Butwal Today

सबै आपराधिक घटना प्रहरीको  ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ: प्रहरी महानिरीक्षक कार्की

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

उनले दशकौँपछि पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति ९रासस०सँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले आपराधिक घटनालाई नबिर्सने बताए ।

“व्यक्तिको स्मरण छोटो समयमा समाप्त हुन्छ । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटना बिर्संदैन”, उनले भने ।

यद्यपि, पुराना आपराधिक घटनाको अनुसन्धानमा अपेक्षाअनुसार सफलता प्राप्त हुन नसकेको महानिरीक्षक कार्कीले स्वीकार गरे । “ती पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उनले भने ।

पुराना चर्चित घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरिएको जानकारी दिँदै उनले केही घटनामा त्यसबाट राम्रो सफलता प्राप्त भएको बताए ।प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ ।”

विश्वव्यापी रूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक चुनौतीको सामना गर्न नसकिने बताए ।

“प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उनले भने, “यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ ।”

महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै नागरिकले प्रहरी कार्यालयसम्म पुग्नुपर्ने अवस्था कम गर्ने गरी प्रणाली विकास गरिएको बताए । “उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिनेछ ।”

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको जनाउँदै उनले यस्ता अपराधको अनुसन्धानका लागि सोहीअनुसार जनशक्ति भर्ना र परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको जानकारीसमेत दिए ।

महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलमार्फत अन्य मुलुकका विशिष्टीकृत, विकसित तथा अनुसन्धानमूलक प्रहरी इकाइसँग आवश्यक समन्वय भइरहेको बताए ।

“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, उनले भने ।
प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सङ्गठन सक्षम हुने विश्वाससमेत उनले व्यक्त गरे ।

नेपाल प्रहरी आम नागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गरी नागरिकको जीउधनको रक्षा गर्न सबै तह र तप्काको सहयोग आवश्यक रहेको बताए ।

“प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आम नागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका व्यक्तिका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?