Butwal Today

‘विपद् प्रभावितमाथि महँगीको भार’

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

प्राकृतिक प्रकोपले देश आक्रान्त छ । भोटेकोशी बाढीको कहरले मुलुकले खर्बौँ क्षति बेहोरेको अवस्था छ । हजारौँ नेपाली बाढीबाट प्रभावित र विस्थापित भएको अवस्था छ । यही बेला नेपालीहरूको चाडपर्व समेत नजिकिएका छन् ।

बाढीबाट विस्थापित, सम्पर्क विहीन, घाइतेहरूको उपचार, मृतकहरूको शव व्यवस्थापन लगायतका कारण सरकारको ध्यान अन्यत्र पुग्न नसकेको अवस्थामा ठिक यही बेला बजारमा उपभोग्य सामाग्रीको भाउ आकासिएको छ ।

जसका कारण आम नेपाली मूल्यवृद्धिको मारमा पर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसो त हरेक वर्षको साउन महिनादेखि नै नेपाली उपभोक्ताले अस्वाभाविक मूल्यवृद्धिको सामना गर्दै आउनु परेको यथार्थ हो । वर्षौँदेखि चल्दै आएको यो परम्परा यो बर्षपनि यथावत् छ, अर्थात् चाडपर्व आउँदै गर्दा उपभोक्ताका दुःखका दिन सुरु हुन्छन् ।

त्यसमाथि यो वर्ष प्राकृतिक प्रकोपको कहरले झनै समस्या थपिएको छ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । चिनीको मूल्य एकसय ६० पुग्ने हल्ला चलाइएको छ ।

मूल्य वृद्धिको कारण नभएपनि चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाई हो भन्ने दावी गरिन्छ । पछिल्लो महिना चिनी, दलहन, तेल, मैदा, आटा र चामलको भाउ बढेको छ ।

नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा नेपालमा खाद्यान्न लगायतका सवै उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएको स्वाभाविक सरकारी जवाफ आउँछ । विगत तीन चार महिनाको अवस्था हेर्दा मोटा चामल प्रतिबोरा पाँचसय रुपियाँसम्म बृद्धि भएको अवस्थाले सामान्य उपभोक्ताको जीवन कसरी चल्छ ? चुनौतिको विषय बनेको छ ।

यतिबेला सरकारको नियमनकारी निकायले अनुगमन गर्नुपर्ने हो तर सरकारको ध्यान अहिले बाढी प्रभावित क्षेत्रमा गएकोले मौकामा चौका हान्नेहरूलाई राम्रो अवसर जुरेको छ । सरकारको अनुगमन टोली अन्यत्रै व्यस्त हुँदा बजार अनुगमनले परिणाम दिन नसकेको अनुभूति भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा चामल र चिनीको अभाव नहोस् भन्दै भारतबाट ६५ हजार मेट्रिक टन चामल र १९ हजार मेट्रिक टन चिनी खरिदका लागि व्यापारी छनोट गरेर खरिद प्रक्रिया थालेको छ । तर, नेपालमा महंगी बढाउन तिज, दशैं तिहार लगायतका चाडपर्व कुरेरै बस्ने भएकोले भारतबाट जति सस्तोमा सामान आएपनि अहिले महंगी घटने अवस्था नरहेको अवस्था छ ।

भारतबाट ल्याउँदै भाउ बढेको वस्तुको भाउ बढाउनुु स्वाभाविक भए पनि मौज्दात रहेकै वस्तुको भाउ बढाउने गरिएको छ । यसले बजारमा जति महंगी बढाएपनि कसैले केही गर्दैन भन्ने भावनाको विकास भएको छ ।

भारत सरकारले पछिल्लोसमय नेपालमा खाद्यान्न पठाउन आनाकानी गरिरहेको अवस्था छ । अव चाडपर्वको बेलामा सरकारले सर्वसाधारण उपभोक्तालाई असर पर्ने विषयमा जिम्मेवार र गम्भीर हुनुपर्ने आवश्यकता छ ।

एकातिर बजारमा भाउ बढ्दै जाने अर्कोतिर सर्वसाधारणको मात्रै होइन, उद्यमीको समेत क्रयशक्ति कमजोर हुने अवस्था आएको छ । ठूलाबडाले विलासी सामान किन्न नसकेका होलान्, सर्वसाधारणलाई भने हातमुख जोर्नै धौ भइसकेको छ ।

खासगरी बाढी प्रभावित घर परिवारको छाक टार्ने समस्या समाधानका लागि भएपनि सरकारले मूल्य नियन्त्रणमा ध्यान पु¥याओस् । यद्यपि अहिले सरकार प्राकृतिक प्रकोप व्यवस्थापनमा लागेको अवस्थामा सरकारका नियामक अंगहरू त्यत्तिकै चुप लागेर बस्न मिल्दैन् । मौसमी अनुगमन गरेर भएपनि कम्तिमा बजार मूल्य नियन्त्रणमा सहयोग पुग्न सक्छ । त्यसतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?