© 2026
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् । पूर्वउपसभापति खड्कासँग शनिबार र नेता डा। कोइरालासँग आइतबार भेट भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवै नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । ती नेताले भने, ‘सभापतिले पूर्ण र शेखर दाइसँग भेट्ने पूर्वयोजना नै थियो । भेट भएको छ । कुराकानीका विषय सभापतिले कार्यसम्पादन समितिको बैठकमा बताउनु होला ।’
आसन्न महाधिवेशन तथा बाढीपछि राहत र पुनर्निर्माणलगायतका विषयमा छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
खड्का र कोइरालासँग संवादलाई निरन्तरता दिने उद्देश्यले वडा तहको अधिवेशन एक साता सार्ने तयारी गरिएको छ । केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नगर्ने गरी तल्लो तहका अधिवेशनको मिति सार्न लागिएको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म तोकिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी ल्याएको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन् । देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा समेत खड्का र कोइराला उपस्थित भएका थिएनन् । त्यस्तै, देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिनमा पनि उनीहरू सहभागी भएका थिएनन् ।