Butwal Today

बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख बढी सहयोग गर्ने

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

नवलपरासी । रसुवामा आएको महाप्रलयकारी बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएपछि बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको बताए ।

नगरप्रमुख श्रेष्ठले भने, “विपद्का कारण ठुलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार र राहतमा सहयोग पु¥याउनु हाम्रो दायित्व हो । नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेका छौँ, अरू सबैलाई पनि सहयोग गर्ने आग्रह समेत गरेका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षक,जनप्रतिनिधि र कर्मचारीको को तीन दिन बराबरको आधारभूत तलबबाट झन्डै २७ लाख बढी रुपैयाँ, जनप्रतिनिधि र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी झण्डै ३० लाख रुपैयाँभन्दा बढी रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।

नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?