Butwal Today

बालविवाहले निम्त्याउँदै चुनौती

१० भाद्र २०८३, बुधबार
अ+
अ-

पछिल्लो पटक प्रकाशित सार्वजनिक रिपोर्टले तराई मधेसका जिल्लामा बालविवाह विकराल समस्याका रूपमा देखा परेको उल्लेख गरेको छ । अझै पनि तराई मधेसमा अशिक्षा, अज्ञानता र सचेतनाको अभाव कारण बालविवाह, बहुविवाह, अनमेल विवाह लगायतको समस्या कम होइन, बरु झनै बढिरहेको रिपोर्टले देखाएको छ ।

तराई मधेसमा क्रियाशील विभिन्न सामाजिक सङ्घ सङ्गठनले प्रस्तुत गरेको रिपोर्टका अनुसार सानै उमेरमा त्यो पनि रजस्वला नभएकै अवस्थामा पनि बालविवाह गर्ने परम्परा देखिएको छ । जुन आजको २१ औँ शताब्दीको समाजका लागि चुनौती हो । यसले भोलीको दिनमा ठुलो सामाजिक समस्या निम्त्याउने अवस्था छ ।

बालविवाहको चुनौती छँदै छ, दहेज अर्थात दाइजो पनि उत्तिकै चुनौतीको रूपमा देखा परेको छ । जसका कारण घर परिवार समस्याका कारण बिचलित हुने अवस्था छ । छोरी जन्माएमा दाइजो दिनुपर्ने तथा छोरीको जीवन समेत समस्यामा पर्ने भन्दै भ्रुण हत्या गर्ने प्रवृत्ति पनि उत्तिकै बढिरहेको छ ।

अहिले सानै उमेरमा युवा युवती प्रेममा जोडिने र उमेर नपुगी हतारमा विवाह गर्ने जुन अवस्था देखिएको छ, त्यसले उनीहरूको जीवनमा बिखण्डन निम्त्याउने जोखिम बढेको छ । पूर्वी मधेसका धेरै गाउँहरूमा अहिले बालविवाहले त्यो अवस्था निम्त्याएको छ । अबको दिनमा बेलैमा बालविवाहको समस्या नियन्त्रण गर्न सकिएन भने भोलीका दिनमा यसले ठुलो सामाजिक जोखिम निम्त्याउने निश्चित छ ।

तसर्थ अहिलेदेखि नै बालविवाह नियन्त्रण र न्यूनीकरणको प्रयास जरुरी छ । खासगरि सानै उमेरमा विवाह गर्ने र विवाह गरेको पाँच बर्षपनि नपुग्दै छुट्टिएर बस्नु परेको पीडा अहिले तराई मधेशभरी देख्न सकिन्छ ।

अर्कोतर्फ सानै उमेरमा बच्चाको आमा बन्दा उनीहरूले भोलीका दिनमा स्वास्थ्य जटिलताको सामना गर्नुपर्ने स्थिति पनि भयावह चुनौतीकै रूपमा देखिएको छ । तराई मधेसमा धेरै बालविवाहका घटना बर्गेल्ती देखिन थालेका छन् । हतारमा गरेको निर्णयले फुर्सदमा पछुताउनु पर्ने नियतिमा हजारौँ बालबालिका अहिले रनभुल्ल पर्नुपर्ने अवस्था आएको छ ।

अबको दिनमा बालविवाहविरुद्धको अभियानमा तगारो बन्ने जो कोही विरुद्ध कठोर भएर प्रस्तुत हुन सके मात्र मधेसमा जारी यो अभियान सफल हुनेछ । अहिले बालबालिकामाथि अनेक प्रकारका हिंसाजन्य घटना भइरहेको छ ।

यसका पछि बालविवाह प्रमुख कारण पनि हो । नेपालको कानुनले समेत २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ तर अहिले धमाधम १५ वर्षमै विवाह भएका समाचार सार्वजनिक भइरहँदा रोक्ने प्रयास भएन भने त्यसले ठुलो समस्या निम्त्याउने छ ।

पछिल्लो समय मोबाइलबाट सम्पर्क गर्ने, कुराकानी गर्ने, कुराकानीलाई मायामा परिणत गर्ने र हतारमा विवाह गर्ने प्रचलन बढ्दै जाँदा नियन्त्रणतर्फ प्रयास उत्तिकै जरुरी छ । लुम्बिनी प्रदेश सरकारले बालविवाह नियन्त्रणका लागि चलाएको रणनीतिक अभियान तुहिएको छ । खासगरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पछाडि परेको समुदायमा बालविवाहको समस्या अत्यधिक छ । लुम्बिनी प्रदेश बालविवाह हुने मधेस प्रदेशपछिको पहिलो प्रदेश हुनु चिन्ताकै विषय हो ।

बालविवाह न्यूनीकरण सम्बन्धी रणनीति बनेको बर्षौ वित्यो तर समस्या हिजो मात्र नभई आजपनि उस्तै छ । भोलिको दिनमा यस प्रकारका बालविवाह लगायतका समस्याजन्य हिंसा तथा दुव्र्यवहारको रोकथामका लागि ठोस कार्यक्रम तथा रणनीति जरुरी छ । बालविवाह गर्ने प्रोत्साहन गर्नेमाथि राज्यले कडा कारवाही गर्न कञ्जुस्याई नगरोस् ।

गाउँ गाउँमा बालविवाह गर्न सहयोग गर्नेमाथि कुनैपनि परिस्थितिमा कानुनी कारबाहीको दायरामा नल्याएसम्म यो समस्या रोकिने अवस्था छैन । नेपाली समाजकै लागि कलंक वनेको यो समस्या भोलिको पुस्ताका लागि पनि समस्या नबनोस् भन्नेतर्फ आजैबाट नियन्त्रण गर्नका लागि ठोस काम गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?