© 2026
काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक बैठकमा सांसदहरूले रसुवामा गएको बाढी प्रभावितको उद्धार र राहतमा राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् ।
प्रतिनिधिसभाका सबै सांसदले पार्टीभन्दा माथि उठेर सामूहिक एकता राख्दै नागरिकको साथमा रहेको भावसमेत व्यक्त गरेका छन् ।
बैठकमा सांसद समीक्षा बाँस्कोटाले राष्ट्रिय विपद् कोष बनाउने र सांसद तथा सम्पूर्ण कर्मचारीको मासिक तलब कोषमा जम्मा गर्ने तथा आफ्नो दुई महिनाको तलब कोषमा जम्मा गर्न सदनसमक्ष आग्रह गरिन् । विपद् व्यवस्थापनमा एकजुट हुन सर्वदलीय बैठक गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुरोध गरिन् ।
सांसद डा अमरेशकुमार सिंहले भने, “सरकारको सम्पूर्ण स्रोत र साधन नागरिकको उद्धारमा परिचालित हुनुपर्छ । यो विपद्को बेलामा सबैले एकताबद्ध भएर उद्धारमा सक्रिय हुनुपर्छ । विगतमा पनि विपद्का घटना भएका थिए तर, हामीले विपद्बाट सिक्नुपर्ने आवश्यकता छ ।”
सांसद रमेशकुमार मल्लले सिङ्गो देश सङ्कटमा परेको उल्लेख गर्दै अहिले मुख्य रूपमा राहत र उद्धारमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सांसद पार्वती विकले राष्ट्रिय एकताका साथ उद्धार कार्यमा जुट्न आग्रह गरिन् ।
सांसद स्मृति सेन्चुरीले विपद्मा प्रभावित नागरिकको साथमा यतिबेला राज्यले अभिभावकको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् । सांसद प्रकाशसिंह कार्कीले प्राकृतिक विपद् आएपछि उद्धार मात्रै गर्ने होइन, आउनुअघि नै नागरिकलाई जोगाउनुपर्ने राज्यको दायित्व रहेको धारणा राखे ।
सांसद तोसिमा कार्कीले विपद्मा परेका घाइतेको उपचारका लागि सरकारले सम्पूर्ण स्वास्थ्य संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्ने बताइन् । सांसद कृपाराम रानाले विपद्को घडीमा उद्धार र राहतको परिचालनमा सरकार गम्भीर हुनुपर्ने बताए ।