© 2026
गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाले शिक्षक तथा कर्मचारीको सरुवासम्बन्धी निर्णयप्रति स्थानीय राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ईस्मा गाउँ कमिटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले शिक्षा ऐन, शिक्षा नियमावली तथा आफ्नै शिक्षा नियमावलीविपरीत शिक्षक तथा कर्मचारीको सरुवा गरेको आरोप लगाएका हुन्। तीन दलका स्थानीय नेतृत्वले गाउँपालिकाले गरेको सरुवामा राजनीतिक आग्रह, पूर्वाग्रह, बलमिच्याइँ र मनोमानी देखिएको दाबी गरेका छन्। उनीहरूले शैक्षिक सत्रको बीचमा आधार, पूर्वाग्रह र मनोमानीका आधारमा शिक्षक सरुवा गर्दा विद्यालयको शैक्षिक वातावरण प्रभावित हुने बताएका छन्।
आधा कोर्स पठनपाठनपछि सरुवा, दरबन्दीनै नभएको ठाउँमा सरुवा, विषय नमिलेको ठाउँमा सरुवा, विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिई सरुवा तथा ठूलो संख्यामा सरुवाजस्ता निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, गाउँ शिक्षा समिति र सामान्य राजनीतिक सहमतिबेगर सरुवा गरिएको तथा करार र राहत शिक्षक एवं लेखा तथा कार्यालय सहयोगीसहितको सरुवा गरिएको आरोप लगाइएको छ। यसले विद्यालयमा अस्थिरता सिर्जना भई शैक्षिक वातावरण खलबलिनुका साथै गुणस्तर खस्कने र विद्यार्थीको पठनपाठनमा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ।
‘राजनीतिक प्रतिशोधका रूपमा सरुवा गरिएको’
दलहरूले शिक्षक तथा कर्मचारीको सरुवाले उनीहरूको मनोबल कमजोर बनाउने, पेसागत मर्यादामा आँच आउने र समग्र शिक्षा क्षेत्र राजनीतिक खिचातानीको रूपमा परिणत हुने अवस्था सिर्जना भएको आरोप लगाएका छन्। उनीहरूले कानुनी आधार, पारदर्शी मापदण्ड, कार्यरत शिक्षकको सेवा अवधि, विषयगत र तहगत दरबन्दीको अनुकूलता तथा सरोकारवालाको हित र सहभागिताबिना सरुवा गरिएको दाबी गरेका छन्। विज्ञप्तिमा नेपालको शिक्षा ऐन, २०२८ को दफा १६ज, शिक्षा नियमावली, २०५९ को नियम ९९ तथा ईस्मा गाउँपालिकाको शिक्षा नियमावली, २०७९ को नियम ३७ र ३८ मा गरिएको सरुवासम्बन्धी व्यवस्थासमेत उल्लंघन भएको दाबी गरिएको छ।
‘निर्णय कार्यन्वयन नगर्न नगराउन दलहरको आह्वना’
गाउँपालिकाले समयमा जानकारी नै नदिई सरुवा गरेको आरोप लगाउँदै दलहरूले उक्त निर्णय प्रमाणित गर्न चुनौतीसमेत दिएका छन्। उनीहरूले कार्यान्वयनका लागि पत्राचार गर्ने काम नगर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन्। त्यस्तै, सरुवा गरिएका शिक्षक–कर्मचारीलाई रमाना पत्र दिने, हाजिरीमा अवरोध गर्ने वा सरुवा भई आएको ठाउँमा हाजिर गराउन काम नगर्न सम्बन्धित विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई आग्रह गरिएको छ।
संयुक्त विज्ञप्तिमा रास्वपा ईस्मा गाउँ समितिका सभापति नरेन्द्रप्रसाद रिजाल, नेकपा एमाले ईस्मा गाउँ कमिटीका अध्यक्ष कलानाथ भण्डारी तथा नेकपा माओवादी केन्द्र ईस्मा गाउँ कमिटीका संयोजक रामप्रसाद पन्तले हस्ताक्षर गरेका छन्। दलहरूले शिक्षा क्षेत्रमा गरिने निर्णय कानुन, पारदर्शी मापदण्ड र शैक्षिक आवश्यकताका आधारमा हुनुपर्ने भन्दै गाउँपालिकाको पछिल्लो सरुवा निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।