Butwal Today

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन सुरु भएयता मनसुनजन्य विपद्का ९१ वटा घटना भएका छन्। ती घटनामा ८५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते र दुई जना बेपत्ता भएका छन्। प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकमा प्रस्तुत विवरणअनुसार जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म भएका विपद्का घटनामा सबैभन्दा धेरै ५८ जनाको पानीमा डुबेर मृत्यु भएको छ। यस्तै, पहिरोमा २०, बाढीमा चार र चट्याङमा तीन जनाको मृत्यु भएको छ।
अधिक वर्षाका कारण पनि विभिन्न स्थानमा विपद्का घटना भएका छन्।

रोल्पामा मात्रै २० जनाको मृत्यु

मनसुनजन्य विपद्बाट रोल्पामा मात्रै चार स्थानीय तह प्रभावित भएका छन्। जिल्लामा २० जनाको मृत्यु भएको छ। थवाङ गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ जना तथा लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ।लविपद्का कारण चार स्थानीय तहका ११ घरधुरी विस्थापित भएका छन् भने ३१८ घरधुरी जोखिममा रहेका छन्।

पीडितलाई राहतमा कमी हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने बताएका छन्। प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त सडक र अन्य पूर्वाधारको मर्मतलाई प्राथमिकतामा राखिएको बताए। घटना घट्न नहुने थियो। तर, घटना घटिसकेको छ। सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रूपमा लिनुहुनेछ,’ मुख्यमन्त्री आचार्यले भने।

उनका अनुसार प्रदेश सरकारले तत्काल राहत सामग्री पठाउने काम सुरु गरिसकेको छ। विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्नसमेत निर्देशन दिइएको छ। रोल्पामा खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै मुख्यमन्त्री आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन्।

सुस्ताका लागि २५ लाख, रोल्पाको सडक र पुलका लागि ५० लाख

प्रदेश विपद् व्यवस्थापन परिषद्ले नवलपरासी बर्दघाट–सुस्ता पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत खर्च गरिनेछ। त्यस्तै, रोल्पाको थवाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको क्षतिग्रस्त भाग तथा पहुँच सडकको तत्काल मर्मतका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ। सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले सडक मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत रकम खर्च गरिनेछ।

रोल्पामा प्रभावित परिवारका लागि राहत सामग्री पठाइएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको छ। यस्तै, नेपालगञ्जस्थित गोदाममा म्याद सकिएका राहत सामग्री नष्ट गर्ने निर्णय भएको छ। डढेलो, आगलागी तथा बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन मौज्दात खानेपानीका पाइप आवश्यकताअनुसार प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ। मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले विपद् व्यवस्थापनसँग सम्बन्धित विषयगत समितिका ‘क्लस्टर’ नेतृत्व गर्ने मन्त्रालय तथा निकायलाई तत्काल बैठक राखेर आफ्नो क्लस्टर सक्रिय बनाउन परिषद्ले निर्देशनसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?