© 2026
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै स्वास्थ्य प्रतिवेदनसहित संघीय संसद् सचिवालयमा पत्र पठाएका छन। स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहित पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाइने निर्णय गरेको थियो। स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने अवस्था भए स्वास्थ्य प्रतिवेदनसहित सचिवालयमा पत्र बुझाउनुपर्ने समितिको निर्णय थियो। सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहित पत्र बुझएका हुन। प्रतिवेदनमा उनलाई उज्यालो सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या रहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा उज्यालोमा हेर्न असहज हुने भएकाले समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ। स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन पाउने व्यवस्था मिलाइदिन प्रधानमन्त्री शाहले सचिवालयसमक्ष अनुरोध गरेको छ।
यसैबीच, बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहको सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको छ। उक्त बैठकमा प्रधानमन्त्री शाह कालो चस्मा लगाएर उपस्थित हुनुहुने वा नहुने विषयलाई चासोका साथ हेरिएको छ।