Butwal Today

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ’

७ भाद्र २०८३, आइतबार
अ+
अ-

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट पनि सोहीअनुसारको सहयोग हुनुपर्ने बताइन् ।

मन्त्री रावलले भनिन्, “एउटा सरकारले सहयोग नगर्दा पूरै पालिकामा सुकुम्वासीको लालपुर्जा वितरण रोकिन सक्छ ।” उनले पालिकामा देखिएका समस्या समाधानका लागि आवश्यक नीतिगत सुधारबारे छलफल भएको बताइन् ।

“पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानको प्रक्रियामा गइसकेको हुन्थ्यो”, उनले भनिन्, “पीडितका हकमा जुनसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ ।”

उनले भूमिसम्बन्धी समस्याबाट पीडितहरूको न्यायोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गरिन् । मन्त्री रावलले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालयलगायत सम्बन्धित पालिकाका प्रमुखहरूसँग भूमिसम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेकी थिइन् ।

उनले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?