Butwal Today

सीपले खोल्यो स्वरोजगारको बाटो

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका–११ का एक युवाले केही समयअघि मोबाइल मर्मतसम्बन्धी तालिम लिए । तालिमअघि रोजगारीका लागि भौँतारिरहेका उनी अहिले आफैँ मोबाइल मर्मतको काम गर्दै आएका छन् । सीप सिकेपछि रोजगारी खोज्ने मात्र होइन, आफ्नै काम सुरु गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी युवामध्ये रोजगारी र स्वरोजगारमा जोडिनेको सङ्ख्या बढ्दै गएपछि यस्ता कार्यक्रमले सीपसँगै आयआर्जनको बाटो खोल्न थालेको देखिएको छ ।

उपमहानगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म विभिन्न १४ प्रकारका सीपमूलक तालिम सञ्चालन गरिएका छन् । ती तालिममा ३७५ जना सहभागी भएकामा १०४ जना तालिमपछि रोजगारी वा उद्यममा जोडिएको शाखाको तथ्याङ्क छ । यो कुल सहभागीको करिब २७.७३ प्रतिशत हो ।

बुटवल उपमहानगरपालिकाका पर्यटन, श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अर्विन्द पाण्डेका अनुसार तालिममा सहभागी सबै रोजगारी वा उद्यममा जोडिएको अवस्था नभए पनि स्थानीय तहबाट सञ्चालन हुने सीप विकास कार्यक्रमलाई रोजगार र स्वरोजगारसँग जोड्न सकिने सम्भावना देखिएको छ । “तालिम लिएका सबै उद्यमशील र स्वरोजगार बन्छन् भन्ने छैन, यद्यपि उनीहरू यसका लागि सक्षम र सीप सिकेर कुनै पनि समय उद्यममा जोडिन सक्ने अवस्था रहन्छ”–उनले भने ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उपमहानगरपालिकाले सञ्चालन गरेका सीपमूलक तालिम उपलब्धिमूलक बन्दै गएको बताइन् । तालिम लिएपछि धेरै जना स्वरोजगार बनेको र विशेष गरी महिलाहरू उद्यमशीलतातर्फ आकर्षित भएको उनको भनाइ छ ।

‘हामीले सञ्चालन गरेका तालिमबाट धेरै जना स्वरोजगार भएका छन् । थुप्रै महिला सीप सिकेर उद्यमशील बन्नुभएको छ,’ उनले भनिन्, ‘तालिमलाई रोजगारी र आयआर्जनसँग जोड्ने गरी आगामी दिनमा पनि कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान्छौँ ।’
बुटवलमा सञ्चालन गरिएका तालिम परम्परागत सीपमा मात्र सीमित छैनन् । स्थानीय श्रम बजारमा आवश्यक प्राविधिक सीपदेखि डिजिटल प्रविधिसँग सम्बन्धित नयाँ सीपसम्मलाई तालिममा समेटिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा टायल तथा मार्बल लगाउने तालिमबाट सीप विकास कार्यक्रम सुरु गरिएको थियो । तीन महिना अर्थात् ३९० घण्टे तालिममा २० जना सहभागी भएकामा १३ जना तालिमपछि रोजगारी वा उद्यममा जोडिएका थिए ।
निर्माण क्षेत्रमा दक्ष कामदारको माग भइरहेका बेला टायल तथा मार्बल लगाउने सीपले सहभागीलाई काम खोज्न वा आफ्नै सेवा सुरु गर्न सहयोग पुगेको उपमहानगरपालिकाको बुझाइ छ ।

त्यसपछिको वर्ष तालिमको क्षेत्र थप फराकिलो बनाइयो । आर्थिक वर्ष २०८०/८१ मा बेसिक कम्प्युटर हार्डवेयर तथा नेटवर्किङ, बारिस्टा, एसी–फ्रिज मर्मत तथा मोबाइल मर्मतसम्बन्धी तालिम सञ्चालन भए ।

यी चार तालिममा १०० जना सहभागी भएका थिए । कम्प्युटर हार्डवेयर तथा नेटवर्किङमा सहभागी २० जनामध्ये १४, बारिस्टामा ४० मध्ये २५, एसी–फ्रिज मर्मतमा २० मध्ये १३ र मोबाइल मर्मतमा २० मध्ये नौ जना रोजगारी वा उद्यममा जोडिएका थिए ।

तीमध्ये बारिस्टा तालिमको परिणाम उल्लेखनीय देखिएको छ । ४० सहभागीमध्ये २५ जना अर्थात् करिब ६२.५ प्रतिशत रोजगारी वा उद्यममा जोडिएका थिए । बुटवलमा होटेल, रेस्टुरेन्ट तथा क्याफे व्यवसाय विस्तार भइरहेका कारण बारिस्टा सीपको माग बढेको शाखाले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले प्राविधिक सीपसँगै डिजिटल र सिर्जनात्मक क्षेत्रलाई पनि तालिममा समेट्यो । त्यस वर्ष अडियो–भिडियोग्राफी तथा ड्रोनसम्बन्धी ४५ दिने तालिम सञ्चालन गरिएको थियो । २५ जना सहभागी भएको उक्त तालिमपछि ११ जना रोजगारी वा उद्यममा जोडिएको शाखाको तथ्याङ्क छ ।

त्यस्तै, एसी तथा फ्रिज मर्मतसम्बन्धी तालिममा ३० जना सहभागी भएकामा १० जना रोजगारी वा उद्यममा जोडिएका थिए ।
पछिल्लो समय विवाह, सामाजिक तथा व्यावसायिक कार्यक्रमका भिडियो उत्पादन, सामाजिक सञ्जालका सामग्री निर्माण, फोटोग्राफी, भिडियो उत्पादन तथा कृषि क्षेत्रमा ड्रोनको प्रयोग बढ्दै गएपछि यस्ता सीपको उपयोगिता पनि बढेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा बारिस्टा, ब्युटिसियन, ड्रोन अपरेसन एन्ड ह्यान्डलिङ, बेसिक ब्युटिसियन, विद्युतीय सवारीसाधन (ईभी) मर्मत, ग्राफिक्स डिजाइनिङ र बेसिक अकाउन्टिङलगायतका तालिम सञ्चालन भएका छन् ।

यस वर्ष बारिस्टा तालिममा ७०, ब्युटिसियनमा ३० तथा ड्रोन, बेसिक ब्युटिसियन, ईभी मर्मत, ग्राफिक्स डिजाइनिङ र बेसिक अकाउन्टिङमा २०/२० जना सहभागी छन् ।

विशेष गरी ईभी मर्मतसम्बन्धी तालिमलाई बदलिँदो प्रविधिसँग जोडिएको नयाँ सीपका रूपमा हेरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा त्यसको मर्मत तथा प्राविधिक सेवाका लागि दक्ष जनशक्तिको आवश्यकता पनि बढिरहेको छ ।

सीपमूलक तालिमको प्रभावकारिता तालिम लिनेको सङ्ख्याले मात्र निर्धारण गर्दैन । तालिमपछि सहभागीले रोजगारी पाए कि पाएनन्, व्यवसाय सुरु गरे कि गरेनन् र त्यसबाट उनीहरूको आम्दानीमा कस्तो परिवर्तन आयो भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।
बुटवल उपमहानगरपालिकाको पछिल्लो तथ्याङ्कले यही पक्षमा केही सकारात्मक सङ्केत देखाएको छ । ३७५ सहभागीमध्ये १०४ जना रोजगारी वा उद्यममा जोडिनु त्यसको एउटा उदाहरण हो ।

बुटवलमा सेवा, व्यापार, निर्माण, आतिथ्य, प्राविधिक तथा डिजिटल क्षेत्र विस्तार भइरहेका छन् । यही बजारको मागसँग तालिमलाई जोड्न सके स्थानीय युवालाई बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता केही हदसम्म घटाउन सकिने सम्भावना छ ।

उपप्रमुख अर्यालका अनुसार आगामी दिनमा तालिमलाई अझ उपलब्धिमूलक बनाउनेतर्फ उपमहानगरपालिकाको ध्यान केन्द्रित हुनेछ । तालिमको सङ्ख्या बढाउनेभन्दा पनि तालिमपछि सहभागीलाई रोजगारी र उद्यममा जोड्ने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?