© 2026
बुटवल । बुटवलको एक विद्यालयमा अध्यापनरत शिक्षक शेरचन्द्र गिरी फुर्सद पाउनासाथ बुटवल छेउछाउका चुरे पहाडमा उक्लिहाल्छन् ।
उनी कहिले पैदल त कहिले मोटरसाइकलमा गरी दाउन्नेदेखि हापुरेसम्मका चुरेका प्रमुख बस्ती, धार्मिक स्थल र प्राकृतिक रूपमा मनोरम स्थलहरूमा पुगिसकेका छन् । तराईबाट नजिक रहेको र पहाडी स्वाद लिन सकिनुको साथै सबै मौसममा घुमफिर गर्न सकिने भएकाले घुमफिर रोजाइमा चुरे पहाड पर्ने गरेको उनी बताउँछन् ।
यातायातका साधन र छोटो पदयात्रा गरेर पुग्न सकिने चुरेका डाँडा उक्लने उनीजस्ता युवाहरूको सङ्ख्या हरेक वर्ष बढिरहेको देखिन्छ । पहाड र तराईलाई जोड्न सक्ने र सेता हिमालदेखि दक्षिण भारतसम्म अवलोकन गर्न सकिने तथा पूर्व–पश्चिम राजमार्गदेखि सजिलै पुग्न सकिने भएकाले प्रदेशको चुरे पहाडका धेरै स्थानहरूले हिल स्टेसनको स्वरूप लिन थालेका छन् ।
पुर्खाहरू नुन लिन तिकुनिया, कोइलाबास, बुटवल, त्रिवेणी झर्दा चुरेको बाटो हुँदै सयौँ वर्षसम्म ओहोरदोहोर गरेका थिए । उनीहरूले हिँडेको प्राचीन नुनमार्ग त अहिले हराइसकेको छ तर पुर्खाहरूले चुरेमा भारी बिसाउँदा त्यहाँबाट देखेका तराईका फाँट र हिमालको सुन्दरताको बयान अहिलेको पुस्ताको मस्तिष्कबाट हराएको छैन ।
बुटवल बहुमुखी क्याम्पसमा कानुन अध्ययनरत विद्यार्थी विवेक पौडेल चुरेमा घुमफिर गरिरहन रुचाउने युवा हुन् । उनी भन्छन्, “नुन बोक्न हिँड्दा चुरेमा बसाएका बस्तीहरू, बनाएका मठमन्दिर र चौपारीहरू अनि पुरानो नुनमार्गले भविष्यमा अझ धेरै युवाहरूलाई आकर्षित गर्न सक्छन् ।
चुरेको डाँडैडाँडा छोटो दूरीमा पदयात्रा गर्दा पनि हिमाल, पहाड र तराईका सुन्दर दृश्यहरू अवलोकन गर्न र केही समय शीतलतामा हराउन सकिने भएकाले चुरेका मनोरम र शीतल स्थानको प्रचारप्रसार गरेर चुरेमा पदयात्रा गराउन सकिन्छ ।”
लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, दाङ, प्युठान, बाँके, बर्दिया गरी आठ वटा जिल्लामा चुरे छरिएको छ र चुरेले प्रदेशको कुल क्षेत्रफलको २७.९ प्रतिशत (५,३९,३५८ हेक्टर) भूभाग ओगटेको छ ।
प्रदेशको दाङ, कैलाली, नवलपरासी जिल्लामा धेरै भूभाग चुरेले ओगटेको देखिन्छ । चुरेमा दुई किसिमको हावापानी पाइन्छ । तल्लो भू–भाग उप–उष्ण जलवायु प्रदेश र माथिल्लो भू–भाग न्यानो–शीतोष्ण जलवायु प्रदेशमा पर्दछन् । चुरे क्षेत्रको तल्लो उचाइमा मुख्यतः साल र मिश्रित प्रजातिको वन तथा माथिल्लो उचाइमा सल्ला प्रजातिको वन रहेको छ ।
पहाडी र तराई क्षेत्रको मिश्रित स्वरूप चुरेमा रहेको पाइन्छ । पृथक् भू–बनोट र यहाँ उपलब्ध प्राकृतिक स्रोतले सिर्जना गरेको प्राकृतिक सुन्दरताले गर्दा चुरेलाई सुन्दर पर्यटकीय गन्तव्य बनाएको छ ।
यस प्रदेशको चुरेमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र यिनका मध्यवर्ती क्षेत्रहरू फैलिएका छन् । यी राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जङ्गली हात्ती लगायत स्तनधारी वन्यजन्तुका साथै घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा तथा रैथाने र बसाइँ सरी आउने चराहरूको अभिलेख पाइन्छन् ।
तराईमा चारकोशे झाडी टुक्रिएकाले चितवनलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोड्ने काम चुरे पहाडले गरेको र चुरेको छोटो दूरीमा पनि धेरै जैविक विविधता रहेकाले लुम्बिनी प्रदेशको चुरे क्षेत्र पर्यापर्यटनमा रमाउन चाहनेहरूका लागि राम्रो गन्तव्य हुने बाँकेको गाभर भ्याली होमस्टेका अभियन्ता तथा पर्यटन व्यवसायी कृष्ण चौधरी बताउँछन् ।
भर्खरै डिभिजन वन कार्यालय अर्घाखाँचीले बँदेल, मृग र चित्तलको सिकार गर्न लाइसेन्स खुलाएको छ र हाललाई बँदेलको मात्र सिकार गर्ने गरी जिल्ला सिकार अनुज्ञापत्र दिने तयारी गरेको छ । यसले प्रदेशमा सिकार पर्यटनको सम्भावनाको ढोका खोलेको छ ।
चुरेको बलौटे जमिनमा पनि सुन्दर तालहरू निर्माण भएका छन् । नवलपरासीको बाउन्न घोला सिमसार, पाल्पाको सत्यवती र सुके ताल, अर्घाखाँचीको डमरु दह, दाङको बाह्रकुने ताल सुन्दर तालतलैयाहरू चुरे क्षेत्रमा रहेका छन् । बर्दघाट नगरपालिका, रैनादेवी गाउँपालिका, तिनाउ गाउँपालिका, बबई र राजापुर गाउँपालिकामा छोटा र आकर्षक झरनाहरू रहेका छन् ।
यी झरनाहरूमा गर्मीयाममा पर्यटकहरूको भिड लाग्ने गरेको छ । त्यसैगरी भावार क्षेत्रमा घमाहा (सैनामैना), दानापुर ताल, जखोरा ताल (दाङ) लगायतका तालतलैयाहरू छन् भने तिनाउ, बाणगङ्गा, राप्ती, बबई जस्ता सानाठूला नदीहरू चुरे हुँदै तराईमा प्रवेश गरेका छन् ।
यी तालतलैया र नदीहरूमा जलाशय निर्माण गरेर बोटिङ तथा ¥याफ्टिङ सञ्चालन गरी जल पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । चुरेका कतिपय ठाउँमा समुदायले पानी संरक्षणका लागि पोखरीहरू निर्माण गरेका छन् । त्यसैगरी सरकारका नीति कार्यक्रममा समेत चुरे क्षेत्रलाई हराभरा बनाउन पोखरी निर्माण गर्ने कुराहरू आएका छन् । पर्यटकको पहुँच हुने ठाउँमा पोखरीहरू निर्माण गर्ने र त्यसको सौन्दर्यीकरण गर्ने हो भने पर्यटकलाई आकर्षित गर्न सजिलो हुनेछ ।
लुम्बिनी प्रदेशको चुरे सांस्कृतिक रूपमा धनी छ । तराईका आदिवासी थारु र तल्लो पहाडी क्षेत्रमा जनजाति मगरहरूको सभ्यताको सम्मिश्रणले चुरेलाई फरक सांस्कृतिक थलो बनाएको छ ।
नवलपरासीको दाउन्ने, महलपोखरी, पाल्पाको माथागढी, सत्यवती, सिद्धबाबा धाम र नुवाकोट, रूपन्देहीको मलमला, अर्घाखाँचीको सुपादेउराली, कपिलवस्तुको शिवगढी, प्युठानको स्वर्गद्वारी, दाङको धारापानी मन्दिर, बाह्रकुने दह, जङ्गल कुटी, रामजानकी मन्दिर, गोरक्ष रत्ननाथ मन्दिर, बाँकेको सन्तानेश्वर जस्ता धार्मिक स्थलहरू रहेका छन् । यी क्षेत्रको भ्रमण गरेर आध्यात्मिक सन्तुष्टि त लिन सकिन्छ नै, फरक सांस्कृतिक सभ्यताको अवलोकन गर्नसमेत सकिन्छ ।
नेपाल एकीकरण हुँदा चुरेलाई नेपालकै रक्षकका रूपमा हेरिएको पाइन्छ । भुरे–टाकुरे राजाको पालादेखि नेपाल–अङ्ग्रेज युद्धताका चुरेमा धेरै किल्लाहरू बनाइएको थियो । ऐतिहासिक महत्वका माथागढी (पाल्पा), जितगढी (रूपन्देही), शिवपुरगढी (कपिलवस्तु), जलुके किल्ला (जुन अहिले लोप भइसकेको छ) हरू यही प्रदेशमा रहेका छन् । यी किल्लाहरूको पुनर्निर्माण र प्रचारप्रसार गर्ने हो भने इतिहासका अध्येतालगायतका पर्यटकहरूको गन्तव्य बनाउन सकिन्छ ।
चुरे पर्यटनमा लगानी बढ्दै
एक दशक अघिसम्म महेन्द्र राजमार्ग छेउछाउका सहर बजारका युवाहरू गर्मीमा पौडी खेल्न चुरेका खोला, खोल्साहरूमा जाने, गर्मीमा शीतलताको लागि चुरेको भित्री बस्तीहरूमा पुग्ने र स्थानीय मदिरा र मासु खाएर फर्कने गर्ने भएकाले स्थानीय बासिन्दाहरूले उनीहरूलाई लक्षित गरेर केही साना होटल, रेस्टुरेन्ट सञ्चालनमा ल्याए पनि चुरे पर्यटनमा सरकार र निजी क्षेत्रबाट ठूलो लगानी र प्रवद्र्धनका कामहरू भएका थिएनन् ।
अहिले भने समुदाय, स्थानीय सरकार र निजी क्षेत्रले चुरेलाई पर्यटनको हब बनाउनका लागि लगानी गरिरहेका छन् । चुरेका बस्तीको मौलिक संस्कृतिको संरक्षण, तालतलैया संरक्षण, हिल स्टेसनको विकास, पार्क निर्माण, पदमार्गको निर्माण जस्ता कामहरू समुदाय र स्थानीय सरकारले समेत गर्न थालेका छन् ।
बर्दघाट नगरपालिकामा बर्दघाट चुरे उद्यानको अभियानमा संलग्न पत्रकार कुश्माखर ढकाल भन्छन्, “चुरेमा जैविक पार्क बनाउँदा त्यसले पर्यटन विकासमा मात्र सघाउँदैन, उजाड बन्दै गएको चुरेलाई हराभरा बनाउन, मरुभूमीकरण रोक्न र पानीका मुहानहरूको संरक्षणसमेत गर्न पछिल्लो दशकमा निजी क्षेत्रले चुरेमा लगानी बढाइरहेका छन् ।
यो क्षेत्रले पर्यटनमैत्री संरचना निर्माण, होमस्टे सञ्चालन, पर्यटक लक्षित उत्पादन, होटल, रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । बुटवलको चुरेमा मात्र ठूलो लगानी भइसकेको छ । बुटवल नजिकका वसन्तपुर र नुवाकोटमा सञ्चालन भएका केबलकारले नेपाली मात्र नभएर ठूलो संख्यामा भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । यी दुवै स्थानमा उच्चस्तरीय होटल, रिसोर्ट सञ्चालनमा छन् र थपिँदै छन् ।
सैनामैनाको उत्तर झिङ्गामारामा चेन होटेल पौवाले ठूलो लगानी गरेर होटल निर्माण गर्न लागिरहेको छ । रैनादेवी छहराको निमिचौरमा झरना रिसोर्ट सञ्चालनमा छ । कपिलवस्तुको पत्थरकोटदेखि नरपानीसम्म भारतीय पर्यटकलाई लक्षित गरेर होटेल खुलिरहेका छन् । कोइलाबास, लमही, भालुबाङ, बडडाँडा, घोराही, तुलसीपुर, कोहलपुरमा होटल बढिरहेका छन् । गाभर भ्यालीका होमस्टेमा लगानी र सुविधा थपिएका छन् । पर्यटन व्यवसायीले चुरेमा पर्यटनको भविष्य देखेरै यो लगानी गर्ने हिम्मत गरेका हुन् ।
पर्यटन व्यवसायी माधव नेपाल पछिल्लो समय पाल्पाको नुवाकोट क्षेत्रमा पनि रिसोर्टहरू खुल्दै गएको उल्लेख गर्दै चुरेमा पर्यटनको विकासको सम्भावना देखेरै व्यवसायीहरू आकर्षित भएको बताए ।
चुरेको भूसतह कमजोर र कम उर्वरा भएकोले यसलाई खेतीपाती र विकासमा उपयोग गर्न नसकिने भए पनि यो क्षेत्रबाट पर्यटकीय लाभ लिन सकिने सम्भावनाहरू धेरै छन् । पूर्वाधारको विकास र प्रचारप्रसारले गर्दा रूपन्देही र कपिलवस्तुका चुरेमा स्वदेशी र भारतीय पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको देखिन्छ ।
अन्य जिल्लाहरूमा पनि चुरेमा पर्यटकीय क्षेत्रको खोजी गर्ने र पूर्वाधार बनाउने काम चलिरहेको छ । यो लुम्बिनी प्रदेशको पर्यटनका लागि सुखद कुरा हो । चुरेमा रहेका सम्पदाको तालिकीकरण र नक्साङ्कन गरी प्रचारप्रसार गर्न सकियो भने पहाड र तराईलाई जोड्ने चुरे आकर्षक पर्यटकीय थलो बन्न सक्ने देखिन्छ ।