© 2026
“नभए एक शोक भए सय शोक” यो उखान म सानो छँदा सुनेको हूँ । उमेरले सानो भएर होला मैले यसको शाब्दिक अर्थ बुझ्न सकिन अनि खुशलराम काकालाई सोधेको थिएँ ।
उहाँले धेरै उदाहरण दिएर यसको वास्तविक अर्थ बुझाउनु भएको थियो । यसको अर्थ भन्ने क्रममा यो अरू कुरामा भन्दा छोराको सम्वन्धमा बढ्ता जोड दिएर भन्ने गरिन्छ भनेर सुनाउनु भएको थियो । काका खुशलरामका कुरा आजभोली पनि एकान्तमा बसेको समयमा विश्लेषण गर्ने गर्छु । हो साँच्चि अन्य स्थानमा भन्दा पुत्रलाभमा उपयोगी हुन्छ ।
कसैले सानो छँदा मर्छ कि भन्ने डर, ठूलो भए मार्छ कि भन्ने डर पनि भन्छन् । छोरो नभएसम्म भएन भन्ने एउटा मात्र पिरलो भएमा हुने पिरलो त छोरा जन्माएका र स्वाँठ छोरा भएकालाई मात्र राम्रोसंग याद हुन्छ ।
यसका वारेमा धेरै कुरा भन्न पर्दैन । जसले भोगेको छ, उसैलाई यसको मर्म याद छ । संस्कृत भाषाको चर्चा गर्ने क्रममा हाईस्कुलमा पढदा पचास पूर्णाङ्कको संस्कृत भाषा पढनु पर्दथ्यो । त्यसमा केही नीति श्लोकहरू थिए । संस्कृत विषय युवराज गौतम गुरुले पढाउनु हुन्थ्यो । उहाँ सोही भाषाबाट शास्त्री गर्नुभएको रहेछ ।
उहाँले कक्षामा पढाउँदा अति रोचक ढंगले विभिन्न उपमाहरू दिएर संस्कृत भाषालाई नेपालीमा अर्थ लगाउनु हुन्थ्यो । त्यतिवेला पढेका धेरै श्लोकहरू अहिले पनि कण्ठस्थ छन् । धेरैजसो श्लोकहरू व्यवहारिक भएको हुनाले र युवराज गुरुले रोचक ढंगले अध्यापन गर्ने हुनाले रोचक लाग्थ्यो । यसमा हाम्रो परिवारमा पिता तथा अन्य काकाहरू सबै भाषा पाठशालामा पढनु भएको हुनाले उहाँहरूले घरमा विभिन्न श्लोकहरू सुनाउँदै हामीलाई केही उपदेश दिइरहनु हुन्थ्यो ।
यसले पनि संस्कृत भाषामा अति मोह थियो । घरमा संस्कृत पढ्ने अवसर नमिलेपनि पिता तथा काकाहरूको विद्वताबाट झल्कने धेरै कुरा संस्कृतमा हुने र विहानमा उठने वित्तिकै पिताजीले संस्कृतका विभिन्न श्लोकहरू पाठगर्ने भएको हुनाले पनि यो भाषामा मोह जागेको हो जस्तो लाग्दछ । सानो उमेरमा परेको छाप अहिले पनि मनमा उस्तै छ ।
त्यतिवेला परेको छापले म संस्कृत भाषालाई सधै सम्मान गर्छु । यसको ज्ञान भएकाहरू अरू भन्दा विद्वान हुन्छन् भन्ने मेरो मान्यता रहेको छ । युवराज गुरुले कक्षामा पढाउँदाको समयका धेरै श्लोक अहिले पनि याद आउँछन् त्यस मध्यको एउटा श्लोक जुन आजको शीर्षकसंग मेलखानेगरी उठाउने जमर्को गरेको छु । छोराको कुरा गर्दा नभए एक शोक र भए सय शोक भन्ने सन्दर्भमा यो श्लोकले केही सन्देश दिन्छ कि ?
श्लोक यस प्रकारको छः – “अजातो मृृतमुख्यभो मृताजातो सुतो वरम । यतस्तौ स्वल्प दुःखायः यावत जीवम जडोदयत् ।।” मुर्ख छोरो जन्मनु भन्दा न जन्मेको वेश हुन्छ । मूर्ख जन्मेर जीवनभर दुःख दिनु भन्दा जन्मने वित्तिकै मरेको उत्तम हो ।। जव कि सन्तान जन्माउने इच्छा सबैमा हुन्छ जन्मेपछि हर्ष पनि लाग्छ तर त्यो हर्ष जीवनभर अडिराख्नु पर्दछ ।
यदि छोरो जन्मिएन भनेर एकै शोक हुने हो उ भक्तिहीन भयो भने त्यो भन्दा पीडा अरू केही हुँदैन । यो नीति श्लोकले भनेको कुरा हो । हाम्रो टोल समाजमा छोरो नजन्मिएर शोक मानेका कति होलान ? प्रतिशतमा हेर्ने हो भने सन्तान नभएर शोक मनाउनेहरू भन्दा सन्तानबाट प्रताडिद भएर शोक मनाइरहेकाहरूको सख्या ९५ प्रतिशत बढ्ता होला ।
यस्ता श्लोकहरू एक दुईवटा अरू थप्नु राम्रो होला जस्तो लाग्यो । जसका सन्तानले माता पिताको सेवा गरेका छन् उनीहरूका लागि यो अन्यथा पनि हुनसक्छ तर जसका सन्तानहरू जड बनेका छन् र जीवनभर पीडा दिएका छन्, उनीहरूकालागि यो अति घतलाग्ने कुरा पनि हुनसक्छ । श्लोक यस्तो छ – “कोऽर्थ पुत्रेण नजातेन यो नविद्वान नभक्तिमान ।
किं तया क्रियते धेन्वा या न दोग्धी नगर्भिणी ।” यसलाई शब्दार्थमा हेरौं – छोरो जन्मियो न विद्वान छ न आमा बावुको सेवा गर्छ जस्तो गाई घरमा त छ तर न व्याउँछ न दुध दिन्छ । यस्तै अर्को पनि यसै प्रकृतिको श्लोकको सम्झना आइर्रहको छ जो यस प्रकार छ– “वरमेको गुणी पुत्रो निर्गुणैश्च शतैरपि । एकश्चन्द्रस्तमो हन्ति न च तारा सह्रस्रसः” यसलाई पनि युवराज गुरुले भन्नु भएको जस्तै भावार्थमा हेर्ने प्रयास गरौं– गुणरहित सयौं सन्तान भन्दा गुण सम्पन्न एउटै सन्तान उत्तम हुन्छ ।
जस्तो सहस्र तारा भन्दा एउटै चन्द्रमाले उज्यालो दिन सक्छ । धेरै सन्तान, मूर्ख सन्तान र नजन्मिएको सन्तानको तुलना गर्नुपरेमा हामी कसरी तुलना गर्छौ होला ? जो सन्तान नजन्मिएको भन्दा जन्मिएको राम्रो । जन्मिएर जीवनभर जड बनेको भन्दा जन्मिएर तत्काल मरेको राम्रो । यसरी तुलना गर्दा वेश हुन्छ होला । कसैलाई यो आलेख हेर्दा आश्चर्य लाग्न सक्छ तर भोग्नेहरूले यो सहज मान्नुहुने छ । यसैसंग जोडनु पर्ने कुरा के छ भने आज धेरैका घरमा आफ्ना सन्तान छैनन्, विदेशमा छन् ।
उनीहरू मध्ये कतिपयले तेलभिसा पाएर विदेश गएर एउटा कोठामा महिनौ विताएर फलानो राष्ट्रमा पुगियो भनेर गफ दिनुहुन्छ । त्यो उहाँहरू आफ्नो सन्तानको कोठामा पुगेको मात्र हो । त्यसबाट आमा बावुलाई खासै उपलब्धि भन्दा पनि सन्तानका पनि सन्तानको स्याहा गरेर फर्कने अवसर हो । कतिलाई त्यही तेल भिसा पनि जुर्दैन ।
केही समयसम्म थोरथार रकम आउँछ केही समय वित्यो भने त्यो पनि हराउँछ । यता आफूलाई समस्या पर्दा रित्तै हुने हो । यो भन्दा अझ ठूलो समस्या भनेको वृद्ध अवस्थामा उपचार नपाएर अनि वेसमयमा ज्यान गयो भने सन्तान फर्केर नआउने मात्र होइन सम्पर्कविहीन भएका धेरै उदाहरण छन् । अव विचार गरौं– कति समस्या झेलेर सन्तान हुर्काएको हो ?
सन्तान जन्मेकोमा परिवारमा कति उत्साह थियो ? के के अपेक्षाहरू थिए ? आज आएर कहाँ गए ती इच्छाहरू ? यस्तो सन्तान नभएको भए कति प्रतिशत शोक हुने थियो होला ? अहिले कति प्रतिशत शोकको डिग्री चढेको होला ? यो कुरा सन्तानमा मात्र होइन हरकुरामा लागु हुन्छ । “नभए एक शोक भए सय शोक” भन्ने कुरा कहाँ लागू हुँदैन ?
पहिलो नम्वरमा हरेक मानिसले आफ्नो सन्तानबाट मान सम्मान इज्जत र प्रतिष्ठा चाहन्छन् । त्यसको साथमा सेवा सुविधा पनि चाहन्छन् । यसकारण यहाँ पहिलो नम्वरमा यसका वारेमा चर्चा परिचर्चा गरियो । एक छिन गम्भिर भएर सोंचौं त जुनकुरा पनि नभए एक शोक र भए सय शोक हर ठाउँमा लागू हुन्छ कि हुँदैन ? यसलाई हरेक ठाउँमा लगेर जोडन सकिन्छ ।
तपाई जहाँ जोडनुुस् त्यही यो उखान फिट हुनेछ । हिंजो सदनमा रास्वपाको संख्या न्यून थियो । उसले सत्ता पक्षको सत्तो सराप गर्ने गर्दथ्यो । खाए सके भन्थे । आज उ आफै सत्तामा छ । साँच्चि भन्ने हो भने उसकालागि अहिले यो सरकार प्राप्ति सय शोक बनेको छ । अहिले सय शोकमा रास्वपा रहेको छ । बाहिरबाट धारे हात लगाए जस्तैगरी सत्ता चल्दैन ।
आज मुलुक चारैतिर भताभुंग भएको छ । दैनिकजसो उसका विरुद्धमा नाराबाजी भइरहन्छन् । अव भएन त सय शोक ? कस्तो लाग्यो ?