© 2026
वासिङ्टन । क्यारिबियन सागरमा लागु औषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा लागु औषध तस्करीविरुद्ध सैन्य कारबाही जारी राखिरहेका बेला पछिल्लो घटना भएको हो ।
अमेरिकी साउदर्न कमान्डले एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार संयुक्त टास्क फोर्स वेस्टर्न हेमिस्फियरले मङ्गलबार क्यारिबियनमा स्थापित लागु औषध तस्करी मार्गमा सञ्चालन भइरहेको जहाजलाई लक्षित गरी आक्रमण गरेको थियो ।
कमान्डले उक्त जहाज लागु औषध तस्करीमा संलग्न रहेको गुप्तचर सूचनाबाट पुष्टि भएको जनाएको छ । आक्रमणमा चार जनाको मृत्यु भए पनि उनीहरूको पहिचान र घटना भएको क्यारिबियनको निश्चित स्थानबारे कमान्डले जानकारी दिएको छैन ।
सन्दिग्ध लागु औषध तस्करी गर्ने जहाजमाथि अमेरिकी सेनाले गर्दै आएका यस्ता आक्रमणको मानव अधिकारवादी संस्थाहरूले भने आलोचना गर्दै आएका छन् ।
ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल तथा संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले कारबाहीको वैधानिकतामाथि प्रश्न उठाउँदै लक्षित जहाजहरू लागु औषध तस्करीमा संलग्न रहेको पुष्टि गर्न अमेरिकी सेनाले प्रस्तुत गरेको प्रमाणप्रति समेत प्रश्न उठाएका छन् ।
ट्रम्प प्रशासनले सन् २०२५ को सेप्टेम्बरदेखि लागु औषध ओसारपसारमा प्रयोग भइरहेको दाबी गरिएका जहाजविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । एपीका अनुसार मङ्गलबारको घटनासमेत जोड्दा उक्त अभियानअन्तर्गत हालसम्म ६८ वटा आक्रमणमा कम्तीमा २२७ जनाको मृत्यु भइसकेको छ ।