरआमादेखि छोराछोरीसम्म एउटै विपत्तिमा समाप्त भएको हृदयविदारक अवस्था छ । यस्ता घटनाको सूची बनाउँदै जाने हो भने हाम्रो आँखा रसाएर आउँछ, शब्दहरू हराउँछन् । तर, यही अँध्यारो बीच मानवताको उज्यालो पनि देखिएको छ । उद्धारका क्रममा नेपाली सेनाले देखाएको साहस, धैर्य र समर्पण अत्यन्त प्रशंसनीय छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, सरकारी निकाय तथा स्वयंसेवकहरूले आफ्नो ज्यानको पर्वाह नगरी खोज तथा उद्धारमा खटिनुभएको छ । प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, भौतिक योजनामन्त्रीका साथ सारा मन्त्रालय रातदिन यही चिन्तनमा भएका कुरा सम्बन्धित सबैका कर्महरू नै प्रत्यक्ष छन् । श्रीराम न्यौपाने र सागर ढकालजस्ता देशप्रेमी इन्जिनियरहरू आफ्नो सांसद–पदको पदीय मानमा नरही अहोरात्र काम गरिरहनुभएको छ ।

यस्तो बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्छ । सरकारले गरेका काममा केही कमजोरी छन् भने त्यसको समीक्षा र सुधार आफ्नै ठाउँमा होला । तर, विपत्तिको समयमा उद्धारमा खटिने हातहरूलाई प्रोत्साहन गर्नु, पीडितको आँसु पुछ्नु र हराइरहेकाहरूको खोजीमा साथदिनु नै हाम्रो पहिलो दायित्व हो ।

यो घटना सामान्य बाढी होइन । यसको स्वरूप र विनाशको व्यापकतालाई हेर्दा यो हाम्रो पुस्ताले देखेको अत्यन्तै ठूलो प्राकृतिक विपत्तिमध्ये एक हो । यसले हामीलाई प्रकृतिप्रतिको हाम्रो व्यवहारबारे गम्भीर भएर सोच्न बाध्य बनाएको छ । प्रकृतिले हामीलाई चेतावनी दिइरहेको हुन सक्छ । हामीले नदीलाई साँघुरो पा¥यौँ कि ? खोलाको प्राकृतिक बहावमा अवरोध ग¥यौँ कि ? हिमाल, वन र जलस्रोतप्रति अन्याय ग¥यौँ कि ? विकासका नाममा प्रकृतिको सहनशीलताको सीमा नाघ्यौँ कि ? विपत्ति आउनुको सम्पूर्ण कारण हामी नै मात्र हौँ भन्ने होइन । प्रकृतिका पनि आफ्नै चक्र र नियम हुन्छन् ।

तर, प्रकृतिमाथि हाम्रो व्यवहारमा पनि कमी–कमजोरी छन् कि छैनन् भनेर आत्मसमीक्षा गर्न भने आवश्यक छ ।देशभित्रमात्र होइन, प्रकृतिमा व्यापक प्रभाव पार्ने गतिविधि गर्ने सबै राष्ट्र र शक्तिहरूले पनि अब गम्भीर भएर सोच्नुपर्छ । हिमाल केवल नेपालको सम्पत्ति होइन । सृष्टिको पहिलो मुहानका रूपमा रहेको हिमाल सम्पूर्ण मानवजातिको जीवनसँग जोडिएको प्राकृतिक सम्पदा हो । प्रकृतिको विनाशको परिणाम अन्ततः सीमाना नाघेर सम्पूर्ण मानव सभ्यतामाथि नै पर्न सक्छ । त्यसैले हामीले प्रकृतिको संरक्षण गरौँ । नदी, हिमाल, वन, जल र भूमिलाई सम्मान गरौँ ।

विकास र प्रकृतिबीच सन्तुलन कायम गरौँ । प्रकृतिको संरक्षण गर्न सक्यौँ भने मात्र प्रकृतिले पनि हाम्रो संरक्षण गर्नेछ । यस विपत्तिबाट हामीले केवल दुःख र आँसु मात्र नलिऔँ । एउटा गम्भीर शिक्षापनि लिऔँ । दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना । उद्धारमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति हार्दिक नमन । ॐ शान्तिः शान्तिः शान्तिः ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?