© 2026
नारायणगढ ।
चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए । प्रहरीले मिनी ट्रक र चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक
रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ ।
हराइरहेकामा भरतपुर महानगरपालिका-५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, भरतपुर-१६ फुर्तिचोकका ४० वर्षीय विकासबाबु अधिकारी, खैरहनी नगरपालिका-६ पर्साका ३१ वर्षीय रिकेशकुमार श्रेष्ठ, माडी नगरपालिका-६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल, राप्ती नगरपालिका-८ खुर्खुरेका ५१ वर्षीय योगबहादुर खड्का, भरतपुर-२३ जगतपुरका ४१ वर्षीय केशवराज चलिसे, हाल भरतपुर-५ छमुखेचोक बस्दै आएका लमजुङको बेँसीसहर नगरपालिका-१ का २३ वर्षीय सुगम सिलुवाल, रत्ननगर-१२ सालघारीका १४ वर्षीय गेहित सुनार, रत्ननगर-२ का ४६ वर्षीय अर्जुनकान्त थपलिया, माडी-८ फकरेटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र भरतपुर-७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय रहेका छन् । यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको उनले बताए ।