Butwal Today

ग्रिन आर्मी’को कम्पनी दर्ता खारेज, सैनिक पोशाक प्रयोगपछि विवादमा

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीपछि राहत तथा उद्धारका गतिविधिमा सैनिकसँग मिल्दोजुल्दो पोशाक प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको कम्पनी दर्ता खारेज गरिएको बताइएको छ। उच्च सैनिक स्रोतका अनुसार गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाको कम्पनी दर्ता हालै खारेज गरिएको हो। दर्ता खारेजीसँगै कम्पनीका रूपमा सञ्चालन हुँदै आएका गतिविधिमा समेत कानुनी असर पर्ने अवस्था आएको छ।

‘ग्रिन आर्मी’ २०७७ साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको थियो। वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको थियो। तर संस्थाले नाममै ‘आर्मी’ शब्द प्रयोग गर्नुका साथै सैनिकसँग मिल्दोजुल्दो हरियो पोशाक, दर्ज्यानी चिह्न तथा मार्शल र क्याडेटजस्ता संरचना प्रयोग गरेपछि यसको स्वरूप र वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो। हालै भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि संस्थाका सदस्यहरू सैनिक शैलीको पोशाकमा राहत तथा उद्धारका गतिविधिमा देखिएपछि विवाद थप चर्किएको हो।

यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थालाई पोशाक प्रयोगको अनुमति कसरी दिइएको थियो भन्नेबारे समेत जानकारी लिने काम भइरहेको जनाएको छ। सुरक्षा मामिलाका जानकारहरूले गैरसैनिक संस्थाले नेपाली सेनासँग भ्रम सिर्जना हुने गरी नाम, पोशाक, दर्ज्यानी चिह्न वा संगठनात्मक संरचना प्रयोग गर्नु संवेदनशील विषय भएको बताएका छन्।

समाज कल्याण परिषद्को आबद्धता कायमै

कम्पनी दर्ता खारेज भए पनि ‘ग्रिन आर्मी’को समाज कल्याण परिषद्सँगको आबद्धता भने अहिलेसम्म खारेज भएको छैन।परिषद्का अनुसार सामाजिक कार्यका लागि गरिएको आबद्धता खारेज गर्न छुट्टै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसैले कम्पनी दर्ता खारेज भए पनि समाज कल्याण परिषद्सँगको आबद्धताको विषयमा भने छुट्टै प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?