© 2026
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत साउन महिनामा गरेको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले तम्घासमा पत्रकार सम्मेलन गरी सम्पादन गरेका कामहरूको बारेमा जानकारी गराएको हो । प्रहरीले साउन महिनामा १५ वटा मुद्दा दर्ता गरेको छ भने लामो समयदेखि पेन्डिङ् रहेका २४ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ । प्रहरीले साउन महिनामा विभिन्न कारबाहीबाट ६ लाख ३४ हजार २८५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माद्वारा प्रस्तुत प्रगति विवरण अनुसार साउनमा दर्ता भएका मुद्दामध्ये भवितव्य ज्यानका चार, झुन्डिएर आत्महत्याका छ, ज्यान मार्ने उद्योगको एक, लागू औषधको एक, खोलामा हाम फाली आत्महत्याको एक र अभद्र व्यवहारका दुई वटा रहेका छन् ।
चालु मुद्दाका पाँच जना प्रतिवादी पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनका क्रममा छ जना पक्राउ परेका छन् । उनीहरूबाट तीन वर्ष एक महिना २२ दिन कैद तथा १२ हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । साउनमा घरेलु हिंसाका १३ वटा उजुरी परेकामा १० वटामा मिलापत्र र तीन वटा अदालत पठाइएको बताइएको छ । साइबर अपराध सम्बन्धी १७ वटा उजुरी परेको समेत पत्रकार सम्मेलनमा बताइएको थियो ।
त्यसै गरी सवारी साधन चेकिङ्का क्रममा २३६ वटा सवारीसाधनलाई कारबाही गरी २ लाख २४ हजार राजस्व संकललन गरिएको र चार वटा सवारी दुर्घटनामा सात जना घाइते भएको उल्लेख गरिएको छ ।
प्रहरीले घरेलु भरुवा बन्दुक पाँच नाल, बारुद १५० ग्राम र छर्रा बरामद गरेको छ । त्यस्तै १६५ लिटर अवैध घरेलु मदिरा तथा भट्टी नष्ट गरिएको र लागू औषध नियन्त्रणका क्रममा मदाने गाउँपालिकाबाट एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।