© 2026
बुटवल । करिब डेढ दशकअघि लुम्बिनी क्षेत्रको सीमित भूगोललाई आधार बनाएर सुरु भएको एउटा विकास बैङ्क अहिले देशभर आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको छ ।
क्षेत्रीय बैङ्कका रूपमा सुरु भएको साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको अहिलेको यात्रा केवल शाखा विस्तारमा सीमित छैन, प्रविधि, मर्जर र वित्तीय क्षमताको विस्तारसँगै राष्ट्रिय स्तरको विकास बैङ्कका रूपमा स्थापित हुने यात्रासमेत हो ।
वि.सं. २०६९ मा साबिकको साइन डेभलपमेन्ट बैङ्क र रेसुङ्गा विकास बैङ्कबिचको एकीकरणबाट सुरु भएको संस्थागत यात्रा विभिन्न चरणका समायोजन हुँदै अहिलेको साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कसम्म आइपुगेको हो । बुटवललाई केन्द्र बनाएर अघि बढेको बैङ्कले मर्जरमार्फत आफ्नो भौगोलिक तथा व्यावसायिक आधार फराकिलो बनाउँदै लग्यो ।
यो विस्तारको एउटा महत्त्वपूर्ण पक्ष नेतृत्वको निरन्तरता पनि हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल स्थापना कालदेखि नै संस्थासँग जोडिएका छन् । प्रारम्भिक चरणदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका पौडेलले बैङ्कको विस्तारको विभिन्न चरणमा कार्यकारी भूमिका निर्वाह गर्दै आएका छन् ।
स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर सुरु भएको बैङ्किङ सेवा क्रमशः फराकिलो हुँदै जाँदा बैङ्कले ग्रामीण क्षेत्रदेखि सहरी बजारसम्म आफ्नो पहुँच विस्तार गरेको छ । शाखा सञ्जालको विस्तारसँगै बैङ्किङ पहुँचबाट बाहिर रहेका समुदायलाई वित्तीय सेवामा जोड्ने प्रयासलाई पनि बैङ्कको विकास यात्राको एउटा आधारका रूपमा लिन सकिन्छ ।
नेपालको बैङ्किङ क्षेत्रमा पछिल्ला वर्षहरूमा मर्जर तथा एक्विजिसनले संस्थाहरूको आकार र क्षमता परिवर्तन गरेको छ । साइन रेसुङ्गाको विकास यात्रामा पनि मर्जर महत्त्वपूर्ण आधार बनेको देखिन्छ ।
साबिकको साइन डेभलपमेन्ट बैङ्क र रेसुङ्गा विकास बैङ्क गाभिएपछि बनेको संस्थाले त्यसपछि पनि आफ्नो संरचना विस्तार गर्दै लग्यो । साना तथा क्षेत्रीय विकास बैङ्कहरूलाई समेट्दै अघि बढ्ने प्रक्रियाले बैङ्कको पुँजी, ग्राहक आधार, शाखा सञ्जाल र कार्यक्षेत्र विस्तारमा सहयोग पु¥यायो ।
यसरी मर्जरलाई केवल दुई संस्था जोडिने प्रक्रियाका रूपमा नभई बजार विस्तार र संस्थागत क्षमता बढाउने माध्यमका रूपमा उपयोग गरेको बैङ्कको यात्राले देखाउँछ । लुम्बिनी प्रदेशमा बलियो आधार बनाएको संस्थाले क्रमशः राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु त्यसैको परिणाम हो ।
बैङ्किङ सेवाको विस्तारसँगै ग्राहकको सेवा लिने तरिका पनि बदलिएको छ । पहिले शाखामा पुगेर लिनुपर्ने धेरै सेवा अहिले मोबाइल तथा अनलाइन माध्यमबाट उपलब्ध हुन थालेका छन् । साइन रेसुङ्गाले पनि आफ्नो विस्तार यात्रामा डिजिटल बैङ्किङलाई प्राथमिकतामा राखेको छ ।
मोबाइल बैङ्किङ, अनलाइन भुक्तानी तथा सूचना प्रविधिमा आधारित सेवाको विस्तारले बैङ्कको पहुँचलाई शाखाको भौगोलिक सीमाभन्दा बाहिर पु¥याएको छ । विशेष गरी ग्रामीण र अर्धसहरी क्षेत्रमा प्रविधिमैत्री बैङ्किङ सेवा विस्तार हुनु वित्तीय पहुँचका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
बैङ्कको नेतृत्वले परम्परागत बैङ्किङ संरचनासँगै प्रविधिको प्रयोग बढाउँदै लैजाँदा ग्राहकले दैनिक कारोबारका लागि शाखामै पुग्नुपर्ने निर्भरता घटाउने प्रयास भएको छ । यसले बैङ्किङ सेवामा सहजता र गति थपेको बैङ्कको दाबी छ ।
बैङ्कको विस्तारसँगै पछिल्लो वित्तीय विवरणले पनि संस्थाको आर्थिक क्षमतामा सुधार देखाएको छ । आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ८२.९७ प्रतिशतले बढेर एक अर्ब १८ करोड १२ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६४ करोड ५६ लाख रुपियाँ थियो ।
समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी दुई अर्ब ८२ करोड ६७ लाख रुपियाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्टाउनुपर्ने रकम घटेर २० करोड ७९ लाख रुपियाँमा सीमित भएपछि सञ्चालन मुनाफा पनि बढेको छ । सञ्चालन मुनाफा अघिल्लो वर्षको ९१ करोड ११ लाख रुपियाँबाट बढेर एक अर्ब ७३ करोड ७८ लाख रुपियाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
यस अवधिसम्म बैङ्कले ७७ अर्ब ८५ करोड रुपियाँ निक्षेप सङ्कलन गरी ६३ अर्ब २६ करोड रुपियाँ कर्जा लगानी गरेको छ । पाँच अर्ब दुई करोड रुपियाँ चुक्ता पुँजी रहेको बैङ्कको प्रतिशेयर आम्दानी २३.५२ रुपियाँ पुगेको छ ।
वित्तीय सूचकमा सुधार देखिए पनि बैङ्किङ व्यवसायमा चुनौती नभएका होइनन् । बैङ्कको खराब कर्जा अनुपात ४.९३ प्रतिशत रहेको छ । त्यसैले नाफा बढाउँदै जाँदा कर्जाको गुणस्तर कायम राख्नु, जोखिम व्यवस्थापन गर्नु र डिजिटल सेवाको सुरक्षालाई बलियो बनाउनु बैङ्कका आगामी चुनौती हुन् ।
स्थापना कालदेखि संस्थासँग जोडिएको नेतृत्व र मर्जरमार्फत फराकिलो बनेको संरचनाले साइन रेसुङ्गालाई आजको अवस्थासम्म ल्याएको छ ।