Butwal Today

विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा

२० भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ । शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा परिभाषित गरेको छ । उनीहरूको रुचि, खुबी, क्षमता तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्ति विकल्प छनोटमा सहयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

निर्देशिकाअनुसार विद्यार्थी तथा युवाको क्षमता र रुचि मूल्याङ्कन गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटका लागि मार्गनिर्देशन तथा परामर्श सेवा उपलब्ध गराइनेछ । त्यसका लागि साइकोमेट्रिक परीक्षणलगायतका विधि र उपकरण प्रयोग गरी ‘करिअर लेखाजोखा’ गरिने व्यवस्था छ ।

साधारण शिक्षा तथा प्राविधिक एवं व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श प्रदान गर्ने, विद्यार्थी तथा युवालाई वृत्ति योजना र रोजगारी एवं उद्यमशीलतासम्बन्धी मार्गनिर्देशन दिने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, कामको खोजीमा रहेका युवा, विद्यार्थी तथा कामदारको विवरण, सीपसम्बन्धी विवरण (प्रोफाइल) तथा शैक्षिक र तालिम संस्थाको तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अभिलेखन गरिनेछ । श्रमबजार सूचना प्रणालीका आधारमा शैक्षिक संस्था, पेसा तथा वृत्तिसम्बन्धी जानकारीसमेत अद्यावधिक गरिने व्यवस्था छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमताको मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरसम्बन्धी लक्षित परामर्श उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा छ ।

श्रमबजारमा प्रवेशका लागि आवश्यक ‘करिअर’ व्यवस्थापन सीप, व्यक्तिगत विवरण तयारी तथा अन्तर्वार्तासम्बन्धी सीप विकासका लागि अभिमुखीकरण, तालिम र अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयदेखि श्रमबजारसम्मको सङ्क्रमण सहज बनाउन औद्योगिक अवलोकन, उद्यमशीलता विकास, व्यावसायिक योजना तयारी, इन्टनसीप तथा ‘जब स्याडोइ’ जस्ता कार्यक्रमसमेत सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

वृत्ति, सीप, रोजगारी तथा जीवनपर्यन्त सिकाइसम्बन्धी सूचना तथा सामग्रीलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने र लक्षित वर्गको पहुँच विस्तार गर्ने व्यवस्था पनि गरिएको छ । वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति रहने व्यवस्था छ ।

समितिमा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा मन्त्रालयका सम्बन्धित पदाधिकारी र एक जना विज्ञ रहनेछन् । सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ रहनेछ । उक्त एकाइले लक्षित वर्गको व्यक्तित्व, क्षमता र रुचिअनुसार उपयुक्त वृत्तिक्षेत्र तथा वृत्तिपथ पहिचानमा सहयोग गर्नेछ ।

निर्देशिकाले निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिने वृत्ति मार्गनिर्देशन तथा परामर्शसम्बन्धी गतिविधिलाई सहजीकरण, व्यवस्थापन तथा नियमन गर्ने तथा सेवा प्रदायक र सेवाग्राहीबीच अनुभव आदानप्रदानका लागि आवश्यक प्लेटफर्म विकास गर्ने व्यवस्था पनि गरेको छ ।

स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई समेत उनीहरूले अध्ययन गरेको विषय, रुचिको क्षेत्र, व्यक्तिगत क्षमता तथा दक्षताको मूल्याङ्कनका आधारमा रोजगारी र स्वरोजगारीका अवसर तथा सम्भावनाबारे मार्गनिर्देशन र परामर्श प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?