Butwal Today

खोपीबाट बाहिर निस्कुन् बालेन !

८ भाद्र २०८३, सोमबार
अ+
अ-

‘बालेन सरकारले कामको मेसो नपाउँदा र उनीहरूले केही गल्ती कमजोरी गर्दा हामीलाई बाटोमा निस्कन अलि सजिलो भएको मात्रै हो । परिस्थिति हामी अनुकूल भइहालेको होइन । नउफ्री हालौँ है ।

जनताबाट चुटाई खाइसकिएको छ । अब हामी आफै सुध्रिने हो । एमालेपंक्ति र आम जनता हामी स्वयं सुध्रिएको हेर्न चाहन्छन् । रुग्ण र तिक्त भाष्य प्रयोग होइन ।’ – खिमलाल भट्टराई

एमालेमा रहेका एउटा अलि समझदार खालका नेताको आत्म स्वीकृति हो यो र अनि हो समय र अवस्थाको समीक्षा गरेर उरन्ठेउला कार्यकर्तालाई दिएको सामयिक सुझाव र चेतावनी पनि । सबै ओली, बादल, बस्नेत, सूर्य र झाँक्री जस्ता छैनन्, हुँदैनन् भन्ने प्रमाण पनि । कांग्रेसमा पनि नयाँ सोच भएका जुझारु नेताको कमी छैन ।

प्रचण्डको झुण्डमा पनि केही बचेका होलान्, सबै खत्तम नहोलान् । तथापि तीन दलले आपसमा मिलेर पनि केही गर्न सक्दैनन् यदि बालेनले बाहिर निस्केर, सदनमा गएर, चाहिने जति मात्रै बोलेर मन जित्ने प्रयास गरेमा । ओली र प्रचण्डले जस्तै फोहोरी दोहोरी खेल्ने प्रयास नगरेमा । त्यसरी बोल्नु भन्दा बरु नबोलेकै बेस । नबोलेर जति फाइदा भएको छ, उत्तिकै घाटा हुँदै गएको छ मैदान खाली छाडिदिँदा ।

बालेनको गुप्तबासले, पुराना दलका बदनाम सिन्डिकेटका सरदारको साहस बढाएको छ । २७ जना सल्लाहकारले खोपीभित्र राखेर श्री ३ महाराजले जस्तै शासन सञ्चालन गर्ने सल्लाह दिँदा बढी बदनामी भएको हो भन्नेहरू बढ्दै गएका छन् । विरोधीले जनता बहकाउने मौका पाएका हुन् भन्छन् । शुभेच्छुकले बालेनकै मुखबाट वास्तविकता सुन्न चाहन्छन् ।

सम्भव भएसम्म भेटेरै आफ्ना सुख–दुःख सुनाउन चाहन्छन् । सदनमा मात्रै हैन, जनताका बिचमा पनि जाउन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण सवैतिर पुगुन् चुनावमा जस्तै । मैदान खाली नगरुन् । जनताका बिचमा बालेन नगएकैले ओली, देउवा र दाहालले खाली मैदान कब्जा गर्न खोजेका हुन् । बुझेर सोही अनुसार चलुन् । बिलम्ब नगरुन् ।

बालेनको काम गराईमा केही तारतम्य नमिलेको साँचो होला । पुरानै संयन्त्रले मिलाउन नदिएका पनि होलान् । बदनाम गराउन उद्यत छन् सबै । अदालत, आयोग, नियोग सहित प्रशासनिक संयन्त्र र सञ्चार क्षेत्रमा रास्वपा र बालेन पक्षधर छैनन् ।

त्यसैले सकभर सफल हुन दिदैनन् । पञ्चायत गएर बहुदल आएपछि पुरानै पारामा अभ्यस्त संयन्त्रसँग मिलेर काम गर्नुपर्दा काँग्रेस र एमाले बदनाम भएका थिए । त्यसैले जन्माएको थियो कथित जनयुद्ध । गणतन्त्र आएपछि माओवादीलाई पनि पुरानै संयन्त्रले सिद्ध्याएका हुन् । रास्वपा र बालेनले सदनमा दुईतिहाई बहुमत पाएपनि पुरानैसँग मिलेर काम गर्नपर्ने बाध्यता छ ।

अलि बढी सोचेर काम गर्नुपर्ने अवस्था रहेको बुझेका छन् जनताले पनि । तर मैदान खाली छाडिदिनुचाहिँ हुन्न कदापि । खोपीमा बसेर बाहिरका विषय बुझिन्न । ओली, देउवा र प्रचण्डलाई जस्तै बनाएर सिध्याउने छन् । यसर्थ बाहिर निस्केर, आफै अग्रसर भएर, प्रतिवाद गर्न पर्छ । थोरै बोलेर, धेरै काम गरेर, देखाएर । गर्न नसक्ने विषय नबोलेर, तर जनताको साथमै रहेर ।

साहै्र अनुकूल समय छ बुझेमा । विपक्षी पार्टीहरू सरकारको विरोधमा एक जुट भए पनि आफ्नै पार्टीभित्र मिलेका छैनन् आपसमा । अझैसम्म चुनावी पराजयलाई स्वीकार्न सकेका पनि देखिदैनन् । कहिले नेपाली सेनालाई, कहिले अमेरिका, बार्बारा फाउण्डेशन र कहिले दक्षिणी छिमेकीलाई दोष दिएर, मनमा भएको पाप पोखेर, बाझेका छन् आपसमा पाखुरा सुर्केर, पौंठेजोरी खेलेर । यस्तो बेलामा पार्टी सभापति रविले सहयोग गरेकै छन् ।

‘सरकार जति शक्तिशाली छ, त्यसैगरी इतिहासमै प्रतिपक्ष एक भएका छन् । सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाऔं । सदनमा नियमित हुनैपर्छ । संसद नियमावली आफै बनाउने । पास गर्ने अनि पालना नगर्ने भन्ने हुन्न । अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ । जनताले परिणाम खोजेका छन् । प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुस्’ भनेर । यसरी प्रधानमन्त्रीले गर्नुपर्ने काम पनि सभापतिले नै गरिदिएर । संसदीय दलका नेताले गर्नुपर्ने काम थियो त्यो ।

देउवा विदेश गएको उपचारका लागि थिएन भन्छन् जानकारहरू । जति बाहिर बसे, त्यतिञ्जेल शक्तिराष्ट्रसँग बिग्रेको सम्बन्ध सुधार्न कोशिस गरे । आफुहरूले गरेका बदमासीको स्पष्टिकरण दिएर चित्त बुझाए । उता बसे पनि यताका अदालत र आयोगदेखि लिएर अन्य दलका नेता एवं सिन्डिकेटका सहयात्रीसँग संपर्कमै रहे ।

उतैबाट सबै मिलाएर बल्ल आएका हुन् । ‘राजनीतिका कच्चा खेलाडि हैनन् देउवा’ भन्छन् पुरुषोत्तम दाहाल जस्ता वरिष्ठ कांग्रेसी पत्रकार पनि । उनी आउँदा वित्तिकै अदालतले आफ्नै फैसला पुनरावलोकन गर्ने भयो । अदालतकै आदेशानुसार गगन थापाहरूले गर्न थालेको महाधिवेशन रोक्न पनि रिट दायर गर्न पुगेका हुन् गत शुक्रबार ।

आफ्नै फैसलाका विरुद्ध जान्छ कि महाधिवेशन गर्न दिन्छ अदालतले ? प्रतिक्षित छ । खेल जारी छ । सरकारलाई असफल पारेर अपदस्थ गर्ने तयारी छ । अलिकति पनि होशियारी अपनाउन बिर्से बर्बाद हुने छ । अहिले ग्याँसको अभाव देखाएर बदनाम गराइएको छ । यसबाट पार लाग्दा वित्तिकै चाडबाडका बेला तेल र चिनीको अभाव सिर्जना गराउने भित्रभित्रै तयारी गरिएको पनि बताइदैछ । पराजित दलहरूका सबै संयन्त्र परिचालित छन् सरकारलाई असफल बनाउन ।

कुनै मिडिया र विश्लेषक छैनन् बालेनका । सरकारले गरेका राम्रा कामको पनि समाचार लेख्दैनन् । जनताले मात्रै विगतका षडयन्त्र बुझेर साथ दिएका हुन् । उनै जनतालाई नभेट्ने, उनैका कुरा नसुन्ने हो भने भड्किने सम्भावना छ । भड्काउँदै छन् पुराना दलहरूले हिजोको लूटको स्वर्ग फर्काउन । उनीहरूको राजनीति त्यही हो ।

रास्वपा र बालेन सरकार असफल हुनु भनेको उनीहरूको सफलता हो । आफु सफल हुन, जनतालाई भड्काउन नदिन बाहिर निस्कने कि खोपीमा बसेर २७ जना सल्लाकारको कुरा मात्रै सुनेर काम गर्ने ? सोच्नुपर्ने समय आयो । स्वदेशी जनता मात्रै हैन विदेशी शक्तिकेन्द्रलाई पनि सिन्डिकेटका सरदारका षडयन्त्रका बारेमा बुझाउनुपर्ने भयो ।

नत्र, फेरि अर्को उत्पात मच्चिने अवस्था तयार पारिएको छ । सके यही भदौ २३ गते नै । नसके चाडबाडका बेला पारेर अरू कुनै दुर्घटना दोहो¥याएर । जातीय, भाषिक, भौगोलिक, धार्मिक र साँस्कृतिक द्वन्द्व भड्काएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?