Butwal Today

‘कानुनअनुसार माग गरिएका सूचना दिन संसदीय समितिमा छलफल गर्नु नपर्ने’

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

संसदीय सुनुवाइ समिति (संयुक्त) को आजको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानुनले तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन् ।

बैठकमा सांसद वर्षमान पुनले कानुनले नै भनेको विषयलाई संसदीय समितिले निर्देशन दिनु नपर्ने बताए । यस्ता विषयलाई समितिमा छलफलको प्रस्ताव राख्न नहुने पनि उनको भनाइ थियो ।

बैठकमा सांसदहरू कविन्द्र बुर्लाकोटी, नरबहादुर विष्ट, प्रेमप्रसाद दङ्गाल, पद्माकुमारी अर्याल, मधुकुमार चौलागाईंलगायतले समितिको कार्यक्षेत्रबाहेकका उजुरीका विषयमा समितिमा छलफल गरिनु नहुने बताएका थिए । दोहोरिएर आएका विषयमा पनि समितिले फेरि छलफल नराख्न उनीहरूले माग गरे ।

समिति सभापति बोधनारायण श्रेष्ठले माग भएको सूचना दिन सचिवालयलाई निर्देशन दिए । आजको बैठकमा समितिको कार्यक्षेत्रका रूपमा तोकिएका विषयमा भदौ तेस्रो साता विज्ञबाट अभिमुखीकरण गरी स्पष्ट पारिने निर्णय गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?