Butwal Today

प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बैठकको विशेष समयमा उनले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताए । “कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भने ।

उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भने । उनले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरे ।

सांसद दुलालले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खाने पानीमा लगाइएको अनावश्यक शुल्क तथा कर हटाउन सरकारसँग माग गरे । उनले पानीलाई केवल उपभोग्य वस्तुका रूपमा नभई निर्यातयोग्य स्रोतका रूपमा विकास गर्नुपर्ने बताए ।

नेपालमा पानी प्रशोधन तथा उत्पादन गरी खाडी मुलुकलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके ठुलो वैदेशिक आम्दानी गर्न सकिने सांसद दुलालको भनाइ छ । पानी उद्योगलाई प्रोत्साहन गर्दै निर्यातका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउनुपर्ने उनले बताए । सांसद दुलालले विद्युत्मा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउन नहुने धारणा पनि राखे ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मनसुनजन्य बाढी पहिरोका कारण ठुलो मात्रामा कृषि भूमि डुबानमा पर्ने गरेको भन्दै बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । विशेष गरी सुनसरीमा बर्सेनि बाढीका कारण कृषि उत्पादन प्रभावित हुने गरेको उल्लेख गर्दै उनले बाढी नियन्त्रण तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

सांसद राईले दुई दिने बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न दिँदा कतिपय परिवार घरबारविहीन हुने अवस्था बढेको भन्दै उनले क्यासिनोमा नेपालीको प्रवेश नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरे । उनले खाना पकाउने ग्यासको सहज र नियमित आपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद खुश्वु ओलीले बलात्कारका घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता जघन्य अपराध रोक्न सजायको व्यवस्था प्रभावकारी र कडा हुनुपर्नेमा जोड दिइन् ।

“हाम्रा छोरीहरू कहिलेसम्म बलात्कारीको हातबाट मारिनुपर्ने हो ?”, सांसद ओलीले प्रश्न गरिन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका चौधरीले तीन वर्षकै उमेरमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य तथा अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?