Butwal Today

बुबापछि आमाको पनि वियोग: नाबालक २ छोराले कुशको शवलाई दिए दागबत्ती

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

सल्यान । बुबा गुमाएको पीडा सेलाउन नपाउँदै आमा पनि गुमाएका सल्यानका दुई बालकले आमाको भौतिक शरीर समेत नदेखी अन्तिम बिदाइ गरेका छन् ।

भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकी बागचौर नगरपालिका वडा नम्बर ८, गैरागाउँकी प्रमिला बुढाथोकी बस्नेतको १० दिनसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि उनका दुई छोराले कुशको शवलाई दागबत्ती दिएका हुन् ।

१३ वर्षीय सुशान्त बस्नेत र ६ वर्षीय सुजित बस्नेतका लागि शनिबारको दिन जीवनकै सबैभन्दा पीडादायी दिन बन्यो । आमाको शव भेटिएला र अन्तिम पटक अनुहार हेर्न पाइएला भन्ने आशामा दिन बिताएका उनीहरूले अन्ततः आमाको भौतिक शरीरबिना नै धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्नुप¥यो ।

रसुवाको टिमुरेमा परिवार सहित बस्दै आएकी प्रमिला कामको सिलसिलामा बजारतर्फ जाने क्रममा भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकी थिइन् । बाढीपछि लगातार १० दिनसम्म खोजी गर्दा पनि उनको भौतिक शरीर फेला पर्न सकेन ।

शव नभेटिएपछि आफन्तले हिन्दू धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर कालाखेत स्थित शारदा नदी किनारमा अन्तिम संस्कार गरेका हुन् । कुशको पुतलालाई नै प्रमिलाको शव मानेर धार्मिक विधि पूरा गरिएको थियो ।

जेठा छोरा सुशान्तले आमाको कुशको शवलाई दागबत्ती दिए । अहिले उनी आमाको किरियामा बसेका छन् । ६ वर्षीय सुजित भने आमालाई सदाका लागि गुमाएको पीडाबीच दाजुसँगै आमाको अन्तिम संस्कारमा सहभागी भए ।

यी दुई बालकले यसअघि नै कोरोना महामारीका क्रममा आफ्ना बुबा गोविन्द बस्नेतलाई गुमाइसकेका थिए । बुबाको निधन भएको केही वर्ष नबित्दै भोटेकोशीको बाढीले आमालाई पनि उनीहरूबाट खोसेको छ । एकपछि अर्को गर्दै बुबा र आमालाई गुमाएका सुशान्त र सुजित अहिले अभिभावक विहीन भएका छन् ।

बुबाको अन्तिम बिदाइ गरेको सम्झना सेलाउन नपाउँदै आमाको पनि अन्तिम संस्कार गर्नुपर्ने अवस्था निकै पिडादायी थियो । आमाको भौतिक शरीर समेत देख्न नपाई कुशको पुतलालाई नै आमाको शव मानेर दागबत्ती दिनुपर्दाको क्षणले उपस्थित आफन्तलाई समेत भावुक बनाएको थियो ।

आफन्तजनका अनुसार लामो समयसम्म खोजी गर्दा पनि प्रमिलाको शव फेला नपरेपछि परिवार धार्मिक विधि अनुसार अन्तिम संस्कार गर्न बाध्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?