© 2026
हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको हो ।
भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ । सोही विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले पत्र जारी गर्दै कांग्रेसका सबै प्रदेशसभा सदस्यलाई बैठकमा अनिवार्य उपस्थित भई प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा भनिएको छ, ‘प्रदेशसभाको भदौ ८ गते बस्ने बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री किरण थापामगरले पेस गर्नुहुने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्विप जारी गर्दछु ।’
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
गत बिहीबार एमाले, नेकपा र राप्रपाको समर्थनमा सरकार गठनको दाबी गरेका थापा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
