Butwal Today

करदाता प्रोत्साहन कार्यक्रम : १५ दिनमै बिल दर्ता ३ लाख ५७ हजार नाघ्यो

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत नगद बिल दर्ता गर्ने उपभोक्ताको संख्या पछिल्लो १५ दिनमा एकाएक बढेको छ।

श्रावण महिनाको पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा बिल दर्ता भएकोमा त्यसपछिको १५ दिनमा यो संख्या बढेर ३ लाख ५७ हजार १ सय ४९ पुगेको छ। उपभोक्तालाई खरिद गर्दा बिल माग्न र त्यसलाई दर्ता गर्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले दैनिक १ लाख रुपैयाँसम्मको पुरस्कार तथा १० लाख रुपैयाँको बम्पर पुरस्कार दिने व्यवस्था गरेपछि कार्यक्रममा सर्वसाधारणको सहभागिता उल्लेख्य रूपमा बढेको देखिएको हो।

पहिलो १५ दिनको तुलनामा पछिल्लो १५ दिनमा बिल दर्ता करिब ५० गुणाले वृद्धि भएको छ। यसले उपभोक्ताहरू पुरस्कार योजनाप्रति आकर्षित भएको देखाउँछ। कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई खरिद गर्दा अनिवार्य रूपमा बिल माग्न प्रोत्साहित गर्नु, कारोबारलाई पारदर्शी बनाउनु तथा आर्थिक गतिविधिलाई औपचारिक कर प्रणालीमा समेट्नु रहेको छ।

बिल दर्ता बढेसँगै कर छली नियन्त्रण, व्यावसायिक कारोबारको अभिलेखीकरण र कर प्रणालीमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?