नवलपरासी । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।
सवारी चालक अनुमति पत्र नवीकरण, नयाँ चालक अनुमति पत्रका लागि आवेदन तथा अनलाइनमार्फत हुने विभिन्न भुक्तानी सेवामा समस्या देखिएपछि सेवाग्राही समस्यामा परेका हुन् ।
पछिल्लो समय यातायात व्यवस्था विभागले अनलाइन प्रणाली अपग्रेड गर्न थाले पनि त्यस क्रममा विभिन्न प्राविधिक समस्या देखिएको बताइएको छ । लामो समयसम्म सिस्टममा सुधार नहुँदा यातायात कार्यालयबाट हुने सेवा प्रभावित भएका छन् ।
नयाँ चालक अनुमति पत्र तथा नवीकरणका लागि सुरुमा अनलाइन फाराम प्रविष्ट गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, यातायात व्यवस्था सेवा कार्यालय, परासीको अनलाइन प्रणाली नचल्दा नवलपरासीका सेवाग्राही समस्यामा परेका छन् । यस्तो समस्या देशभरकै यातायात कार्यालयमा देखिएको बताइएको छ ।
अनलाइन पोर्टल सञ्चालनमा नआएपछि विभाग मातहतका कार्यालयहरू केन्द्रबाट सिस्टम सुधार हुने प्रतीक्षामा बस्न बाध्य भएका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय, परासीका कम्प्युटर अधिकृत किशोरकुमार चौधरीले विभागबाटै सिस्टम अपग्रेडको काम भइरहेकाले समस्या देखिएको बताए । सिस्टममा सुधार नहुँदासम्म सेवा सञ्चालन गर्न नसकिने र कुर्नुबाहेक विकल्प नरहेको उनले बताए ।
यता, यातायात व्यवस्था विभाग, काठमाडौँकी कम्प्युटर अपरेटर कविता बरालले सिस्टम कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने अझै टुङ्गो नभएको जानकारी दिइन् । भदौ ५ गतेदेखि सिस्टम सञ्चालनमा आउने भनिए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको उनले बताइन् ।
सिस्टम कहिले नियमित हुन्छ भन्ने यकिन नहुँदा सेवाग्राहीहरू भने अन्योलमा परेका छन् । अनलाइनबाटै हुने सेवा लिन नसक्दा उनीहरू यातायात कार्यालय धाउनुपर्ने र काम नभई फर्किनुपर्ने अवस्था सिर्जना भएको छ ।