© 2026
काठमान्डौँ ।
उद्घाटन भएको करिब एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ।
नागढुङ्गा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यानलगायत निजी सवारी साधनलाई काठमाडौँ–धादिङ आवागमनका लागि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो । सुरुङमार्ग हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो ।
‘यो हप्ता सवारी सञ्चालनको विश्लेषण गर्छौँ । चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि अन्य सवारी साधनलाई पनि क्रमशः प्रवेश दिने तयारी छ ।’
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याइनेछ । परीक्षण अवधिभर सवारी साधनबाट कुनै शुल्क नलिइने जनाइएको छ । सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ ।
सुरुङमार्गभित्र सवारी चलाउँदा निश्चित नियम पालना गर्नुपर्नेछ । सवारी साधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । यस्तै, सुरुङभित्र अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने तथा सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ ।
पैदलयात्री, दुईपाङ्ग्रे सवारी साधन तथा प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ ।
सुरुङमार्गको नियमित सञ्चालनका लागि सुरक्षा तथा शुल्क संकलन युनिटको व्यवस्थापन गरिएको छ । साथै, सीसीटीभीमार्फत सुरुङभित्रको गतिविधिको निगरानी भइरहेको श्रेष्ठले बताए ।
करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सुरुङमार्गको गत साउन ११ गते उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा तत्कालीन पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका थिए ।
यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए ।
प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सकिनुपर्ने भए पनि कोभिड-१९ र मुआब्जा विवादका कारण आयोजना ढिलाइ भएको हो । २०८० साउन २२ मा रेस्क्यु टनेल र २०८१ असार ३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २।५५७ किलोमिटर छ ।
सुरुङको निर्माण ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो । सुरुवातमा जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानी रहने भनिए पनि पछि लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो ।
नियमित सञ्चालन सुरु भएपछि भने सुरुङ प्रयोग गरेबापत शुल्क तिर्नुपर्नेछ । काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ, मिनीबस तथा टिपरले ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ र हेभी ट्रकले ६०० र २५० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।