Butwal Today

लुम्बिनीमा नेकपाले ३ मन्त्रालय पाउने

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी हुने भएको छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपाबिच तीन मन्त्रालय दिने सहमति भएपछि नेकपाले मन्त्रीको नाम टुङ्गो लगाउने तयारी अघि बढाएको छ ।

एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यसँग तीन मन्त्रालय लिने सहमति भएको नेकपा संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए । उनका अनुसार मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले अब पार्टीभित्र मन्त्रीका लागि आकाङ्क्षीको नाममा छलफल भइरहेको छ ।

“प्रदेश सरकार सञ्चालनका लागि एमाले र हाम्रो पार्टीबिच तीन मन्त्रालय दिने सहमति भएको छ,” महराले भने, “सोहीअनुसार मन्त्रीको नाम सिफारिस गर्न छलफलमा जुटेका छौँ ।”

नेकपामा सभामुखसहित १३ जना प्रदेश सभा सदस्य छन्। पार्टीमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तीन जना र नेकपा एकीकृत समाजवादीबाट समाहित भएका एक जना सदस्यसमेत रहेका छन् । सरकारमा सहभागी हुने अवसरका लागि अधिकांश प्रदेश सभा सदस्यले दाबी गरेपछि तीन जनाको नाम छनोट गर्न नेतृत्वलाई चुनौती देखिएको छ ।

नेकपाबाट मन्त्री बन्ने आकाङ्क्षीमा यसअघि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका तथा दलका प्रमुख सचेतक इन्द्रजित चौधरी, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, बर्दियाकी कृष्णकुश्मा थारू, गुल्मीका यमबहादुर  सार्की, तत्कालीन नाउपाबाट निर्वाचित राजकुमार चौधरी र नेकपा एकीकृत समाजवादीबाट समाहित भएकी पूर्व मन्त्री भगवती घिमिरेलगायत छन् ।

पार्टीले प्रमुख सचेतक इन्द्रजित चौधरी, दीपेन्द्र पुन र कृष्णकुश्मा थारुलाई मन्त्रीका रूपमा अघि सार्ने प्रारम्भिक तयारी गरेको भए पनि राजकुमार चौधरीले समेत दाबी गरेपछि अन्तिम निर्णय हुन बाँकी रहेको नेता महराले बताए ।

उनका अनुसार मन्त्रीको नाम सम्भवतः शुक्रबार टुङ्गो लगाइनेछ । त्यसै दिन मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । “सम्भवतः शुक्रबार हामी नाम टुङ्गो लगाउँछौँ,” महराले भने, “शुक्रबार नै मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।”

लुम्बिनी प्रदेशमा यसअघि १२ वटा मन्त्रालय रहेकामा हाल मुख्यमन्त्रीसहित नौ मन्त्रालय कायम छन् । तीमध्ये आर्थिक मामिला, सहरी विकास तथा उद्योग र वन तथा पर्यटन मन्त्रालय हाल रिक्त छन् ।

नेकपाले पाउने तीन मन्त्रालयमा हाल रिक्त रहेका मन्त्रालयमै मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रालयको जिम्मेवारीबारे भने पार्टीहरूबीच अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

हाल प्रदेश सरकारमा एमालेका तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसालले सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रामजीप्रसाद घिमिरेले स्वास्थ्य मन्त्रालय र रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका भण्डारीलाल रअहिरले आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय र सन्तोषकुमार पाण्डेयले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

मुख्यमन्त्री आचार्यले यसअघि एमालेसँगै नेकपा, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका थिए । नेकपा सरकारमा सहभागी भएपछि प्रदेश सरकारमा सत्तारूढ दलहरूको सहभागिता थप बलियो हुने भएको छ ।

तीन मन्त्रालयमा नेकपाका मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ । यद्यपि, मन्त्रीको नामसँगै मन्त्रालयको जिम्मेवारी बाँडफाँट र सरकार सञ्चालनका विषयमा दलहरूबिच थप समन्वय आवश्यक देखिएको छ ।

नेकपाले मन्त्रीको नाम टुङ्गो लगाएपछि मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाले शुक्रबार लुम्बिनी प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण औपचारिक रूपमा अघि बढ्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?