Butwal Today

भदौ २४ को विध्वंसात्मक घटनाको गम्भीर अनुसन्धान गर्नुपर्छ: प्रचण्ड

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहु आयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै प्रचण्डले घटनाको सत्य तथ्य बाहिर ल्याउन गहिरो अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।

भिडियो सन्देश जारी गर्दै प्रचण्डले भदौ २४ गते केही घण्टामै भएको विध्वंस रहस्यमय रहेको बताए । उनले घटनाका पछाडि रहेका तत्त्व र वास्तविक दोषी पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘आजको दिनलाई सम्झिँदा नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनता, लोकतान्त्रिक आन्दोलन र जनताको आकाङ्क्षामाथि यो स्तरको हमला तथा केही घण्टाभित्रै भएको विध्वंस साँच्चिकै रहस्यमय छ,’ उनले भने, ‘यसले गहिरो अध्ययन र अनुसन्धान गरी यो विध्वंस मच्चाउने तत्त्व को हुन् र वास्तविक दोषी को हुन् भन्ने सत्य तथ्य बाहिर ल्याउनुपर्ने आवश्यकता देखाउँछ । दोषीलाई कारबाही गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।’

गएको एक वर्षमा घटनाको सत्य तथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको प्रचण्डको दाबी छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको भन्दै उनले आपत्ति जनाए ।

‘गएको एक वर्षमा घटनाक्रम त्यतातिर गएको छैन । मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन पनि कार्यान्वयनतर्फ अगाडि बढेको छैन । बरु दराजमा थन्क्याउने काम भएको छ,’ उनले भने ।

गत भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ गतेको घटनाले सम्बोधन नगरेको पनि प्रचण्डले बताए । बरु उक्त घटनाले जेनजी युवाहरूको भावना र आकाङ्क्षामाथि प्रहार गरेको उनको जिकिर छ ।

‘युवाहरूले भदौ २३ गते जुन आकाङ्क्षाका साथ सुशासन र पारदर्शिताको कुरा गरेका थिए, ती आकाङ्क्षालाई भदौ २४ गतेको घटनाले प्रतिनिधित्व गरेको देखिँदैन,’ उनले भने, ‘बरु जेनजी युवाहरूको भावना र आकाङ्क्षामाथि प्रहार गर्ने तथा भदौ २३ गतेको आन्दोलनलाई अपहरण र कब्जा गर्नेहरूकै हालीमुहाली भएको देखिन्छ ।’

प्रचण्डले भदौ २४ गतेको घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?