Butwal Today

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने नेकपाको निर्णय

८ भाद्र २०८३, सोमबार
अ+
अ-

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कोसी प्रदेश नेकपा संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिए ।

यसअघि नेकपा (एमाले) ले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । नेपाली काँग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै छन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए । त्यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

काँग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र भदौ ३ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ । गत साउन ९ गते एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यस बेला प्रदेशसभा बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये ५७ जनाले कार्कीको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए ।

त्यति बेला एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का तीन र जसपा नेपालका एक जना प्रदेशसभा सदस्यले कार्कीलाई विश्वासको मत दिएका थिए ।

एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर काङ्ग्रेससँग गठबन्धन बनेपछि मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यस बेला कार्कीको विश्वासको मतको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । मतदानमा ८३ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए ।

कोसी प्रदेशसभामा ९२ सदस्य छन् । तीमध्ये एमालेका ४० र काँग्रेसका २९ सदस्य छन् । यस्तै, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित पाँच र जसपाका एक जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?