© 2026
न्युयोर्क । न्युयोर्क सहरको व्यस्त टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै एक पुरुष छुरा प्रहारबाट घाइते भएका छन् । प्रहरीले घटनाबारे जानकारी दिएको छ ।
न्युयोर्ककी प्रहरी आयुक्त जेसिका टिस्चले आक्रमणको विवरण दिँदै क्वीन्स निवासी ४९ वर्षीय संदिग्धले दुई जनालाई छुराले प्रहार गरेको बताइन् ।
अधिकारीहरूले उक्त घटना आतङ्कवादसँग सम्बन्धित भएको कुनै सङ्केत नभएको बताएका छन् ।
संदिग्धले पहिले वेस्ट ४१ स्ट्रीट र सेभेन्थ एभिन्यू नजिकै ६८ वर्षीय पुरुषलाई छुरा प्रहार गरेको करिब २० सेकेन्डपछि ३२ वर्षीया महिलाको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
दुवै पीडितलाई उपचारका लागि बेलेभ्यु अस्पतालमा लगिएको थियो । महिलाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ भने घाइते पुरुषको उपचार भइरहेको छ ।
त्यसपछि संदिग्ध वन टाइम्स स्क्वायर नजिकैको एनवाइपीडी सबस्टेसनतर्फ भागेका थिए । अधिकारीहरूले उनलाई पटक–पटक छुरा फाल्न आदेश दिए पनि उनले नमानेर छुरा समात्दै अधिकारीतर्फ अघि बढेपछि प्रहरीले संदिग्धमाथि गोली चलाउन बाध्य भएको जनाइएको छ ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका संदिग्धको बेलेभ्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । न्युयोर्क सहरका मेयर जोहरान ममदानीले प्रहरीको गोली प्रहारको घटनाबारे अनुसन्धान गरिने बताएका छन् भने अधिकारीहरूले छुरा प्रहारको कारण र उद्देश्यबारे अनुसन्धान जारी राखेका छन् ।