Butwal Today

समयले सिकाएको सवकः सहकार्य ! 

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

कसैले नसोचेको भयो । दैवी एवं प्राकृतिक विपत्ति आइलाग्यो । रसुवाको भोटेकोशी, नुवाकोट र धादिङ्गको त्रिशूलीमा महाबिनासकारी बाढी आयो तिब्बत तिरबाट । सयौँको ज्यान लियो । हजारौँलाई घरबार विहीन बनायो ।

डेढ दर्जन पुल, माल लोड गरेका र नगरेका कन्टेनर, ट्रक, ट्रिप्पर, टेक्टर, बस, कार, जीप, मोटरसाइकल बगायो । बाटो भत्कायो । बगरमा परिणत ग¥यो खेत । नदी किनारका घर, बजार, विद्यालय र औषधालयको अवस्था हेर्नै नसकिने र बस्नै नसकिने खालको बनायो । त्यस्तो विध्वंस मच्चायो ।

विद्युत् उत्पादनका लागि बनाइएका बाँध र भवनमा अकल्पनीय क्षति पु¥यायो । सिङ्गै देश स्तब्ध छ १० गते बुधबारदेखि । यति बेला शोकमा डुबेको छ नेपाल । छर–छिमेकी सहित विश्वभरिका मित्र राष्ट्रहरूले आफुसक्दो सहयोग गर्ने बचन दिएका छन् ।

आपत्कालीन उद्धार र राहतका सामग्री पठाएका छन् । सरकारी संयन्त्र पुरै उद्धार, उपचार र उपकारमा खटिएको छ । अरू बेला कहिल्यै मिल्न नसक्ने राजनीतिक दलहरूले मिलेर समाधान गर्ने सङ्कल्प गरेका छन् । टिकाउ र दीर्घकालीन सहकार्य गरेमा, मिलेर लागि परेमा जस्तै संकटको पनि समाधान गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । दलीय र पदीय झगडा सवै सामसुम भएको छ यति बेला । बुद्धि नबिगारे हुन्थ्यो फेरि कुनै बेला ।

यति र उति क्षति र दुर्गति भनेर संख्या दिनु उचित लागेन । किनकि खोजी कार्य जारी छ अझै । क्षतिको विवरण संकलन गर्ने काम पनि संगसंगै हुँदैछ । बीचको टिपेर पस्केर दिदा आधिकारिक र भरपर्दो पनि नहुनाले । यसर्थ सरकारले वास्तविक विवरण सार्वजनिक गरेपछि दिँदा उपयुक्त होला भनेर । अहिले दिएको अधकल्चो हुने ठानेर ।

अनि हरेक समयमा प्रत्यक्ष प्रसारण गरेका छन् विद्युतीय सञ्चार माध्यमले । यहाँ यति लास भेटिए, त्यहाँ त्यस्तो भयो, उता झन दुर्गति रहेछ भनेर । दुर्गतिका दर्दनाक दृष्टान्त दिनु भन्दा दलहरूका बीचमा भएको सहमति, सहकार्य र जारी गरेको अपिललाई प्राथमिकता दिनु समयोचित लाग्यो । विवाद र विपतको भन्दा समाधानतिर लागेको सुखद सन्देश दिनु जायज ठानेर ।

प्रेस काउन्सिल नेपालले जारी गरेको आचार संहिता मानेर । हृदयविदारक दुःख देखाएर दयाको भिक्षा माग्ने तरिका उचित लागेन । यस्तो बेलामा पनि राजनीतिक रङ्ग दिएर विद्वेषको वीष छर्नु हुँदैन भनेर । सकभर दलहरू आपसमा मिलेर गरेको समाधानको प्रयासलाई प्रोत्साहन गर्नु जायज लागेर । दुःख र पीडाका बेलामा भिडाउने भन्दा संगसंगै हिडाउने र सहकार्य गराउने विषयलाई अत्युत्तम मानेर ।

देशमा संकट आउँदा सवै दल मिल्नु साह्रै सह्रानीय छ । स्तुत्य सत्कार्य हो यो । माथिको मिलन तलसम्म ऐतिहासिक बनोस् । कसैले पनि निहुँ खोजेर बाहिर निस्केर विवाद नगरोस् । जब सहज अवस्था आउँछ, तब हिसाव किताव गरेर आ–आफ्नै खाले राजनीति गरुन् । दलीय राजनीतिमा सवैका अलग विचार र व्यवहार हुनुलाई अस्वभाविक मानिदैन । तर आपतका बेलामा मिलेर समाधान गर्न खोज्नु प्रशंसनीय छ । त्यसैले कसैले पनि जग् हँसाउने काम पटक्कै नगरुन् । काम गर्दा गल्ती भए, सुधार्ने सर्वमान्य संयन्त्र बनाउन् । यति बेला कसैले तुजुक देखाउने दुस्प्रयास नगरुन् ।

अवस्था असहज छ । सहज हुँदा जस्तो नठानुन् । भ्रम छर्नेहरू सक्रिय छन् । नक्कली आइडी बनाएर । साँच्चै जस्तो भनाएर । एआईद्वारा निर्मित दर्दनाक दृश्य देखाएर । त्यस्ता श्रब्य–दृश्य सामग्रीले हाम्रो ध्यान तुरुन्तै तान्छन् ।

नँचाहँदा नँचाहँदै पनि हेर्न बाध्य पार्छन् । अनि हेर्दा हेर्दै हाम्रो सोचाई बिगार्छन् । मोबाइल नामक यन्त्रमा कुनै त्यस्तो जादूमय मन्त्र त छैन । तर हाम्रो ध्यान तान्न सक्ने तन्त्रचाहिँ छ । हेर्दिन भन्दा भन्दै पनि हेर्ने बनाउँछ ।

हेर्ने मान्छेको मनोविज्ञान बुझ्छ र सोही अनुसारको सामग्री लगातार पस्कन्छ । हामीले मोबाइललाई नचिने पनि मोबाइलमा आउने सामग्र्रीले चिन्छ र सोही अनुसारको मन लोभ्याउने श्रब्य–दृश्य लगातार दिन्छ । अनि नहेर्ने कुरै भएन । समय गएको पत्तै हुँदैन । समय गुज्रेको र काम बिग्रेको थाहै पाइदैन । थाहा पाउनेले बेलासम्म सुधार्ने अवस्थै रहँदैन ।

रसुवाको भोटेकोशी, नुवाकोट र धादिङको त्रिशूलीमा आएको बाढीलाई केही जानकारहरूले ‘हिमाली सुनामी’ भनेका छन् । यस्ता सुनामी तपाई हाम्रा सरकार र दलका कमी कमजोरीले आउँदैनन् । विकसित मुलुकका औद्योगीकरणले अत्यधिक कार्बन उत्सर्जनका कारण आउँछन् अरे ।

यसर्थ ‘बाँच्न पाउने अधिकारका लागि राष्ट्र संघ लगायत सवै जसो अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउने, धर्ना दिने र क्षतिपूर्तिको दावी गर्नुपर्छ भनिदैछ । अनि सीमापार पूर्वसूचना प्रणाली सुदृढ पारेर विकासको संपूर्ण ढाँचा बारे बहस चलाएर प्रकृति अनुकूल बनाउन पर्छ अरे ।’ तर हाम्रो दिमागचाहिँ को सरकारमा रह्यो र गयो, कस्ले यस्ता विपतका बेलामा पनि कसरी राहत बाँडदा कति खायो, कमायो भन्नेतिर मात्रै जान्छ ।

सिङ्गै बस्ती र बजार बाढीले बगाएर ल्याउँदा मृतकका शरीरबाट गहना फुकालेर लुकाउने, ग्याँसका सिलिण्डर र दाउरा बटुल्ने, हृदयविदारक श्रब्य–दृश्य सामग्री बनाएर, पस्केर, लाइक र भ्यूज बढाएर डलर कमाउनेतिर लागेको देखिन्छ । दुर्योगको दुर्भाग्य हो यो र हो आफ्नो परिचय आफ्नै क्रियाकलापले प्रस्तुत गरेको प्रमाण पनि । दुनियाले देखेर के भन्ला, कस्तो मान्ला भनेर नसोचेपछि कस्को के लाग्छ ? दुःख कसरी भाग्छ ? संकट कसरी पाखा लाग्छ ? लाग्दैन ।

बुधबारको बाढीले पु¥याएको क्षतिको पुरै विवरण संकलन गरेर, उद्धार र उपकार हुन पाएकै थिएन । शुक्रबार पनि अचानक तिब्बततिरबाट बाढीको सूचना पाएर माइकिङ्ग गरेर सचेत गराइए छ । उद्धार र राहतमा लागेकै छ सरकार । सर्वदलीय सुझाव र सहमति अनुसार । तथापि सवै ठाउँमा भनेजस्तो उद्धार र उपकार भएको नहोला ।

स्थानीय र प्रदेश सरकारले आफ्ना संयन्त्र परिचालन गरेर सक्दो प्रयास नथालेर हेलिकोप्टर आएन, सेना र पुलिसले पुछेन, समन्वय भएन भनेर कसैले आक्रोश पोखेको पनि देखियो, सुनियो । केन्द्र सरकार सफल भए पालिका र प्रदेशको राजनीति सकिने, आउने चुनावमा बढारिने भयले । केन्द्रको सवै शक्ति परिचालन गर्दा पनि एकैचोटी सवैतिर पुग्न नसकेको होला । १६ वटा हेलिकोप्टर एकैचोटी ३६ ठाउँमा कसरी पुग्ला भनेर आफैले पनि सोचेर समन्वय गर्न पर्ला कि नपर्ला ?

कसले के गरेको छ र छैन भनेर जनताले आफैले हेरेर बुझेका छन् । भ्रम छरेर दुस्प्रभाव पार्ने कोशिष नगरुन् कसैले । समयले सिकाएको सवक् सिकेका छन् सवैले । पार्टी, नीति, नेता, न्यायाधीश र प्रायोजित मिडियाका आदेश र सन्देशलाई पनि परीक्षण गरेर मात्रै विश्वास गर्छन् अचेलका सचेत तप्काले । नियत र व्यवहार हेरेर स्वविवेकले निर्णय गरेर चल्छन् भन्ने विषय नबिर्सियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?