Butwal Today

असफल पात्रलाई दोहो-याउने खेल किन ?

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

जुन जुन पात्रहरूले आफुले पटकपटक प्राप्त गरेको अवसरलाई सही रूपमा उपभोग गर्न नसक्दा तिनीहरूलाई इतिहासले नालायक पात्रको रूपमा फोहर फाल्ने डस्वीनमा फ्याकिदिने तर आज फेरी तिनै पात्रहरूलाई रछ्यानबाट बाहिर निकाली धोईपखाली गरेर राष्ट्रको दायित्व पूरा गर्ने अभिभारा सुम्पिने प्रयत्नको गल्ती दोहोरिदै छ । यो एउटा भयानक भुल हो ।

वास्तविकताको कसीमा पूर्णत असफल भैसकेका पात्रहरूलाई उनीहरूको असफलता प्रमाणित भैसकेपछि पनि फेरी उही गल्ती दोहोरिने स्थिति किन गरिदैछ ? यस पछाडीको रहस्य के हो ? यसको पर्दा पछाडी कुन शक्तिको हात छ ?

आफ्ना काला कर्तुतका अनेकौ कुकर्महरूबाट डुङडुङती गन्हाएर असक्षमता, अदूुरदर्शिता तथा स्थितीलाई बुझ्न नसक्ने पाखण्डीहरूलाई काँधमा बोकेर “फलानो आउ देश बचाउ” भन्दै बुर्कुर्शी मार्ने भिडको जमातले लोकतन्त्रलाई अब कुन चाँही भड्खालोमा पार्ने हो, परिस्थितीले यही संकेत गरिरहेको छ ।

साथै त्यस्ता निकम्मा पात्रहरूप्रति आम नेपालीहरूमा र प्रजातन्त्रप्रेमी जागरुक समाजमा जुन घृणा र लोभ छ, त्यसपछि अनदेखा गर्नु जनताप्रति ठूलो अनादर हो र प्रजातन्त्रको निम्ति प्राण आहुती गरेका महान शहिदहरूप्रति घोर उपेक्षा हो ।

यो लज्जाजनक उपेक्षालाई मन र मस्तिष्कमा रत्ति मात्र पनि राजनीतिक संस्कार भएको चेतनशील वर्गले जनतामाथि विश्वासको भावना धराशायी बन्दै गएको महसुस गरेको छ । आजको युगमा यस्ता ठगहरूलाई पुज्नु भनेको या त खुस्केको दिमागको करामत हो, नभए देशमा अत्यन्तै अराजकता, अत्यन्तै भाँडभैलो, अत्यन्तै किचलो हालेर जनमानसमा उकुसमुकुस पैदा गराई एक थरीले भन्दै र वकालत गर्दै आएको “मुन रोडाक्ट्रिन” लागू गराएर घरचक्रीहरूका योजना कार्यान्वयन गराउन उनीहरूलाई सहज गराइदिनु हो भन्ने कुरा आजको जागरुक चेतनाले भेउ नपाउने कुरो आउदैन ।

देशमा ३० बर्षसम्म राजाको निरंकुश शासनको उकुसमुकुस तथा अति नैराश्यतापूर्ण कालो अन्धकारको निसास्सिने वातावरणलाई चिरेर प्रजातन्त्रको आलोकमा प्रवेश गर्ने मौका २०४६ मा पाएकै हुन । नेपाली काग्रेसका सर्वमान्य नेता गणेशमानजी र कृष्णप्रसाद भट्टराईको झलझलपूर्ण नेतृत्व र कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, साहना प्रधान, बलराम उपाध्याय, मदन भण्डारी लगायतका नेताहरू र अन्य सबै वामघटकका इमान्दार नेता तथा कार्यकर्ताहरूको प्रजातन्त्रप्रतिको निस्वार्थ समर्पणलाई आम प्रजातन्त्रप्रेमी नेपालीले बुझेर उहाँहरूलाई साथ दिएको हुनाले नै ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना र ०४६ सालमा प्रजातान्त्रिक संविधान नेपाली जनताले पाएका हुन ।

इमान्दार नेतृत्व, अनुशासित, चेतनशील, संघर्षशील र गतिशील कार्यकर्ता नेपाली कांग्रेस र र संयुक्त मोर्चाले पाउन सकेको हुनाले प्रजातान्त्रिक आन्दोलनले उच्च सफलता त्यो बेला प्राप्त गरेको हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने कुनैपनि प्रजातान्त्रिक भनौ या अहिलेको प्रचलित शब्द “लोकतन्त्र” यस आन्दोलनको सफलतामा राजनीतिक नेतृत्व र राजनीतिक कार्यकर्ता दुवै पक्षको समान उत्तरदायित्व हुन्छ । राजनीतिक नेतृत्वले सिद्धान्त भन्दा बाहिर बाटो समायो भनेर कार्यकर्ताले राजनीतिक लाइनलाई बुझेन भने एवं बुझीबुझी पनि बुझ पचायो भने राजनीतिमा संकट पैदा हुन्छ ।

वि.पिको निधनपछि गणेशमान, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधि जस्ता सत्पात्रहरूको पार्टीमा बर्चस्व कायम रहँदासम्म काग्रेस सही बाटोमा थियो र कार्यकर्ताहरू सहि ट्रयाकमा थिए । नेताहरूमा त्यागको भावना थियो । त्यसैले कार्यकर्ता दुबै पक्षको चारित्रीक स्वच्छन्दताबाट प्रभावित आम जनसमुदायले उनीहरूमाथि भरोसा गरेर नै आन्दोलनमा पुरापूर साथ दिएका थिए । तर, जब नेताहरूको मस्तिष्कमा “जोगी हुनका लागि राजनीति गरिन्न” भन्ने घातक रोगले आक्रमण ग¥यो, तब नेताहरू अप्रजातान्त्रिक, अमानवीय र जनविरोधी क्रियाकलापमा लाग्न थाले । त्यो घातक छाप कार्यकर्ताहरूमा पनि परेपछि समाजमा नेता होस या झोले, अपराधकर्मीहरू बनेर प्रजातन्त्रको धज्जी उडाउन थालेका हुन ।

पोजेरो संस्कारबाट संसदमा छिरेको बिसंगती सत्ता बचाउनका लागि संसदमा छिरेपछि संसदमा हाजिर नै नभई संसद भत्ता भाले सांसदले पनि सुत्केरी महिलालाई दिने “फोर्उम” नामको महँगो ओखतीको बिल पेस गरेर कुम्ल्याउने अभियानले र अरू नयाँ नयाँ ठगी धन्दाले आर्थिक अराजकताको चरम सिमा नाघेको काग्रेसी नेताहरूको यो रवैया देखेर दिक्दार बनेका गणेशमान सिंह, शेरबहादुर देउवाको राष्ट्रघाती महाकाली सन्धिमा थप घिनलाग्दो वर्ताब देखेपछि नेकाको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गर्नुभएको हो ।

नेकाका संस्थापक सदस्य ०४५/४६ सालको जनआन्दोलनका कमाण्डर आदरणीय ज्यूँदो शहिद गणेशमान जीलाई कांग्रेसमा छिरेको र तलदेखि माथिसम्म फैलिएको त्यो कहालीलाग्दो बिसंगतीले यती रुवायो भनि साध्य छैन ।

कांग्रेसलाई गाँजेको भ्रष्टाचार र विकृतीका साम्राज्यले एमाले लगायतका अरू संसदबादी दलहरूलाई पनि यती गैरजिम्मेवार जसको बर्णन पौराणिक भावमा हजार जिब्रा भएका शेषनागहरूले पनि गर्न सक्दैनन् । यसैको परिणाम गतबर्ष भाद्र २३ र २४ गतेको नेपाली जनताको असन्तुष्टिमा खेलेर आफ्ना स्वार्थ पूरा गराउन बिदेशी षड्यन्त्रकारी तागतको नाङ्गो नाँच हो ।

यिनीहरूकै कारणले गर्दा उक्त दुर्दान्त घटनापछि देश झन संकटमा परेको हो । एउटा बिदेशी षड्यन्त्रकारी शक्तिले आफ्ना शिर्ष नेताहरूलाई घातक हमला गरी लाखौ लाख कार्यकर्ता आफूसंग भएको दावी गर्ने नेताहरूमाथि भएको सांघातिक आक्रमण र उनीहरूका नीजि घर तथा पार्टी कार्यालयमाथि यति ठूलो तोडफोड र आगजनी हुँदा कोही बचाउन रोक्न नआउनुले धेरै कुराको संकेत गर्दछ ।

यस्तो हुँदापनि काग्रेस, एमाले, पूर्व माओबादी नेताहरूमा देशमा बिद्यमान परिस्थितीको बारेमा घोरिएर चिन्ता गर्ने चेत अझै पलाएन । देशका प्रबुद्ध क्षेत्रले महसुस गरेको छ यिनीहरूको अब कुनै काम छैन । यिनीहरू अझैपनि पैसा खर्चले खेतालाहरूलाई सडकमा उतारी उतारी फलानो आउ देश बचाउको उत्तेजक नारा लगाउन अह्राउँदै छन् ।

राजनीतिक सुझबुझ नभएको, समझदारी तथा वास्तविकतालाई आत्मसाथ गर्ने हठी स्वभावका झुण्डले २० हात माथि उफ्री उफ्री फलानो आउ देश बचाउ भन्दै जति चर्तीकला देखाएपनि उनीहरूले आएर देश बचाउने वाला छैनन ।

बिदेशी शक्तिको आडमा उसको बुई चढेर यदि ठूलै चलखेलबाट सत्तामा आइहाले पनि यी पात्रहरूबाट देशले नोक्सानी बेहोर्नुपर्ने बाहेक केही उपलब्धि हासिल गर्नेवाला छैनन् ।

नेपाली जनताले बितेका पैतिस बर्षसम्म आलोपालो सत्तामा रहँदा यिनीहरूले गरेको शक्तिको दुरूपयोग र बेइमानीपूर्ण क्रियाकलापलाई बिर्सेका छैनन् । महाकाली सन्धिदेखि एमसिसी, एसपीपी सम्झौता र भ्रष्टाचारका बेईमानीपूर्ण क्रियाकलाप भुलेका छैनन । षड्यन्त्रकारी एवं जनबिरोधी तत्वहरुको बिनास अवश्यंभावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?