Butwal Today

माकजु र खनाललाई हेमबहादुर मल्ल सम्मान

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नेपाल जन–प्रशासन सङ्घले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संयुक्त आयोजनामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २०८१ सालको हेमबहादुर मल्ल सम्मान डा रामकृष्ण माकजु श्रेष्ठ र २०८२ सालको सम्मान पूर्व सचिव रामेश्वरप्रसाद खनाललाई प्रदान गर्न लागिएको जानकारी दिइयो ।

सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उनीहरूलाई हेमबहादुर मल्ल सम्मान अर्पण गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।

सो सम्मानको राशि जनही रु दुई लाख रहेको छ । यही भदौ ७ गते सो सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डा माकजुले स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो । यस्तै, सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको अभिवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै पूर्व सचिव खनाललाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

पूर्व सचिव तथा सङ्घका पूर्व अध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो ।

विसं २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सङ्घले बर्सेनि उक्त सम्मान प्रदान गर्दै आइरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा व्यवस्थापक हेमबहादुर मल्लको योगदानको स्मरण गर्दै यो सम्मान स्थापना गरिएको हो ।

उक्त सम्मान यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २१ जनालाई प्रदान गरिसकिएको सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?