© 2026
पर्सा । यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था तथा उद्योगपति र समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्ने क्रम जारी राखेका छन् ।
वीरगन्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि रु दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् ।
साउथ जोन माध्यमिक विद्यालय, वीरगञ्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि रु एक लाख ५५ हजार ५५३ सहयोग गरेको छ । भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले पनि आफ्ना नेपाली विद्यार्थी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत सङ्कलन तथा आर्थिक सहयोग अभियान सुरु गरेको छ ।
नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले कुल रु ९५ हजार ७८३ सहयोग गरेका छन् ।