Butwal Today

अमेरिका–भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

न्युयोर्क । अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्य पत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको हो ।

सम्झौताअनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले उत्तर अमेरिकी निजी ऊर्जा कम्पनीलाई १७ वटा तेल क्षेत्रमा १०० वर्षका लागि उत्खनन तथा सञ्चालनको अधिकार प्रदान गरेका छन् । ती क्षेत्रमा करिब ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार रहेको उल्लेख गरिएको छ ।

सम्झौताको प्रावधानअनुसार उक्त कम्पनीले आफ्नो मूल कम्पनीमा अमेरिकी युद्ध विभागअन्तर्गतको रणनीतिक पुँजी कार्यालयलाई ३५ प्रतिशत स्वामित्व हिस्सा प्रदान गरेको छ ।

त्यस्तै, हाल सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालनमा आउने सबै तेल क्षेत्रबाट उत्पादित तेलमध्ये २० प्रतिशत उत्पादन लागतमा खरिद गर्ने अधिकार अमेरिकी विदेश मन्त्रालयलाई दिइएको छ । बाँकी ८० प्रतिशत तेल खरिदका लागि पनि अमेरिकी सरकारलाई पहिलो प्राथमिकताको अधिकार प्रदान गरिएको छ ।

तथ्यपत्रमा उल्लेख भएअनुसार उक्त कम्पनीको सञ्चालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ । साथै, सञ्चालक समितिका अधिकांश सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौता अमेरिकी कानुनअनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकार क्षेत्रमा रहने जनाइएको छ ।

अमेरिकी सरकारले सम्झौताअन्तर्गत भेनेजुएलामा उत्पादन हुने लाखौँ ब्यारेल नयाँ तेल अमेरिकी तेल प्रशोधन केन्द्रमा प्रशोधन गरिने र अमेरिकी तेल उत्खनन उपकरण तथा पूर्वाधारको प्रयोगमार्फत ढुवानी गरिने जनाएको छ ।

अमेरिकी सरकारका अनुसार उक्त सम्झौता अमेरिकी करदातामाथि कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यान्वयन हुनेछ । यसैबिच, राष्ट्रपति ट्रम्पले मंगलबार ठूला तथा साना तेल प्रशोधन कम्पनीका सञ्चालकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अमेरिकाको इरानविरुद्ध जारी सैन्य कारबाहीका बिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय ब्रेन्ट कच्चा तेलको मूल्य करिब २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?