© 2026
‘बाल, युवा र बृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय पुस्तकालय दिवस आज मनाईदैछ ।
पठन संस्कृतिको अभाव भैरहेको वर्तमान परिवेशमा पुस्तकालय दिवसले कम्तीमा पाठकमा पठन संस्कृति विकास हुने अपेक्षा गरिएको छ । आजको २१ औँ शताब्दीमा घरमै बसेर एक क्लिकको भरमा संसारको पाठ्यक्रम पाठकको अभावमा पुस्तकालय सङ्कटमा परिरहेको बेला औँ १७ औँ पुस्तकालय दिवस शनिवार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
विश्व सूचनाको आधुनिक युगमा प्रवेश गरेको छ । गुगलमा एक क्लिकको भरमा विश्वको सूचना मोबाइलमै उपलब्ध हुँदै आएको छ । विश्वका महत्त्वपूर्ण पुस्तक गुगलमा सर्च गरेकै आधारमा उपलब्ध हुन्छ । त्यसो त अव पुस्तकालयमा गएर पढ्ने पाठकको अभाव हुनु स्वाभाविक छ । तर पनि नेपालमा अझै पनि पुस्तकालयको अस्तित्व बाँचेको छ ।
नेपालका ऐतिहासिक पुस्तकालयले जेनतेन पुरानो इतिहास धानेका छन् । अर्कोतर्फ ठूला व्यक्तिको सम्झनामा पुस्तकालय खोल्ने परम्परा पनि कायमै छ । एक महिनाअघि मात्रै बुटवलका समाजसेवी सूर्यप्रसाद प्रधानको स्मृतिमा पुस्तकालय स्थापना गरिएको छ । अर्कोतर्फ नेपालमा भएका पुस्तकालयको संरक्षणमा राज्यको ध्यान नपुगेको यथार्थ हो ।
इतिहासकै सन्दर्भको कुरा गर्दा नेपालमा प्रजातन्त्र प्राप्तिको लागि पुस्तकालयले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको सर्वविदित छ । बुटवलमा २००४ सालमा स्थापना भएको महाबीर पुस्तकालयले २००७ सालको प्रजातन्त्र प्राप्तिमा धेरै ठुलो भूमिका खेलेको त्यति बेलाका सर्जकहरूले बताएका थिए । नेपालको राजनीतिक इतिहास भन्ने पुस्तकमा समेत यो विषय उल्लेख छ । त्यसै गरी पाल्पाको ऐतिहासिक धवल पुस्तकालयको प्रजातन्त्र प्राप्तिमा ठुलो भूमिका थियो ।
पुस्तकालयको माध्यमबाटै राणाशासनविरुद्धको आन्दोलन सशक्त बनाउन मद्दत पुगेको थियो । गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा समेत पुस्तकालय स्थापना भएका थिए तर ती अहिले खण्डहर भएका छन् । बुटवलको महाबीर पुस्तकालय पश्चिम क्षेत्रबाट प्रजातन्त्रको बिगुल फुक्ने ठुलो चेतनाको द्योतक बनेको थियो ।
त्यसयताका विभिन्न आन्दोलनमा पुस्तकालयका माध्यमबाट हुँदै आएको योगदान र भूमिकालाई कम आँक्न सकिदैन् । तर समयले कोल्टे फेर्दैगर्दा निश्चितरूपमा अहिले पुस्तकालय साँघुरिँदै आएको छ । अहिले हरेक कुराको जानकारी घरमै बसेर पाउन सकिन्छ । विश्व सूचना युगबाट प्रभावित भैरहँदा नेपाल पनि यसबाट अछुतो रहन सक्दैन् ।
त्यही कारण अहिले पुस्तकालयको महत्व घट्दै गएको छ । नेपालमा पाठकहरूको संख्या विगतमा भन्दा वर्तमानमा धेरै घटेको यही कारण हो । पाठकको संख्या घट्दै गर्दा पुस्तकालयहरू रित्तिदै गएका छन् । सञ्चारका विविध साधनहरूको विकास भएसंगै पठन संस्कृतिको कमी भएको छ । जसका कारण नेपालमा अहिले पुस्तकालय खोलिएको उदाहरण र समाचार कमैमात्र सुन्नमा आउने गरेको छ । त्यसैपनि पुस्तकालय घटिरहेको बेला पाठकहरू पाउनै समस्या छ ।
त्यसमाथि पुस्तकालयमा गएर पढ्ने बानीको विकासमा पनि धेरै कमी आईसकेको छ । भएका पुस्तकालय पनि जीर्ण वन्दै गएका छन् । तिनको भौतिक संरचना निर्माणमा बेवास्ता गरिएको छ । पुस्तकालयमै पुगेर पढ्ने पाठक समेत पाउन मुस्किल परिरहेकोले अव पुस्तकालयको अस्तित्व रक्षा गर्ने चुनौति छ । बुटवलको महाबीर र पाल्पाको धवलसंगै खुलेका अन्य धेरै पुस्तकालयले पनि त्यही चुनौतिको सामना गर्नुपरिरहेको छ ।
पुस्तकालयको इतिहासकै कुरा गर्दा वि.सं. १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्बाणयुद्ध बीरबिक्रम शाहले पण्डित केदारनाथ झालाई किताब तहबील खानाको अध्यक्ष बनाएको सम्झनामा पुस्तकालय दिवस मनाईदै आइएको छ । अव पुस्तकालयलाई आधुनिक रूपमा परिष्कृत गरेर लैजानु जरुरी छ । अर्थात अव पुस्तकालयमा गएर होइन पाठक जहाँ छन् त्यहीँबाट पुस्तकालयको सामग्री हेर्न पढ्न पाइने अवस्थाको विकास गर्नुपर्ने छ । अझै सम्भव छ– नेपालको इतिहास बनेका पुस्तकालय संरक्षणमा ध्यान जाओस् ।