Butwal Today

कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मतमा कांग्रेस विपक्ष, राप्रपा तटस्थ

८ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक सविना बजगाईँले आफ्नो पार्टीले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने निर्णय गरेको बताइन् ।

मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए । त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ । गत साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए । त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६, विपक्षमा १५ मत परेको थियो । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।

कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?