Butwal Today

मन्त्री कृष्णा कुश्मा थारुको स्थानीय तह हुदैँ प्रदेश सरकार सम्म संघर्षपूर्ण यात्रा

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । कृषि भूमि व्यबस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारु  स्थानीय तहहुदैँ प्रदेश सरकार सम्मको यात्रामा सफल भएकि छन उनी हाल लुम्बिनी प्रदेशको कृषि भूमि व्यबस्था तथा सहकारी मन्त्री भएकि छन  । शहिद श्रीमान्, बेपत्ता परिवारका सदस्य, जेल–हिरासतको कठोर यातना र भूमिगत राजनीतिक जीवनलाई पार गर्दै स्थानीय सरकारदेखि प्रदेश सभासम्मको यात्रा बर्दियाको ठाकुरबाबा नगरपालिका–४, बर्गदामा जन्मिएकी कृष्णा कुश्मा थारु ‘आस्था’को जीवन सामान्य राजनीतिक यात्राको कथा होइन। यो कथा हो—द्वन्द्वकालको कठोरता, परिवारका सदस्यहरूको शहादत र बेपत्ता अवस्था, हिरासतको पीडा, मातृत्वको संघर्ष र राजनीतिक जिम्मेवारीलाई सँगसँगै बोकेर अघि बढेको एउटा महिलाको संघर्षको।

२०३९ साल असार ३ गते फागुराम थारु र गंगादैया थारुको परिवारमा जन्मिएकी कृष्णा परिवारकी कान्छी छोरी हुन्। तीन दिदी—रामदसनी थारु, रामधनीया थारु र रामकुमारी थारु तथा दुई दाजु—सदना थारु र शहिद रामदास थारु र एक भाइ अनिल कुश्मा थारुसँग उनको बाल्यकाल बित्यो। परिवारको वातावरण, तत्कालीन सामाजिक–राजनीतिक परिस्थिति र देशमा बढ्दै गएको राजनीतिक हलचलले उनको चेतनामा विस्तारै प्रभाव पार्दै गयो। यही वातावरणले उनलाई विद्यार्थी राजनीतितर्फ आकर्षित गरायो र अन्ततः उनको जीवन नै राजनीतिक संघर्षसँग जोडिन पुग्यो।

विद्यार्थी राजनीतिबाट भूमिगत जीवनसम्म

कृष्णाको राजनीतिक यात्रा २०५५ साल चैतबाट सुरु भयो। उनी अनेरास्ववियु क्रान्तिकारीको टोल इकाइ समितिको सचिवको जिम्मेवारीमा रहेर विद्यार्थी संगठनमा सक्रिय भइन्। २०५६ साल भदौमा उनी वाईसीएल नेपालको टोल कमिटी अध्यक्ष बनिन्। त्यसबेला घरबाटै पार्टीलाई सहयोग गर्दै राजनीतिक गतिविधिमा संलग्न रहिन्।तर उनको राजनीतिक यात्रा विस्तारै भूमिगत संघर्षतर्फ मोडियो। २०५७ साल जेठ ५ गते उनी भूमिगत भइन्। त्यसै वर्ष कार्तिक ५ गते उनले पार्टी सदस्यता प्राप्त गरिन्। २०५८ साल वैशाखमा एरिया कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरिन्। त्यस समयमा राजनीतिक गतिविधि गर्नु सहज थिएन। राज्य र विद्रोही पक्षबीचको द्वन्द्व चर्किरहेको थियो। गाउँ–गाउँमा सुरक्षा जोखिम बढेको थियो। यस्तो अवस्थामा कृष्णाले व्यक्तिगत जीवनभन्दा राजनीतिक जिम्मेवारीलाई प्राथमिकता दिँदै आफ्नो यात्रा अगाडि बढाइन्।

जनवादी विवाह र परिवारको नयाँ अध्याय

२०५८ साल मंसिर ५ गते तत्कालीन पदनाहा गाविसको पदनाहा गाउँमा जनसमुदायको उपस्थितिमा पार्टीकै पहलमा कृष्णा कुश्मा थारु र काशीराम थारु ‘अडिग’को विवाह भयो। त्यो विवाह परम्परागत पारिवारिक परिवेशभन्दा फरक थियो। एउटै कार्यक्रममा आठ जोडी अर्थात् १६ जनाको जनवादी विवाह गरिएको थियो। विवाहपछि पनि राजनीतिक जीवन रोकिएन। बरु जिम्मेवारी अझ बढ्दै गयो। २०५९ साल असोज १९ गते उनीहरूका छोरा जिवित कुश्मा थारुको जन्म भयो।

मातृत्वको सुखसँगै कृष्णाको जीवनमा अर्को कठोर परीक्षा सुरु दुई महिनाको शिशुसहित गिरफ्तारी

छोरा जन्मिएको करिब दुई महिनापछि उनी बिरामी परे। उपचारका लागि लैजाँदै गर्दा नेपालगञ्जको बीपी चोकबाट २०५९ साल मंसिर २५ गते सशस्त्र प्रहरीले कृष्णा, दुई महिनाका शिशु जिवित र १२ वर्षीया नन्द सुनिता थारुलाई गिरफ्तार गर्‍यो र नेपाल प्रहरीलाई बुझायो। कृष्णालाई नेपालगञ्जको वडा प्रहरी कार्यालय फुलट्रेगामा १९ दिनसम्म राखियो। हिरासतमा रहेको १८औँ दिनमा मात्रै उनलाई आफ्ना बुबालाई भेट्न दिइयो। त्यसपछि १९औँ दिनको राति १२ बजे उनलाई छोरा र नन्दसहित जिल्ला प्रहरी कार्यालय गुलरिया, बर्दिया लगियो। त्यहाँ पुगेपछि उनीहरूलाई फेरि बेपत्ता पारिएको अवस्था सिर्जना भयो।

परिवारले लामो समय खोजी गरेपछि मात्रै उनीहरू गुलरियामै रहेको पत्ता लाग्यो। अन्ततः २२औँ दिनमा कृष्णा, उनका छोरा र नन्दलाई रिहा गरियो। नेपालगञ्जमा १९ दिन र गुलरियामा २२ दिन गरी उनीहरूले कुल ४१ दिन हिरासतमा बिताए।

गुलरियाको हिरासत भोगाइले बनेको कठोर स्मृति

नेपालगञ्जको हिरासतभन्दा गुलरियाको अवस्था अत्यन्तै कष्टकर रहेको कृष्णाको स्मरण छ। गुलरिया लगिएको दिनदेखि सात दिनसम्म पानीबाहेक खाना नदिइएको उनी बताउँछिन्। त्यसपछि दिनमा एक छाक मात्रै खाना दिइन्थ्यो। त्यो खाना पनि कहिले माटो मिसिएको, कहिले कपाल भेटिने र कहिले जलेको भातको माम्री तथा पानीजस्तो दाल हुने गरेको उनको अनुभव छ। चिसो मौसममा बन्दी जीवन बिताउनुपर्दा उज्यालोसमेत देख्न नपाउने अवस्था थियो।

दिशा–पिसाबका लागि बाल्टी दिइन्थ्यो। त्यही बाल्टीमा शौच गर्नुपर्ने बाध्यता थियो र करिब एक सातापछि मात्रै राति १२ बजे त्यो फोहोर फाल्न लगिन्थ्यो। दुई महिनाको शिशुसहितको त्यो ४१ दिने हिरासत जीवन कृष्णाको राजनीतिक यात्राको सबैभन्दा पीडादायी अध्यायमध्ये एक बन्यो। तर हिरासतबाट बाहिरिएपछि उनले राजनीति छाडिनन्। उनी फेरि पार्टीको सम्पर्कमा गइन् र पार्टीले दिएको जिम्मेवारीमा फर्किइन्।

जिल्ला नेतृत्व र श्रीमानको शहादत

२०६० सालमा कृष्णा जिल्ला कमिटी सदस्य बनिन्। तर यही वर्ष उनको जीवनमा अर्को ठूलो बज्रपात भयो। २०६० साल फागुन ८ गते उनका श्रीमान् काशीराम थारु ‘अडिग’को तत्कालीन शाही नेपाली सेनाले हत्या गर्‍यो। उनी निःशस्त्र जनताको घरमा बसेको अवस्थामा पक्राउ परेको र अत्यन्तै क्रुरतापूर्वक हत्या गरिएको कृष्णाको भनाइ छ। त्यतिबेला उनका छोरा जिवित जम्मा १६ महिनाका थिए। श्रीमान्को हत्या, काखमा सानो छोरा र आफूमाथिको राजनीतिक जिम्मेवारी—यी तीनवटै चुनौती एकैपटक कृष्णाको जीवनमा आए। तर उनी रोकिइनन्।

श्रीमानको शहादतपछि पनि कृष्णाले पार्टीले दिएको जिम्मेवारीलाई निरन्तरता दिइन्। छोरा १८ महिना ३ दिनको हुँदा उनलाई माइतीघरमा छोडेर उनी सेती–महाकाली क्षेत्रको अभियानमा गइन्। अभियानमा गएको करिब ६ महिनापछि मात्रै उनले छोरालाई भेट्न पाइन्। त्यतिबेलासम्म छोराले उनलाई ‘आमा’ भनेर चिन्न छाडिसकेको थियो। छोराले आमालाई ‘कान्छी फुपु’ भन्न थालिसकेको थियो। त्यो क्षण एउटी आमाका लागि कति पीडादायी थियो भन्ने अनुमान गर्न सकिन्छ। लामो समयसम्म छोराले उनलाई आमाभन्दा फुपु नै भनिरह्यो। शान्ति प्रक्रियापछि राजनीतिक वातावरण बदलिँदै गएपछि मात्रै उनले आमालाई फेरि ‘आमा’ भनेर सम्बोधन गर्न थाले। राजनीतिक संघर्षले उनलाई एउटा असाधारण मूल्य चुकाउन बाध्य बनाएको थियो—आमाको रूपमा आफ्नो सन्तानसँग बिताउन पाउनुपर्ने बाल्यकालको समय।

परिवारमै शहादत र बेपत्ताको पीडा

कृष्णाको राजनीतिक जीवनको पीडा उनको व्यक्तिगत जीवनमा मात्र सीमित छैन। उनको परिवार नै द्वन्द्वको गहिरो असरमा परेको परिवार हो। उनका दाजु रामदास थारु शहिद भए। उनका श्रीमान् काशीराम थारु ‘अडिग’ शहिद भए। त्यसैगरी उनका काका हरि प्रसाद थारु बेपत्ता भए। काकाकी छोरी अर्थात् उनकी दिदी आशारानी थारु ‘अपेक्षा’ पनि बेपत्ता भइन्। त्यस्तै उनका जेठाजु जनक थारु ‘गौरव’ पनि बेपत्ता भए। परिवारका सदस्यको शहादत र बेपत्ताको पीडासँगै आफ्नो राजनीतिक जिम्मेवारीलाई अघि बढाउनु कृष्णाको जीवनको अर्को विशेष पक्ष हो।

शहिद परिवारको नेतृत्वदेखि पुनर्निर्माणसम्म

२०६४ सालमा कृष्णा शहिद परिवार बर्दियाको जिल्ला अध्यक्ष बनिन्। शान्ति प्रक्रियापछि उनको जिम्मेवारीको प्रकृति विस्तारै बदलियो। द्वन्द्वमा प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति र परिवारसँग जोडिएका विषयमा उनले काम गर्ने अवसर पाइन्। २०६५ साल कार्तिकदेखि २०६८ सालसम्म शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलमा रहेर उनले काम गरिन्। बबरमहल, काठमाडौंमा रहेर सुरु भएको जिम्मेवारीअन्तर्गत उनले भेरी, सेती र महाकाली क्षेत्रमा काम गरिन्। द्वन्द्वको पीडा आफैँले भोगेकी कृष्णाका लागि द्वन्द्व प्रभावित परिवारको अवस्था बुझ्ने काम केवल सरकारी जिम्मेवारी थिएन। त्यो आफ्नै विगत र आफ्नै समुदायसँग जोडिएको अनुभव पनि थियो।

स्थानीय राजनीतिबाट प्रदेश सभासम्मको यात्रा

राजनीतिक संगठनमा लामो समय काम गरेपछि कृष्णा स्थानीय नेतृत्वमा स्थापित हुँदै गइन्। २०७३ साल फागुन १० र ११ गते भएको नगर सम्मेलनबाट उनी निर्वाचित हुँदै ठाकुरबाबा नगर कमिटी, नेकपा माओवादी केन्द्रको अध्यक्ष बनिन्। संगठन सञ्चालन, कार्यकर्ता व्यवस्थापन र स्थानीय राजनीतिक गतिविधिमा सक्रिय हुँदै उनी जनप्रतिनिधिको भूमिकामा पुगिन्।

२०७४ साल असार १९ गते कृष्णा ठाकुरबाबा नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन्। त्यसपछि उनले पाँच वर्ष स्थानीय सरकारमा रहेर काम गरिन्। द्वन्द्वकालमा भूमिगत भएर राजनीतिक संघर्ष गरेकी, हिरासतमा परेकी, श्रीमान् गुमाएकी र छोराबाट लामो समय टाढिएकी कृष्णाका लागि स्थानीय सरकारमा जनप्रतिनिधि बन्नु जीवनको अर्को महत्वपूर्ण मोड थियो। भूमिगत राजनीतिको अनुभवलाई उनले स्थानीय सरकारको जिम्मेवारीसँग जोड्ने प्रयास गरिन्।

पार्टीको आठौँ महाधिवेशन २०७८ साल पुस ११ देखि १८ गतेसम्म सम्पन्न भयो। उक्त महाधिवेशनबाट कृष्णा केन्द्रीय सदस्यमा निर्वाचित भइन्।यससँगै उनको राजनीतिक जिम्मेवारी स्थानीय तहबाट पार्टीको केन्द्रीय तहसम्म विस्तार भयो। दशकौँको राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र जनप्रतिनिधिको भूमिकापछि उनी पार्टीको केन्द्रीय नेतृत्वमा पुगिन्।

२०७९ साल पुस १८ गतेदेखि कृष्णा कुश्मा थारु ‘आस्था’ लुम्बिनी प्रदेश सभा सदस्यका रूपमा कार्यरत छिन्। विद्यार्थी संगठनको टोल इकाइ सचिवबाट सुरु भएको उनको यात्रा आज प्रदेश सभासम्म आइपुगेको छ। यो यात्रामा उनले विद्यार्थी राजनीति, भूमिगत राजनीतिक जीवन, पार्टी सदस्यता, एरिया कमिटी, जिल्ला कमिटी, शहिद परिवारको नेतृत्व, द्वन्द्व प्रभावितको लगत संकलन, नगर पार्टी नेतृत्व, नगर उपप्रमुख, पार्टी केन्द्रीय सदस्य हुँदै प्रदेश सभा सदस्यसम्मको जिम्मेवारी सम्हालेकी छन्।

संघर्षले बनाएको नेतृत्व

कृष्णा कुश्मा थारुको जीवनलाई केवल पद र जिम्मेवारीको सूचीबाट बुझ्न सकिँदैन। उनको राजनीतिक यात्राभित्र एउटी छोरीको पारिवारिक जिम्मेवारी छ। एउटी बहिनीको दाजु गुमाएको पीडा छ। एउटी पत्नीको श्रीमान् गुमाएको पीडा छ। एउटी आमाले शिशु छोराबाट टाढिनुपरेको पीडा छ। एउटी परिवार सदस्यले काका, दिदी र जेठाजुको बेपत्ताको पीडा बोकेकी छन्। त्यसका साथै एउटी राजनीतिक कार्यकर्ताले भूमिगत जीवन, गिरफ्तारी र ४१ दिनको हिरासत भोगेकी छन्।तर यी सबै पीडाका बीच उनले राजनीतिक जिम्मेवारी छाडिनन्। उनको कथा मूलतः व्यक्तिगत पीडालाई राजनीतिक यात्राको शक्तिमा बदल्ने संघर्षको कथा हो।

कृष्णा कुश्मा थारुको पारिवारिक जीवन पनि संघर्षपूर्ण रह्यो। उनका श्रीमान् काशीराम थारु ‘अडिग’ शहिद भए। उनीहरूका एक छोरा जिवित कुश्मा थारु छन्।श्रीमानको शहादतपछि एकल आमाका रूपमा छोराको भविष्यसँगै राजनीतिक जिम्मेवारीलाई अघि बढाउनु उनका लागि ठूलो चुनौती थियो। स्नातक तहसम्मको शिक्षा हासिल गरेकी कृष्णाले पारिवारिक जिम्मेवारी, राजनीतिक सक्रियता र सार्वजनिक जीवनलाई सँगसँगै अघि बढाइन्।

कृष्णा कुश्माको जीवन यात्रा एउटा लामो संघर्षको दस्तावेज

२०५५ सालमा विद्यार्थी संगठनको टोल इकाइबाट सुरु भएको राजनीतिक यात्रा २०५७ सालको भूमिगत जीवन हुँदै जिल्ला कमिटी, शहिद परिवारको नेतृत्व, द्वन्द्व प्रभावित क्षेत्रमा काम, ठाकुरबाबा नगर पार्टी अध्यक्ष, नगर उपप्रमुख, पार्टी केन्द्रीय सदस्य र अन्ततः लुम्बिनी प्रदेश सभा सदस्यसम्म पुगेको छ। यो यात्रामा उनले व्यक्तिगत रूपमा धेरै कुरा गुमाइन्—दाजु, श्रीमान्, परिवारका सदस्यहरूको साथ र छोराको बाल्यकालका महत्वपूर्ण क्षणहरू।

त्यसैले कृष्णा कुश्मा थारु ‘आस्था’ केवल एउटी राजनीतिक नेतृको परिचय होइन। यो द्वन्द्वबाट शान्तितर्फ, भूमिगत जीवनबाट सार्वजनिक जिम्मेवारीतर्फ र व्यक्तिगत पीडाबाट राजनीतिक नेतृत्वतर्फ अघि बढेकी एक महिलाको जीवनकथा हो। आज प्रदेश सभा सदस्यका रूपमा उनको सार्वजनिक भूमिका जुन स्थानमा छ, त्यसको पछाडि दशकौँ लामो संघर्ष, त्याग, पीडा र जिम्मेवारीको इतिहास जोडिएको छ। ठाकुरबाबाको बर्गदाबाट सुरु भएको उनको यात्रा अहिले लुम्बिनी प्रदेशको राजनीतिक नेतृत्वसम्म आइपुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?