Butwal Today

तत्काल राहतको व्यवस्था गर

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

देश अहिले विषम परिस्थितिमा छ । भोटेकोसी बाढीले पु¥याएको अकल्पनीय क्षतितर्फ मुलुकको ध्यान गएको बेला प्रभावित उपभोक्तालाई राहतको कुरा सर्वाधिक महत्त्वपूर्ण छ ।

ठिक यही बेला आयल निगमले भारतबाट तेलको मूल्य घटेर आए पनि घटाउन आनाकानी गरेको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने र घट्दा घटाउने भन्दै स्वचालित मूल्य प्रणाली लागू गरेको बर्षाै भैसकेको छ । आफै लागू गरेको यो नियम आयल निगमले पालना नगर्दा उपभोक्ताले ठूलो मूल्य चुकाउनु परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारण नेपालमा पनि बढाउनु परेको बाध्यता सुनाउने नेपाल आयल निगम लगातार तेश्रोपटक मूल्य घटेर आउँदा समेत स्वचालित प्रणालीको वेवास्ता गरिरहेको छ । निगमले मूल्य समायोजनमा बेवास्ता गरिरहेको छ । अमेरिका इरान युद्ध केही मत्थर भएकोले अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेको छ ।

विडम्वना नेपालमा भने उल्टो बढिरहेको छ । आयल निगम उपभोक्ताको अधिकारमाथि गंभीर खेलवाड गरिरहेको छ । इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताउने निगम मूल्य बढ्दा बढाउने र घट्दा घटाउने गरिएको नाटक गरिरहेको छ ।

सोमबार भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको निगमले नै जनाएको छ तर मूल्य समायोजन गर्न घाटाको कारण देखाउँदै आनाकानी गरिरहेको छ । सोमबारको नयाँ मूल्य अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।

निगमले आफैले घोषणा गरेको स्वचालित मूल्य प्रणाली अर्थात समायोजनको कुरा बिर्सिएको छ । यसबाट निगमले उपभोक्ताको अधिकारमाथि खेलाची गरिरहेको स्पष्ट हुन्छ । निगमले उपभोक्तामाथि गरिरहेको खेलाचीप्रति कहीँकतैबाट आन्दोलन हुँदैन् ।

विगतमा इन्धनको मूल्य वृद्धिको विरोधमा मुलुकभर आमहड्ताल हुन्थ्यो तर विद्यार्थीहरू समेत निष्कृय हुँदा निगमको एकछत्र राज छ । मूल्य घटाउन विगतमा भएका आन्दोलन परिणाममुखी हुन सकेनन् नै अहिले त्यस प्रकारको आन्दोलन हुन छोड्दा उपभोक्तामाथि चौतर्फी भार परिरहेको छ । कुनैपनि बस्तुको मूल्य जति नै बढाएपनि कोही सुनुवाई गर्दैन ।

विगतमा घाटा चुलिएर धान्न नसक्ने भएपछि मात्र निगमले एकैपटक इन्धनको मूल्य बढाउने गथ्र्यो । अहिले निगमले अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक महिनाको १५–१५ दिनमा मूल्य घटबढ गर्ने स्वचालित व्यवस्था लागू गरेको दावी गर्छ तर आफैले कार्यान्वयन नगरेर उदासिनता प्रकट गरिरहेको छ ।

पछिल्ला दिनमा लगातार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा नेपालमा मूल्य समायोजन नहुनु दुःखको कुरा हो । हामी सवैलाई जानकारी भएकै विषय हो–नेपालमा इन्धनको मूल्य चर्को हुनुमा अन्तर्राष्ट्रिय कारण भन्दापनि सरकारले इन्धनमा थोपरेको कर प्रमुख कारण हो ।

निगमले आइओसीसँग किनेको इन्धनको मूल्यमा ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोषमा राख्ने रकम लगायत जोड्छ । निगमले समस्या परेको बेला राहत दिनुपर्ने हो तर इन्धनको सवालमा सरकारले उपभोक्तामाथि अन्याय गरिरहेको छ ।

जनतालाई राहतको सट्टा कर थोपरेर उल्टै उपभोक्ताको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ । अव निगमले शुक्रवार घटेर आएको इन्धनको मूल्य समायोजन गर्दै घटाउनेतर्फ ध्यान देओस् । तीनपटकसम्म मूल्य घटेर आउँदा समेत मूल्य नघटाउनु गैरजिम्मेवारीमात्र होइन जनताप्रतिको उदासिनता पनि हो ।

मुलुक शोकको यो घडीमा जनतालाई जसरी पनि राहत दिनु जरुरी छ । अतः जनताप्रति थोरैपनि जवाफदेहीता छ भने सरकारले निगमलाई तत्काल मूल्य घटाउन निर्देशन देओस् । निगमले मूल्य घटाओस् ।

भोटेकोसी बाढीको कहरले आक्रान्त जनतालाई राहत दिनेतर्फ सरकारको ध्यान जाओस् । ढिलो गरियो भने जनताले राहतको अनुभूति गर्न नपाउने अवस्था सिर्जना हुन सक्छ । तसर्थ निगमले यो विषयमा ध्यान देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?