Butwal Today

गुल्मीमा  टिप्परको ठक्करबाट एक जनाको मृत्यु

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार साँझ ५:४० बजे धुर्कोट गाउँपालिका–५ स्थित डुकुर्ति सडकखण्डमा तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए।

दुर्घटनामा परेर मोटरसाइकल चालक इस्मा गाउँपालिका–६ अम्मरपुर निवासी ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए। घाइते बस्नेतलाई जिल्ला अस्पताल तम्घासमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

दुर्घटनामा  मोटरसाइकलको पछाडि सवार इस्मा गाउँपालिका–२ का २३ वर्षीय कमल पछाई सामान्य घाइते भएका थिए। प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र टिप्पर चालक जीवन रानामगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?