Butwal Today

दाङमा २४ घण्टा पठाओ सेवा सुरु

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

दाङ । दाङमा आज शुक्रबारदेखि पठाओको सहकार्यमा ‘दाङ ई(ड्राइभ प्रालि।’को सेवा सञ्चालनमा आएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोगसँगै दाङ ई(ड्राइभको औपचारिक सेवा आरम्भ भएको छ । पठाओ सेवाको उद्घाटन लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरेका हुन् ।

यातायात क्षेत्रमा प्रविधिको विकास तीव्ररूपमा भइरहे पनि सडक पूर्वाधारको समस्या कायमै रहेको बताउँदै उनले प्रविधिमा आधारित यातायात सेवाले यात्रुलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए । अन्य शहरमा यस्ता सेवाको माग बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै पश्चिम क्षेत्रमा दाङबाट सुरु भएको यो सेवाले यात्रुको सुविधा बढाउँदै यातायात लागतसमेत घटाउने विश्वास व्यक्त गरे । उनले नयाँ प्रविधिमा आधारित यस्ता सेवाले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए । साथै, विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा वातावरण संरक्षणमा योगदान पुग्ने उनको भनाइ थियो। प्रा.लिका अध्यक्ष ऋषिराज लहरे अरुणका अनुसार दाङका ११ जना युवाको करिब ७ करोड रुपैयाँको संयुक्त लगानीमा कम्पनी सञ्चालनमा आएको हो। कम्पनीले ११ वटा अत्याधुनिक विद्युतीय कार, १० वटा अटो र १० वटा बाइकमार्फत तुलसीपुरबाट सेवा दिइरहेको छ।

घोराहीमा समेत तीनवटा सवारीसहित सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीले सञ्चालनमा ल्याएका विद्युतीय कारहरू अत्याधुनिक सुविधासहितका रहेको अध्यक्ष लहरेले दाबी गरे । यीमध्ये सीजी मोटर्सले आयात गरेको एउटा कार ५८ लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय गाडीसमेत कम्पनीले भित्र्याएको छ। सबै गाडी पूर्ण विद्युतीय फुल इलेक्ट्रिक प्रविधिका भएकाले वातावरणमैत्री यात्रालाई समेत कम्पनीले प्राथमिकता दिएको उनले बताए । कम्पनीले नेपाल सरकारको मापदण्डअनुसार भाडादर निर्धारण गरेको जनाएको छ। व्यक्तिगत कामकाजका लागि सवारी प्रयोग गर्दा कतिपय अवस्थामा आफ्नै गाडीभन्दा ई(ड्राइभको सेवा किफायती पर्ने भएकाले यसको आकर्षण बढ्ने अध्यक्ष लहरेको भनाइ छ। कम्पनीका अनुसार सेवा २४ घण्टा उपलब्ध हुने अध्यक्ष लहरेले दाबी गरे ।

उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रालिका सञ्चालक बिनील केसी, त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, दाङ भ्याली अटो यातायात प्रालिका अध्यक्ष महेन्द्र महरा, समाजसेवी सुरेन्द्र खड्का, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले प्रविधिमैत्री यातायात सेवाको विस्तारले दाङको यातायात क्षेत्रलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउँदै स्थानीय युवाको लगानीमा सुरु भएको ई(ड्राइभ सेवाले रोजगारी सिर्जनासँगै जिल्लाको यातायात सेवामा नयाँ आयाम थप्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?