© 2026
रोल्पा । जनयुद्धको सुरुवातदेखि नै सक्रिय सहभागी बनेका दीपेन्द्र कुमार पुन ‘सिजल’ लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा पुनः फर्किएका छन। जनयुद्धका क्रममा आफ्नै हातमा भएको माइन विस्फोटमा हात र कान गुमाउनुभएका पुनलाई जनयुद्धका ‘ज्यूँदा सहिद’का रूपमा चिनिन्छ। लामो राजनीतिक यात्रा, संघर्ष, संगठन निर्माण र वर्गीय पक्षधरतालाई आफ्नो राजनीतिक जीवनको आधार बनाउँदै आएका पुनका लागि दोस्रोपटकको मन्त्री पद जिम्मेवारीसँगै परीक्षा पनि बनेको छ।
बाल्यकालदेखि नै फरक स्वभाव
रोल्पाको माडी गाउँपालिका–६, साविक कोर्चाबाङ–९ स्थित लाच्पुनमा देउमन पुनका नाति तथा सर्वजित पुनमगर र शशिला पुनमगरका पुत्रका रूपमा दीपेन्द्र कुमार पुनमगरको जन्म २०२५ साल चैत १० गते भएको हो। सानैदेखि कम बोल्ने तर निर्णय क्षमतामा अब्बल स्वभावका पुन बाल्यकालदेखि नै सत्य र न्यायको पक्षमा उभिने प्रयास गर्थे। साथीहरू कुनै विषयमा निर्णयमा पुग्न नसकिरहेका बेला छिटो निष्कर्ष निकाल्ने र कामलाई गति दिने स्वभाव उनीमा बाल्यकालदेखि नै थियो।
विद्यार्थीकाल बाट राजनीतिक यात्रा
पुनमगरले २०४३ सालमा श्री जनजागृति माध्यमिक विद्यालय, जुगारमा कक्षा ८ मा अध्ययन गर्दादेखि अनेरास्ववियु छैठौँबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसपछि उनी नेकपा मशालको भातृ संगठनमा आबद्ध थिए। २०४४ सालमा जनसेवा माध्यमिक विद्यालय, राङ्सीमा अध्ययन गर्दा संगठनको जिम्मेवारी सम्हाले। २०४५ सालमा पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत प्रचार–प्रसारका लागि रोल्पाको पश्चिम क्षेत्रको जिम्मेवारीसमेत पाए।
२०४६ सालमा अनेरास्ववियु छैठौँ रोल्पा जिल्ला सदस्य निर्वाचित हुनुभएका पुनले २०४७ सालमा नेकपा मशालको पार्टी सदस्यता प्राप्त गरे। रोल्पामा उनले कृष्णबहादुर महरालगायतका नेताबाट राजनीतिक रूपमा प्रभावित र प्रशिक्षित भएका थिए। २०४८ सालमा अनेरास्ववियु छैठौँ जिल्ला उपाध्यक्ष बनेका उनले ग्रामीण क्षेत्रमा संगठन विस्तारलाई तीव्रता दिए। २०५० देखि २०५४ सम्म दुईपटक जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले भने २०५० देखि २०५६ सम्म विद्यार्थी संगठनको केन्द्रीय सदस्य रहे।
जनयुद्धको सुरुवातदेखि मोर्चामा
२०४८ सालमा नेकपा एकता केन्द्रको ९ नम्बर इलाका सदस्य बन्नुभएका पुन २०५१ सालमा नेकपा माओवादीको ९ नम्बर इलाका संयोजक बने। जनयुद्ध सुरु भएको २०५२ सालमा रोल्पाको ११ नम्बर इलाका इन्चार्जको जिम्मेवारीमा रहनुभयो। होलेरी प्रहरी चौकी आक्रमणको पूर्वतयारी र आक्रमणमा उनको महत्वपूर्ण भूमिका रहेको उनी बताउछन। जनयुद्धको सुरुवाती चरणमै संगठन र फौजी दुवै जिम्मेवारी सम्हाल्दै अघि बढाएका पुन २०५४ सालमा नेकपा माओवादी रोल्पा जिल्ला संगठनको सदस्य बने र पछि जिल्ला सेक्रेटरीको जिम्मेवारीसमेत निर्वाह गरे।
२०५९ सालदेखि पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा सक्रिय भए। माइन विस्फोटमा हात र कान गुमे जनयुद्धका क्रममा २०६१ फागुन २४ गते आफ्नै हातमा माइन विस्फोट हुँदा पुनले हात र कान गुमाए। शारीरिक रूपमा गम्भीर घाइते बने पनि उनले राजनीतिक तथा संगठनात्मक जिम्मेवारीबाट आफूलाई अलग गरेनन घाइते तथा अपाङ्ग योद्धाहरूको हकहितका लागि काम गर्दै उहाँले घाइते अपाङ्ग योद्धा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हाले। यही घटनापछि उनी जनयुद्धका ‘ज्यूँदा सहिद’का रूपमा चिनिन थाले।
शान्ति प्रक्रियापछि पनि संगठनमा निरन्तरता
शान्ति प्रक्रियापछि निर्वाचनमा उम्मेदवार बन्ने अवसर हुँदाहुँदै पनि रोल्पामा पार्टी नेतृत्वलाई विजयी बनाउन जिल्ला इन्चार्जको जिम्मेवारी लिएका पुन २०६३ सालदेखि लामो समयसम्म रोल्पा जिल्ला इन्चार्जका रूपमा सक्रिय रहेर काम गरे। उनले गाउँ–गाउँ पुगेर संगठन निर्माण र कार्यकर्तासँगको सम्बन्धलाई बलियो बनाए र २०६१ सालको थबाङ–फुन्टिबाङ बैठकबाट वैकल्पिक केन्द्रीय सदस्य तथा चुनबाङ बैठकबाट ब्रिगेड कमिसारको जिम्मेवारी प्राप्त गरेका थिए। २०७३ सालमा पोलिटब्युरो सदस्य तथा २०७४ सालमा केन्द्रीय सचिवालय सदस्य बने। २०७५ सालदेखि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका पुन हाल पार्टीको वरिष्ठ केन्द्रीय सदस्यका रूपमा सक्रिय छन।
पुनको संसदीय यात्रा मन्त्रीसम्म
२०७४ सालको प्रदेशसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित हुँदै पुनको संसदीय यात्रा सुरु भयो। २०७९ सालको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिए र पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भए। निर्वाचनपछि उनी नेकपा माओवादी केन्द्रमा पुनः आबद्ध भए। २०८१ साल वैशाख ६ गते उनी पहिलोपटक लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री बने। छोटो कार्यकालमै स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न प्रदेशका शहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पुगे र स्वास्थ्यलाई विकासको प्रमुख आधारका रूपमा अघि सारे। उनको मान्यता छ—नागरिक स्वस्थ भए मात्र समाज र देश समृद्ध बन्न सक्छ। त्यसैले भौतिक पूर्वाधारसँगै स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त लगानी आवश्यक छ।
पुनले हाल स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि आफूलाई मन्त्री बनाउने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जनयुद्धका सहिद, घाइते तथा अपाङ्ग योद्धा र आम जनताको योगदानसँग जोडेका छन। उनले जनयुद्धका सहिद किमबहादुर थापा ‘सुनिल’, तेजमान घर्ती ‘दीर्घ’, नेपबहादुर केसी, दिलबहादुर रम्तेल लगायत सम्पूर्ण आन्दोलनका सहिदलाई स्मरण गर्दै सहिदको सपना पूरा गर्न आफूहरू प्रतिबद्ध हुनुपर्ने बताए । उनको भनाइमा, आफूहरू बाँचेका कारण मन्त्री बन्ने अवसर पाए त्यसैले यो उपलब्धिको श्रेय जीवन बलिदान गर्ने सहिदहरूलाई नै जान्छ।
परिवार पनि जनयुद्धको पीडाबाट अछुतो रहेन
पुनको राजनीतिक जीवनसँगै उनको पारिवारिक इतिहास पनि जनयुद्धको पीडासँग जोडिएको छ। उजका दुई बहिनी सपना पुन र सिर्जना पुनमगरका श्रीमान् पनि जनयुद्धमा सहिद भए। जेठी बहिनीका श्रीमान् शसिराम पुनमगर जनमुक्ति सेनामा कार्यरत रहँदा तत्कालीन शाही सेनाको ब्यारेक आक्रमणका क्रममा सहिद भए। कान्छी बहिनी सिर्जना पुनमगरका श्रीमान् पूर्णबहादुर पुनमगर ‘सुल्तान’ले पनि जनयुद्धकै क्रममा जीवन बलिदान दिए। पुनको पारिवारिक जीवनमा श्रीमती दिलकुमारी बाठामगर तथा दुई छोरा मिलन पुनमगर र आलोक पुनमगर छन। परिवारका नयाँ पुस्तासमेत आफ्नै पारिवारिक संघर्ष र इतिहाससँग जोडिएका छन्।
कम बोल्ने, छिटो निर्णय गर्ने नेता
राजनीतिक वृत्तमा पुनलाई कम बोल्ने तर विषयको गहिरो अध्ययन गरेर निर्णयमा पुग्ने नेताका रूपमा चिनिन्छ। कार्यकर्तासँगको व्यवहारमा सरल र सामान्य जीवनशैली अपनाउने उहाँले आफूभन्दा पार्टी, संगठन र जनतालाई प्राथमिकतामा राख्दै आएको उहाँका सहकर्मीहरू बताउँछन्। वर्गीय पक्षधरतालाई राजनीतिक जीवनको आधार मान्ने पुन अन्याय र विभेदका विषयमा खरो रूपमा प्रस्तुत हुने नेताका रूपमा पनि परिचित छन। पहिलो कार्यकालमा स्वास्थ्य मन्त्रीका रूपमा छोटो समयमै सकारात्मक छाप छाडेको दाबी गर्दै उनको समर्थकहरूले दोस्रो कार्यकाललाई त्यसको निरन्तरताका रूपमा हेरेका छन्।
अबको परीक्षा स्वास्थ्य क्षेत्रमा परिवर्तन
जनयुद्धको मोर्चाबाट सुरु भएको पुनको यात्रा विद्यार्थी राजनीति, भूमिगत संगठन, फौजी जिम्मेवारी, शारीरिक अपाङ्गता, पार्टी संगठन, जनप्रतिनिधि हुँदै पुनः स्वास्थ्य मन्त्रालयसम्म आइपुगेको छ। आफ्नो शरीरको महत्वपूर्ण अंग गुमाउँदा पनि राजनीतिक यात्राबाट पछि नहटेका पुनका लागि दोस्रोपटकको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी केवल पद होइन, लामो राजनीतिक संघर्ष र जनताप्रतिको प्रतिबद्धता कार्यान्वयन गर्ने अर्को अवसर हो।
“सहिदको सपना, घाइते तथा अपाङ्ग योद्धाको सम्मान र शोषित–पीडित जनताको सेवा”लाई आफ्नो जिम्मेवारीको केन्द्रमा राख्ने उनको प्रतिबद्धता अब स्वास्थ्य क्षेत्रमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने नै उनको दोस्रो कार्यकालको मुख्य परीक्षा हुनेछ। जनयुद्धको सुरुवातदेखि आजसम्मको यात्रामा धेरै उतारचढाव पार गरेका दीपेन्द्र कुमार पुन ‘सिजल’को राजनीतिक जीवनले संघर्ष, त्याग र निरन्तर सक्रियताको एउटा लामो कथा बोकेको छ। अब त्यो संघर्षको अर्को अध्याय लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट लेखिँदैछ।