Butwal Today

परराष्ट्र मन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मोनैखिरले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरूबिच नेपाल–साउदी अरबबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्र मन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनाका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुर्‍याउने बताएका थिए ।

“नेपाल र साउदी अरबबिचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्त्वपूर्ण अवसर हो । आगामी दिनमा दुवै देशबिच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ”, उनले भने ।

भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गरेका थिए ।

त्यसै गरी, साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने ‘रिपोर्ट’प्रति मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका थिए । उनले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पुर्‍याउँदै आएको सहयोगको पनि प्रशंसा गरेका थिए ।

भेटमा दुवै पक्षले नेपाल–साउदी अरबबिच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

“नेपाल साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक छ । दुई देशबिचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अब थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक छ”, मन्त्री खनालले भने ।

नेपाल र साउदी अरबबिच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?